अवार्ड किन–बेच भए बहिष्कार गर्छौं ः बद्री पंगेनी


विगतका वर्ष जस्तै यस वर्ष पनि दोहोरी क्षेत्रका कलाकार सर्जकका लागि दोहोरी गीतको अवार्ड हुने भएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाडौंको आयोजनामा आगामी असोजमा छैठौं राष्ट्रिय लोकदोहोरी अवार्ड–२०७५ हुन लागेको हो। यसका लागि राजधानीका विभिन्न ठाउँमा फारम उपलब्ध गराइने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंका अध्यक्ष पीएन सापकोटाले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

पछिल्लो समय विभिन्न अवार्डको आयोजना भए पनि लोक तथा दोहोरी गीतको विधामा काम गर्दै आएका कलाकारका लागि यो अवार्ड आयोजना गर्दै आएको अध्यक्ष सापकोटाले बताए। उनले अवार्ड भव्य र सभ्य तरिकाले सम्पन्न हुने दाबी गरे। ‘हामीले गत वर्ष पनि निकै सभ्य र भव्य तरिकाले अवार्ड समारोह सम्पन्न गरेका थियौं। अहिले पनि त्यसै हुनेछ।’ –उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले अन्य अवार्डमा जस्तो यस अवार्ड ‘किनबेचु नहुने जानकारी गराए। ‘अन्य अवार्डमा के हुन्छन् त्यो हामी जान्दैनौं र सरोकार पनि राख्दैनौं। तर, यो अवार्डमा यदि कसैले पैसा लिएर अवार्ड बेचेको किनेको थाहा पाउनुभएछ भने प्रमाण देखाउनुहोला, अवार्ड नै बहिष्कार गर्नेछौं।’ –पंगेनीले भने।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका पूर्वअध्यक्ष शिव हमालले आफ्नो कार्यकालदेखि नै अवार्ड समारोहलाई सभ्य तरिकाले अगाडि बढाएको दाबी गरे। अवार्डमा ५ सम्मानका विधासहित २१ विधालाई समावेश गरिने बताइएको छ। लोक तथा दोहोरी गीतको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनको निम्ति अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने नाराको साथमा २०६९ सालबाट यो अवार्ड आयोजना हुँदै आएको छ।