डा.केसीको स्वास्थ्य अवस्था नाजुक, आफैले गरेको सम्झौता मिच्दै सरकार

0
Shares

भगवती तिमल्सिना
काठमाडौ । पाँच दिन देखि कर्णालीको कवर्ड हलमा अनसनरत प्राडा. गोविन्द केसीको अवस्था नाजुक बन्दै गएको छ । अनसनको दोस्रोदिन राती देखि नै छाति दुख्ने, मुटुको चाल कम हुने, पिसाब कम हुने, मासु बाउडिने समस्या देखा परेको छ ।

स्वास्थ्य अवस्था नाजुक हुदै गएको छ,मनिटर गर्ने कुनै साधन छैन । यति सम्मकी पानी चुहिने हल, विद्युत छैन, चरा र मुसाको बास भएको ठाउँमा लगेर सरकारले अघोषित रुपमा थुनेर राखेको नेपाल चिकित्सक संघ कर्णाली शाखाका उपाध्यक्ष डा.प्रविण गिरीले आरोप लगाउनुभयो ।

चिकित्सक तथा नागरिक समाजको तर्फबाट सरकारलाई पटक पटक लिखित तथा मौखिक आग्रह गर्दा पनि बेवास्ता गरिएका कारण कर्णाली प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्था आकस्मिक बाहेक मंगलबार देखि ठप्प भएका छन् । डा. केसीलाई जतिसक्दो चाडो अस्पताल नपु¥याए जुनसुकै बेला जे पनि हुन सक्छ र यसको सम्पूर्ण जिम्मेवार सरकार हुनु पर्ने जिकिर उहांले गर्नुभयो ।

सरकारले चिकित्सा शिक्षा र जनस्वास्थ्यलाई नाफाको व्यापार गर्ने र जनताको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्ने संविधान २०७२ ले दिएको अधिकारको समेत व्यवास्ता गर्दै जबरजस्ती स्वास्थ्य विधेयक पारित गराउन खोजेको भन्दै डा. केसी आन्दोलित हुदै आउनु भएको छ ।

यतो सरकार भने मेडिकल कलेजको सम्बन्धन दिएर छाड्ने अडानका साथ डा.केसीको जीवन माथी खेलबाड गरिरहेको आरोप लाग्दै आएको छ । डा.केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने तय गरे लगत्तै उहाँलाई त्यस क्षेत्रमा प्रवेशमा समेत रोक लगाएको थियो ।

शनिवार उहाँले उक्त घेराबन्दी भित्रै कर्भडहलमा अनसन शुरु गर्नुभएपछि सुरक्षित स्थानमा सार्नका लागि नेपाल चिकित्सक संघ कर्णाली शाखा, केन्द्र, मानव अधिकारकर्मी, स्वास्थ्यकर्मी, नागरिक समाज लगायतले सरकारको ध्यानाकर्षण गराएको थियो ।

डा.केसीको अनसन स्थल परिवर्तनका लागि सुरक्षित स्थानको व्यवस्था नहुँदा उहाँको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको उपचारमा संलग्न डा.प्रविन गिरीले जानकारी दिनुभयो ।

ओली सरकारकै पालामा प्रस्तावित मनमोहन मेडिकल कलेजलाई वीर अस्पतालमा गाभ्ने निर्णय गरि मूल्यांकन र नामाकरण समेत गरिसकेको अवस्थामा अब पुनः त्यसलाई बिउताउने र अन्य प्रस्तावित तर मापदण्ड पुरा नभएका मेडिकल कलेजलाई राजनैतिक स्वार्थका आधारमा सम्वन्धन दिन लागेको पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन कुमार थापाले आरोप लगाउनुभएको छ ।

डा.केसीको माग प्रति एक्वद्धता जनाउँदै चिकित्सा शास्त्र अध्ययन संस्थानले पनि बिरोध जनाएको छ । त्यसैगरी बुधबारै स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीका चिकित्सक, नर्स, कर्मचारी, विद्यार्थी, सर्वसाधारण, नागरिक समाजले डा.केसीको ज्यान बचाउँ भन्ने प्लेकार्ड बोकी बजार परिक्रमा गरि डा.केसी अनसन बसेको स्थल पुगी पुनः स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगी शान्तिपुर्ण धर्ना बसेका छन् ।