सुरेश तामाङ, काठमाडौं
दरबारमार्गस्थित रोयल साइनो रेस्टुँरामा आइतबार साँझ राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का अधिकृतहरुबीच ‘ग्याङ फाइट’ भएको छ ।
दुई समूहमा विभाजित अधिकृतहरुबीच मुक्का प्रहार र हात हालाहाल समेत भएको थियो । प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमुख अनुसन्धान अधिकृतबाट प्रहरी उपरीक्षक (एसपी) उप–अनुसन्धान निर्देशकमा बढुवा हुने विषयमा दुई समूह ठूलै विवाद भएपछि हात हालाहालको स्थिति बनेको थियो ।
स्रोतका अनुसार प्रमुख अनुसन्धान अधिकृतद्वय सुरेन्द्र कोइराला र टेकराज तिमल्सिनाको समूहबीच हात हालाहाल भएको थियो । आईतबार साँझको घटना हो’, स्रोतले भन्यो– ‘त्यो साँझ पनि सधैंझैं हाम्रो नियमित झमघट थियो, मादक पदार्थ सेवन गर्न थालेपछि सरहरुले बढुवाको कुरा निकाल्न थाल्नुभयो, बढुवामा तँभन्दा म नै योग्य छु भन्दै हात हालाहाल भएको हो ।’
यस्तै घटना पटक–पटक दोहोरिन थालेपछि कोइराला र तिमल्सिनाबीच अहिले पानी बराबरको स्थिति भएको स्रोतले बतायो । कोइराला हाल राष्ट्रपतिको कार्यालयमा कार्यरत छन् भने तिमल्सिना तत्कालीन कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहँदा प्रधानमन्त्री सचिवालयमा कार्यरत थिए । तिमल्सिना हाल विभागमा कार्यरत छन् ।
राअविका अनुसार अहिले तत्काल २२ जना एसपीका लागि बढुवा प्रक्रिया अघि बढाइएको छ । दुवै एकै ब्याजका अधिकृत हुन् । यसबारेमा तिमल्सिनासँग जानकारी लिँदा यो विषय सरासर झुट भएको, कोइरालासँग आफ्नो सम्बन्ध दाजुभाइको जस्तो रहेको बताए । उनले भने– ‘हामीहरुले दरबारमार्गमा कहिले पनि भेटघाट गरेका छैनौँ, झगडा भएको विषय सरासर झुट हो, हामीबीच दाजुभाइको जस्तो निकट र असल सम्बन्ध छ ।’
गृह मन्त्रालय स्रोतका अनुसार कांग्रेस नेता कृष्णप्रसाद सिटौला गृहमन्त्री रहेका बेला विशेष सेवा ऐन केही घन्टाका लागि संशोधन गरेर कोइराला, तिमल्सिनासहित अन्य केहीलाई प्रहरी निरीक्षक सरह अनुसन्धान अधिकृत तहमा छड्के भर्ना गरिएको थियो ।
विभागमा भर्ना हुनु अघि कोइराला वैदेशिक रोजगार सिलसिलामा पटक–पटक खाडी मुलुक ओहोरदोहोर गरिरहन्थे भने तिमल्सिना शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न थिए ।











प्रतिक्रिया