भेडीखर्केको स्मृतिमा सालिक बनाइँदै

0
Shares

लमजुङ, (नेस)। लमजुङको पहिचान बनेका ठाडोभाकाका शिरोमणि स्व. भेडीखर्के साइँला (दीर्घराज अधिकारी)को सालिक निर्माण गरिने भएको छ। सुन्दरबजार नगरपालिका–९ स्थित भोटेओढार कृष्ण बगैंचामा एक समारोहबीच सालिक निर्माण कार्यको शिलान्यास गरिएको छ। शिलान्यास समारोहमा भेडीखर्केको स्मृतिमा सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो भने कलाकारहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए।

सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्र र सञ्चारकर्मी कृष्ण कँडेलले संयुक्तरूपमा सालिकको शिलान्यास गरेका हुन्। नगरप्रमुख मिश्रले भेडीखर्के जिल्लाको मात्रै नभई सिंगो राष्ट्रकै गौरव भएको बताए। ‘भेडीखर्केले जीवनकालमा एउटा बेग्लै सांगीतिक विधाको पहिचान स्थापित गर्न सफल भएकाले उनलाई ठाडोभाका शिरोमणिको उपाधि दिइएको हो। आज उनको सम्झना र सम्मानमा स्थानीय सरकारले गर्न सक्ने रचनात्मक कार्यमा सहयोग गर्न नगरपालिका तयार छ।’ –उनले भने।

सालिक निर्माणका लागि ३२ लाख ७३ हजार ५ सय ४५ रुपियाँ लाग्ने अनुमान गरिएको सो समितिका अध्यक्ष एवं भेडीखर्केका छोरा गंगाप्रसाद अधिकारीले जानकारी गराए। ‘बुबाले आफूसँग भएको क्षमता देखाएर ठाडोभाकालाई देशविदेशमा चिनाउनुभयो’, उनले भने– ‘उहाँलाई माया गर्नेहरूले सालिक बनाउनु उचित हुन्छ भने। मलाई पनि उचितै लाग्यो र बनाउने टुंगोमा पुगियो।’ भेडीखेर्केले १२ वर्षको उमेरदेखि ठाडोभाका गाउन शुरू गरेको उनका सहपाठी देवीबहादुर गुरुङले बताए। पहिले देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले यो भाका प्रचलनमा ल्याए पनि देशविदेश फैलाउने काम भने भेडीखर्के साइँलाले गरेको गुरुङ बताउँछन्।

सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोटमा १९९० साल भदौ २९ गते जन्मिएका भेडीखर्केको गत भदौ २६ गते ८४ वर्षको उमेरमा निधन भएको हो।