पश्चिमी वायु सक्रिय हुँदा मनसुन कमजोर

0
Shares

टीका बन्धन, काठमाडौं
यसपटक गत वर्ष भन्दा ४ दिन अगावै मनसुन भित्रियो, तर नियमित वर्षा भने हुन सकेको छैन । पश्चिमी भेगको तुलनामा पूर्वी वायु कमजोर बन्दा मनसुन अझै सक्रिय बन्न सकेको छैन ।
मनसुन यसपटक गत जेठ २५ मा नेपाल भित्रिएको थियो ।

पूर्वीभेग हुँदै भित्रिने मनसुन एक साताभित्रमा देशैभर फैलने गर्छ । तर हिजोआज अरब सागर हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिरहेको वायुले मनसुनलाई पूर्वी भेगमा सीमित गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै तिब्बती भू–भागमा विकास हुनुपर्ने उच्च चापीय क्षेत्र पनि कमजोर रहेकाले असार दोस्रो सातामा पनि वर्षा हुन नसकेको महाशाखाका मौसमविद् बताउँछन् । उच्च चापीय क्षेत्रले नेपाल भित्रिने मनसुनलाई पूर्वबाट पश्चिमी भेगतर्फ धकेल्न सहयोग पु¥याउने भए पनि यसपटक त्यस्तो गतिविधि बलियो बन्न नसकेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

तर अब भने मनसुन सक्रिय गराउने गतिविधि विकास भइरहेको बताउँदै उहाँले भन्नुभयो– ‘ढिलै भए पनि अब मनसुन सक्रिय हुँदै छ, मंगलबार लगभग मध्यभागसम्म प्रभाव फैलिएको छ, दुई दिनभित्रैमा देशैभरी मनसुनी गतिविधि देखिदै छ ।’

वर्षा नहुँदा मध्य र पश्चिम तराईका अधिकांश भेगमा गर्मी निकै बढेको छ । ‘मौसमी क्यालेन्डर’ अनुसार दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा अंग्रेजी महिनाको मे ३० तारिख भित्रै मनसुन शुरु हुने गर्छ ।

यसपटक त्यहाँ ४ दिनअगावै गत मे २६ तारिख (जेठ १२) मा मनसुन सक्रिय बनेको दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप) ले जनाएको छ । केरलामा मनसुन शुरु भएकै दिन श्रीलंका, माल्दिभ्स र आसपासका भेगमा वर्षा शुरु भएको थियो । अहिले बंगलादेश, भुटान, भारतका अधिकांश उत्तरपूर्वी भेगसहित नेपालको सीमावर्ती क्षेत्र सिक्किम र आसपासमा मनसुनी गतिविधि मध्ययम स्तरमा फैलिएको छ ।

हिजोआज मुलुकका विभिन्न भेगमा मध्ययम र हल्का वर्षा हुने गरेपनि अहिले पूर्ण रुपमा मनसुनी वर्षा शुरु भइनसकेको अर्का मौसमविद् बरुण पौडेल बताउनुहुन्छ । ‘अरब सागर हुँदै भित्रिने पश्चिमी वायुले जलवाष्पयुक्त हावा पनि भित्र¥याइरहेको छ, त्यसैले वर्षा भएको हो’, उहाँले भन्नुभयो– ‘मुलुकको पूर्वी भेगबाहेक अन्यत्र मनसुनको प्रभाव देखिएको छैन ।’

भाेली बिहीबारभित्रमा अधिकांश भेगमा मध्यम स्तरको मनसुनी प्रभाव फैलिने उहाँले बताउनुभयो ।

अहिले मनसुन सक्रिय केही ढिलो भए पनि यसपटक वर्षा अवधिभरमा मुलुकका अधिकांश भेगमा औसत वर्षाको मात्रा नाघ्ने मौसमविद्को आँकलन छ । साधारणतया अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मको ४ महिनालाई दक्षिण एसियाली मनसुन अवधि मानिन्छ ।