मधुसूदन रायमाझी, काठमाडौं
नेपाल ट्रस्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिमाथि अनाधिकृत रुपमा बसोबास गर्दै आएका व्यक्तिलाई हटाउने काम सुरु गरेको छ । ट्रस्टको स्वामित्वमा रहेको घरजग्गा खाली गराउन पटक–पटक गरेको पत्रलाई अटेर गर्दै आएका व्यक्तिलाई हटाउने प्रक्रिया अगाडि बढाएको हो ।
नेपाल ट्रस्टको कार्यालयले पटक–पटक पत्राचार गर्दा पनि बेवास्ता गरेपछि मंगलबार छाउनीमा बस्दै आएकी जुनी थापाको घरमा ताला लगाइएको छ । ट्रस्टको स्वामित्वमा रहेको घरजग्गा खाली गराउनका लागि तीनपटक फरक–फरक मितिमा पत्राचार गरेको थियो । तर जुनी थापाले बेवास्ता गर्दै आउनुभएको थियो ।
जुनी थापाको घरमा ताला लगाइयो
ट्रस्टको स्वामित्वमा रहेको सम्पत्ति धमाधम ल्याइँदै
नेपाल ट्रस्टको कार्यालयको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१३ छाउनी मार्गस्थित छाउनीको नक्सा नम्बर १०२–११०३–१३ कित्ता नम्बर १११ क्षेत्रफल २–१३–१–१ (१४४० वर्ग मिटर) मा रहेको घरजग्गा थापाले उपभोग गर्दै आउनुभएको थियो ।
ट्रस्टले २०७२ भदौ ६ र २०७३ फागुन ५ गते दुईपटक पठाएको पत्रलाई अटेर गर्दै घर खाली गराउन मान्नुभएको थिएन । पटक–पटक घर खाली गराउन नमानेपछि ७ दिनभित्र घरजग्गा खाली गराउन २०७५ वैशाख ६ सरकारको सचिवस्तरको निर्णयअनुसार सात दिनभित्र घर खाली गराउन पत्राचार गरेको थियो । तर सो पत्रलाई पनि थापाले बेवास्ता गर्नुभएको थियो ।
ट्रस्टले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया अन्तर्गत ट्रस्टको घरजग्गामा बस्दै आउनुभएको जुनी थापालाई हटाउन प्रहरी र स्थानीयको सहभागितमा घरको गेटमा ताल्चा लगाइएको छ । नेपाल ट्रस्टका कार्यालयका कार्यकारी सचिव डा. रमेशप्रसाद सिंहले ट्रस्टको स्वामित्वमा आइसकेको घरजग्गा खाली गराउन
पटक–पटक पत्राचार गर्दा पनि बेवास्ता गरेपछि घरमा ताल्चा लगाइएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘घरजग्गा खाली गर्नका लागि गरेको पत्रलाई वास्ता नगरेपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा गेटमा ताला लगाइएको हो ।’
सचिव सिंहले देशभर ट्रस्टको नाममा रहेको सम्पत्तिको खोजी भइरहेको बताउँदै ट्रस्टको स्वामित्वमा रहेको घरजग्गामा बस्नेहरुलाई कानुनअनुसार हटाइने बताउनुभयो । २०७५ वैशाख ६ गते घरजग्गा खाली गराइदिनू भन्ने लेखिएको पत्र उक्त घरजग्गामा बस्ने जुनी थापाका नजिकका भनिने गीता न्यौपानेले २०७५ वैशाख ७ मा बुझ्नुभएको थियो ।
तर पत्र बुझेको तीन महिनाभित्र पनि उक्त ट्रस्टको स्वामित्वमा रहेको घरजग्गा खाली नगरेपछि प्रहरी र स्थानीय जनप्रतिनिधिको सहभागितमा थापाको बस्दै आएको घर जग्गामा ताला लगाइएको हो ।
मंगलवार कामपा–१४ का जनप्रतिनिधि, महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीको रोहवरमा ट्रस्टको कार्यालयले जुनी थापाको घरमा ताला लगाएको थियो । जुनी थापा उक्त घरमा नबस्ने भए पनि घरजग्गा खाली गराउनका लागि अटेर गर्दै आउनुभएको छ ।
नेपाल ट्रस्टको कार्यालयमा सचिव डा. सिंह आएसँगै ट्रस्टको स्वामित्वमा रहेको घरजग्गा खाली गराउने कामलाई तीव्रता दिनुभएको छ ।











प्रतिक्रिया