तीनै प्रतिष्ठानलाई सशक्त बनाइने

0
Shares

नयाँ आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले तीनै प्रज्ञा प्रतिष्ठानलाई गाभ्ने घोषणा गरे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सबै प्रज्ञा प्रतिष्ठानलाई अझ प्रभावशाली र सशक्त बनाएर लैजाने बताएका छन्।

बुधबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा आयोजित भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले तीनै प्रज्ञा प्रतिष्ठानलाई अझ सशक्त बनाउने बताएका हुन्। सो अवसरमा मन्त्री अधिकारीले प्रतिष्ठानको भ्रमण गर्दै प्रतिष्ठानको अवस्था र क्रियाकलापबारे जानकारी लिएका थिए।

भेटघाटमा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) ले सो प्रतिष्ठानका संरक्षक रहेका मन्त्री अधिकारीलाई स्वागत गर्दै प्रतिष्ठानको प्रतीक चिह्न प्रदान गरेका थिए। त्यसै गरी उपकुलपति शम्भुजित बास्कोटाले प्रज्ञा प्रतिष्ठानको संरचना र यसले गरेका विभिन्न कार्यबारे मन्त्री अधिकारीलाई जानकारी गराएका थिए।

मन्त्री अधिकारीले सीमित साधन र स्रोतबाट नेपाल प्रतिष्ठानमार्फत धेरै काम भएको भन्दै प्रतिष्ठानका लागि भवन निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाए।