कन्दराको कन्सर्ट अमेरिकी शहरमा


२५ वर्षदेखि सांगीतिक यात्रामा रहेको कन्दरा ब्यान्ड पछिल्लो समय म्युजिकल टुरमा व्यस्त छ। ब्यान्डले यसपालि पहिलोपटक अमेरिकामा कन्सर्ट गर्ने भएको छ।

त्यहाँका विभिन्न शहरमा कन्सर्ट गर्ने क्रममा ब्यान्ड करिब १ महिना उतै रहनेछ। लोक शैलीका आधुनिक र पप गीतका लागि दर्शकमाझ परिचित ब्यान्डले यो शनिबार वासिङ्टन डीसीमा पहिलो कन्सर्ट गर्नेछ। नेपाली अमेरिकन कन्भेन्सनको दोस्रो दिन हुने कन्सर्टलाई लिएर आफूहरू निकै उत्साहित रहेको ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठले बताए।

असार ३२ मा लस एन्जल्स र २१ मा ओहायोमा कन्सर्ट गरिसकेपछि डलास र न्यूयोर्कका कार्यक्रम तय गरिने कन्दराले जनाएको छ। एफ वान ग्रुपको आयोजनामा कन्दरा यूएसए टुर गर्न लागेको ब्यान्डले कन्सर्टमा आफ्ना सदाबहार गीत सुनाउनेछ। सन् १९९२ मा स्थापित ब्यान्डका पोखरेली समूहका दर्जनौं गीत लोकप्रिय छन्। लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल राखी, तिमी पारी त्यो गाउँमा, भेडी गोठैमालगायतका गीत कन्दराको ट्रेडमार्क बनेका छन्।