ईश्वरराज ढकाल, काठमाडौं
पछिल्लो समयमा देश दौडाहाको नामममा सक्रिय राजनीति गर्न खोज्नुभएका पूर्वराजा ज्ञानेन्द्रले यही असार २३ गते ७२ औ जन्मोत्सव आफ्नो स्वामित्वमा रहेको नेपालगंजको सोल्टी होटलमा मनाउने हुनुभएको छ ।
देशभरका राजावादीलाई नेपालगंजमा भेला गराएर जन्मोत्सव मनाउन लाग्नुभएको हो । अंग्रेजी नयाँ वर्षको दिन उद्घाटन भएको चारतारे होटल सोल्टीमा जन्मोत्सव मनाउन पूर्वराजा असार २० गते नेपालगन्ज जानुहुने भएको छ । तीन टुक्रा भएर फुटेका राप्रपाका दोस्रो तहका नेतालाई भेटेर पार्टी एकीकरण गर्न आग्रह गर्नुभएको पूर्वराजाले नेपालगन्जमा मनाउन लागिएको जन्मोत्सवलाई पूर्व राजावादीले अति महत्वको रुपमा हेरेका छन् ।
जन्मोत्सवमा मध्य र सुदूरपश्चिमका सबै राजावादी भेला हुने भएका छन् । राजधानीमा रहेका राजावादीहरु १७ गतेदेखि नै नेपालगंज जाने तयारी गरेका छन् ।
पूर्वराजाको रेकी र कन्भेसहितको सवारी साधन १७ गते नै नेपालगन्ज पुग्ने भएको छ । पूर्वयुवराज्ञी हिमानीसहितको टोली २२ गते नेपालगन्ज पुग्नेछन् । पूर्वमुमा वडामहारानी रत्नबाहेक सम्पूर्ण राजपरिवारका सदस्य नेपालगन्ज पुग्ने तयारी गरेका छन् । पुत्र पारस समेत नेपालगंज जाने कार्यक्रम रहेको छ । बुढ्यौलीको कारण आमा रत्न नेपालगन्ज जान नसक्ने हुनुभएको छ ।
अधिकांस राजावादीलाई पूर्वराजाको जन्मोत्सव मनाउन आह्वान गरिएको निर्मल निवास स्रोतले जनाएको छ । नेपालगन्जको बसाइ कति दिन हुन सक्छ भन्ने विषयमा यकिन नभए पनि पूर्वराजाले नेपालगन्जमा राजावादी र राप्रपाका महत्वपूर्ण नेतासँग भेट गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
दोस्रो तहको नेतालाई झापाको टि स्टेटमा भेटेपछि तीनै नेताको दबाबमा सबै राप्रपा एक हुने अन्तिम तयारी गर्नु र पूर्वराजाले आफ्नो जन्मदिन नेपालगन्जमै बनाउन लाग्नुलाई महत्वपूर्ण संयोगका रुपमा लिइएको छ ।
पूर्वराजाको जन्मोत्सवमा शुभकामाना दिन तीनैवटा राप्रपाका नेताहरु नेपालगन्ज जाने तयारी गरेका छन् । एक दशक लामो इतिहासमा पूर्वराजाले आफ्नो मुद्दा बोकेका तर तीन टुक्रा भएर फुटेका राप्रपाका दोस्रो तहका नेतासँग भेटेर मुलुकमा राजनीतिक सक्रियता आवश्यक भयो भन्दै बैठक गर्न थाल्नुभएको थियो ।
गोप्य रुपमा विभिन्न पार्टीसँग आन्तरिक छलफल गर्न थाल्नुभएका पूर्वराजाले आफ्नो जन्मदिनमा सबै राप्रपालाई मिलेर अघि बढ्न सन्देश दिने सम्भावना रहेको स्रोतको भनाइ छ ।
पूर्वराजाको जन्मोत्सव मनाउन मध्य र सुदूरपश्चिमका राजावादीले तयारी थालेका छन् ।
पूर्वाञ्चल भ्रमण गर्दा होस्, चाहे पश्चिमाञ्चल, मध्यपश्चिम वा सुदूपश्चिम, तराई भ्रमणको क्रममा आफूसँग भेट्न आउने अधिकांशलाई अब चुप लागेर बस्न नहुने र हिन्दु राज्यका लागि सक्रिय रहन आग्रह गर्दै आउनुभएका पूर्वराजाले नेपालभरका राजावादीलाई भेला गराएर आफ्नो जन्मदिन मनाउन लाग्नुभएको हो ।











प्रतिक्रिया