माथिल्लो तामाकोसीको सेयर आव्हानको विरोध जारी, समय हेरफेरको सम्भावना

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवद्धक कम्पनि अपर तामाकोसी हाईड्रो पावर लिमिटेडले धितोपत्र बोर्डको सहमतिमा जिल्लावासीले पाउने १० प्रतिशत सेयरको लागि असार २४ देखि आवेदन माग गरेको भन्दै स्थानिय जनप्रतिनिधि र जिल्ला सहकारी संघले पनि विरोध गरेको छ ।

जिल्ला समन्वय समितिको पहलमा बसेको दुई नगरपालिका र सात गाँउपालिकाको बैठकले असार २४ गते देखी साउन ९ गतेसम्मको समय अवधि कम भएको र अहिले खेतिको मुख्य समय समेत भएकोले साउन १६ देखी भदौ १४ गतेसम्म सेयर खुलाउन माग गर्ने निर्णय गरेको छ ।

बैठकले परिवारको एउटै व्यक्तीको नामबाट स्वदेश तथा विदेशमा रहेका दोलखालीहरुले शेयर हाल्न पाउने व्यवस्था गर्नु पर्ने तथा जिल्लाका ७४ वटै वडामा शेयर संकलन केन्द्रको स्थापना गरी सेयर संकलन गर्नुपर्ने निर्णय गरेको छ ।

जिल्ला सहकारी संघ लिमिटेड दोलखाले पनि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जिल्लावासीले पाउने सेयर आव्हानको समय उपयुक्त नभएकोले त्यसलाई तत्काल स्थगीत गर्न माग गरेको छ ।

जिल्ला सहकारी संघ लिमिटेड दोलखाका अध्यक्ष हेमन्त चौलागाईले विज्ञप्ति मार्फत कम्तिमा बर्षायाम सकिएपछिमात्र दोलखालीले पाउने सेयर आव्हान गरिनु पर्ने, सेयर आवेद भर्ने समयावधि कम्तिमा एक महिनाको हुनुपर्ने, जिल्लाको सबै वडा तहमा सहकारी संस्थाहरुसंग साझेदारी गरेर सरल र सहज ढङ्गले सेयर आवेदन भर्ने व्यवस्था गर्नु पर्ने माग गरेका छन् ।

यस अघि माथिल्लो तामाकोसी सेयर सरोकार संयुक्त संघर्ष समिति, दोलखामा क्रियाशील नागरिक समाज, अधिकारकर्मी र पत्रकारहरुले समेत सेयर आव्हानको समय पछि सार्न आग्रह गरेका थिए ।

सयै बीच माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलाखका जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, अधिकारकर्मी र संघर्ष समितिका सदस्यहरुको माग अनुसार दोलखावासीले पाउने सेयर आव्हानको समय भदौ १५ गतेसम्म पुग्ने गरी हेरफेर गर्न धितोपत्र बोर्डसंग आग्रह गर्ने तयारी गरेको जनाएको छ ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले स्थानियको माग अनुसार सेयर आव्हानको समय हेरफेर गर्न धितोपत्र बोर्डसंग आग्रह गर्ने तयारी भै रहेको र बुधवार धितोपत्र बोर्डसंग छलफल हुनसक्ने बताए ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवद्धक कम्पनि अपर तामाकोसी हाईड्रो पावर लिमिटेडले जिल्लावासीको लागि छुट्टाईएको १० प्रतिशत अर्थात एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको सार्वजनिक सूचना मार्फत जानकारी गराएको थियो ।

सार्वजनिक सूचना अनुसार जिल्लावासीले आवश्यक कागजात सहित आगामी असार २४ गतेदेखी साउन ९ गतेसम्म कम्तिमा ३० कित्तादेखी ३ सय कित्तासम्मको सेयरका लागि दरखास्त दिन पाउने छन् ।