इलाममा घन्कियो जिन्दगीको के भरोसा


इलाम, (नेस)। इलामनगरपालिकाको पर्यटकीय गन्तव्य भालुढुंगामा चर्चित गायक कर्णदास एकल साँझ सम्पन्न भएको छ।

इलाममा एकल साँझ कार्यक्रममार्फत झुल्किएका कर्णदासले सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा प्रस्तुति दिए। आमा भन्दै रुन पाऊँ भन्ने बोलको गीतबाट एकल साँझको शुरू गरेका गायक कर्णदासले दोस्रो प्रस्तुतिमा आप्mनो बहुचर्चित गीत ठूलाठूला महल होइन सीप सिकाउने झुपडी देऊ गीत सुनाउँदै दर्शकको सांगीतिक प्यास मेटाए। उनले यो प्रेमको बलिदान म कसरी भुल्न सक्छु, अनौठो व्यथा रहेछ मेरो प्रेम कहानी, पुरानो डुङ्गा पानीको छाललगायतका गीत सुनाएर सयौं दर्शकको साथ पाए।

पहिलोपटक इलामको एकल साँझमा प्रस्तुत भएका कर्णदासले अन्तिमसम्म नै वान्स मोर पाइरहे। दार्जिलिङको मिरिकस्थित म्युजिक मेलोडी ब्यान्डका म्युजिसियनका साथ २ दिनको छोटो अभ्यासमा लाइभ प्रस्तुति दिएका कर्णदासलाई स्थानीय संगीतकर्मीले पनि साथ दिएका थिए। करिब एक दर्जन गीत गाएका कर्णदासले अन्त्यमा चर्चित गीत जिन्दगीको के भरोसा गाएर आफ्नो एकल साँझ टुंग्याएका थिए। प्रदेश नम्बर १ स्तरीय युवा महोत्सवको अवसरमा कर्ण दासको एकल साँझ कार्यक्रम इलाममा आयोजना गरिएको हो। तीनदिने युवा महोत्सवअन्तर्गत उनको प्रस्तुति प्रस्तुत गरिएको हो।

इलामको पर्यटन विकासमा सघाउ पुर्याउने उद्देश्यबमोजिम सम्पन्न महोत्सवको क्रममा भालुढुंगामा गजल मेला आयोजना गरिएको थियो। जिल्ला युवा समिति इलामले युवा महोत्सवको आयोजना गरेको हो।