रामकृष्ण चापागाईं, काठमाडौं
नेपाली कांग्रेसका जिल्ला सभापतिहरु प्रदेश अधिवेशनको तयारीमा जुटेका छन् । उनीहरुले एकताको सन्देश दिँदै विधान संशोधन तथा परिमार्जनका साथै पार्टीको संगठनात्मक संरचना, सदस्यताको प्रकृति, पार्टीभित्रको निर्वाचन प्रणाली, मूल्याङ्कन पद्धति र संगठनात्मक व्यवस्थासम्बन्धी सुझाव दिँदै राष्ट्रिय भेला सम्पन्न गरेका थिए ।
प्रदेश अधिवेशनका लागि विधान संशोधन गर्नु नपर्ने भएकाले जिल्ला सभापतिहरुले केन्द्रीय समितिले तत्काल कार्यविधि बनाएर तीन महिनाभित्र प्रदेश अधिवेशनको मिति तय गर्न आग्रह गरेका छन । कांग्रेसको विधानमा प्रदेशको परिकल्पना गरिसकेको छैन ।
कांग्रेस विधानको धारा १२ मा नयाँ संविधान घोषणा भएपछि संविधानले व्यवस्था गरेका प्रदेशभित्र महाधिवेशन प्रतिनिधिको प्रदेश अधिवेशन हुने उल्लेख गरिएको छ । विधानमा प्रदेश अधिवेशनले प्रदेश कार्यसमितिको गठन तोकिए बमोजिम गर्ने र प्रदेश अधिवेशन तथा प्रदेश कार्यसमितिको काम कर्तव्य र अधिकार तोकिए बमोजिम हुने भन्ने मात्र उल्लेख भएकाले केन्द्रीय समितिले प्रदेश अधिवेशनका लागि कार्यविधि बनाउनुपर्ने भएको हो ।
जिल्ला सभापतिको सुझाव अनुसार महासमिति बैठकले विधान संशोधन र परिमार्जन हुनुपर्ने भन्दै काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्य भन्नुहुन्छ– ‘अब जिल्ला सभापतिहरुले सातै प्रदेशमा प्रदेश अधिवेशनको लागि ध्यान केन्द्रित गरेका छन् ।
गत चैत ९ देखि १६ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आउँदो भदौसम्म महासमिति बैठक आव्हान गर्ने निर्णय गरेको थियो । स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचनामुताविक पार्टीको पुनर्संरचना गर्न पार्टीको विधानमा समयानुकूल संशोधन तथा परिमार्जन गर्न महासमिति बैठक आव्हानको तयारी गरिएको हो र जिल्ला सभापतिसँग विधान संशोधन र परिमार्जनका लागि सुझाव मागिएको थियो ।’
विधान संशोधनको लागि केन्द्रीय कार्यालयले विधान सस्यौदा समिति गठन गर्नुपर्छ । मस्यौदा समितिले तयार पारेको संशोधन तथा परिमार्जनलाई महासमिति बैठकले अनुमोदन गर्नुपर्छ ।
जिल्ला सभापतिहरुले तल्लो तहको अघिवेशन तत्काल गर्नुपर्ने कुरालाई जोड दिँदै आएका छन् । जिल्ला सभापतिहरुले राष्ट्रिय भेलापछि भेला पछि अबको ध्यान तीन महिनाभित्र सातै प्रदेशको अधिवेशन गर्नतिर केन्द्रित भएको पनि जिल्ला सभापति आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ ।











प्रतिक्रिया