चार नम्बर प्रदेशका सांसदको यातायात खर्चका नाममा भत्ता बढ्यो

0
Shares

नेपाल समाचारपत्र, पोखरा।

प्रदेश ४ को सरकारले सांसदलाई यातायात खर्च पनि दिने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले बैठक भत्ता ७ सय ५० रुपैयाँ थोरै भएको भन्दै यातायात खर्चका रुपमा ७ सय ५० रुपैयाँ थप गर्ने निर्णय गरेको हो ।

यसअघि चैत ३० गते बसेको प्रदेश सभा बैठकले सांसदको भत्तासहित तलब सुविधा तोकेको थियो । सांसदले ४५ हजार तलब पाउँदै आएका छन् भने मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, समिति सभापति तथा पदाधिकारीको फरकफरक सेवा सुविधा छन् ।

यातायात खर्च ७ सय ५० पाउने

प्रमुख प्रतिपक्ष दलका नेतालाई घरभाडाका रुपमा प्रतिमहिना २० हजार रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको छ । कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले ५० हजार रुपैयाँ तलब र सवारी साधन, सञ्चार, निजी सचिवालय बन्दोबस्ती, इन्धन, बिलअनुसारको धारा, बिजुलीको रकम, भ्रमण भत्ता, अतिथि सत्कार लगायतका सुविधा पनि पाउँछन् ।मन्त्रिपरिषदको बैठकले प्रदेश सभाका सांसदलाई गम्भीर खालको विरामी पर्दा आर्थिक सहयोग गर्न मापदण्ड, कार्यविधि निर्माण गर्न र सरकारलाई सिफरिस गर्ने गरी समिति गठन गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भरत भुसाललाई सरकारले रेलवे सम्बन्धी सेमिनारमा भाग लिन पठाउने भएको छ । असार २५ देखि साउन १३ गतेसम्म चीनमा हुन लागेको रेलवे सम्बन्धी सेमिनारमा भाग लिन भुसाललाई पठाउने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।