परीक्षा नियन्त्रण कार्यालयको चरम लापरबाही

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
परीक्षा नियन्त्रण कार्यालयले श्रृखलाबद्ध रुपमा लापरवाही गरेको प्रमाण भेटिएको छ । शनिबार प्रकाशित एसईईको नतिजाअनुसार काठमाडौको एक विद्यालयको ३२ जना विद्यार्थीको परीक्षाफल नै प्रकाशित नभएको फेला पारेको छ । स्युचाटारस्थित रेडियन्ट पब्लिक बोर्डिङ स्कुलमा अध्ययनरत ती विद्यार्थीको ८ मध्ये ५ वटा विषयको मात्र जीपीए उल्लेख गरिएको छ ।

पनिकाले ऐच्छिक गणित, स्वाथ्य, जनसंख्या तथा वातावरणको कुनै पनि अंक इन्ट्री गरेको छैन । कम्युटरको प्रयोगात्मक विषय खाली देखिएको छ । सबै विद्यार्थी तीनवटा विषयमा जीपीए उल्लेख नभएको जानकारी पाएपछि विद्यालय प्रशासनले पनिकामा पत्र पठाएको छ ।
‘इन्ट्री गर्न बिर्सेर हामीले गल्ती गरेका हौं, केही दिनभित्र परीक्षाफल प्रकाशित गर्नेछौं भन्ने जवाफ पनिकाले दिएको छ’ –विद्यालयका प्रिन्सिपल सूर्य केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो । ‘परीक्षाफल प्रकाशित हुनासाथ विद्यार्थी खुसी भएर विद्यालय आए, जीपीए हेर्न खोज्दा तीन विषयमा खाली देखेपछि निरास भएर फर्किएका छन्’ –उहाँले भन्नुभयो । ‘हामी ठूलो अन्यायमा परेका छौं, विद्यालयको भविष्यमाथि नै प्रश्न उठ्ने गरी पनिकाले लापरबाही गरेको छ, तपाईहरुले नै हाम्रो न्याय गरिदिनुप¥यो’ उहाँको रोदन थियो ।


एउटै विद्यालयको ३२ विद्यार्थीको परीक्षाफल नै प्रकाशित भएन


विद्यार्थीको भविष्यमाथि नै गम्भीर असर पुग्ने काम गर्ने पनिकाका पदाधिकारीमाथि कडा कारबाही गर्नुपर्ने अभिभावकको माग छ । विद्यालयका सबै विद्यार्थी उत्कृष्ट छन्, तर परीक्षाफल प्रकाशित भएको दिन लब्धाङ्कपत्रमा खाली जीपीए देखेर विद्यार्थी निरास भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले डाटा इन्ट्री गर्दा समस्या आएको स्वीकार्दै ती विद्यार्थीको केही दिनमा परीक्षाफल प्रकाशित हुने दाबी गर्नुभयो ।

उहाले विद्यालयकै कारण केही मिसिङ हुन सक्ने बताउँदै यस विषयमा अध्ययन गरिने बताउनुभयो । ‘हामीकहाँ १ हजार ३ सय परीक्षार्थीको मिसिङ भएको छ, त्यहीभित्र ती विद्यार्थीको समस्या भएको हुन सक्छ’ –उहाँको दाबी थियो । तर विद्यालयले भने अन्य विषयमा जीपीए आउने तर तीन विषयमा मात्र नआउनु विद्यालयको गल्ती नभएको जिकिर गरेको छ । पनिकाको कम्प्युटर शाखाका इन्जिनियर फेरबदल भएका कारण परीक्षामा गम्भीर त्रुटि भएको पनिकाले स्वीकारेको छ ।

कोड नम्बर ९४७ रहेको सो विद्यालयको सिम्बोल नम्बर ०३१९२०० देखि ०३१९२३१ सम्मको विद्यार्थीको जीपीए उल्लेख भएको छैन । ‘पनिकाको कारण मेरो छोरीको भविष्य अन्योल भएको छ’, विद्यार्थी ऐश्वर्या अधिकारीका अभिभावक दीपक अधिकारीले भन्नुभयो– ‘सबै साथीहरु ११ कक्षा भर्ना हुन विद्यालय खोज्न गइसकेका छन् हाम्री छोरी भने घरमा निरास भएर बसिरहेकी छिन ।’

परीक्षाफल प्रकाशित नभएपछि सबै अभिभभावक विद्यालयमा पुगेका थिए । विद्यालयले पनिकाको त्रुटिले गर्दा समस्या भएको भन्दै अभिभावकलाई सम्झाउने गरेको छ । विद्यालयले सबै विद्यार्थीको प्रयोगात्मक, सिम्बोल नम्बर पाठाइसकेको अवस्थामा पनिकाले गम्भीर त्रुटि गरेपछि विद्यालयको साख गिर्ने डर भएको छ भने विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

छानविन समिति गठन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा देखिएको प्राविधिक समस्या पहिचान गरी समाधान गर्न शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल रहनुभएको रहेका छन । समितिले ५ दिनभित्र प्रतिवेदन बुझाउन समय तोकिएको छ ।

हिजो सोमबार राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षामा देखिएको त्रुटिको छानविनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएपछि मन्त्रालयले हिजै समिति गठन गरेको हो । परीक्षाफल प्रकाशनमा भएको त्यस प्रकारको त्रुटि सम्बन्धमा के भएको हो ? यथार्थ अध्ययन गरी प्रतिवेदन पेस गर्न र आगामी दिनमा त्यस प्रकारको समस्या नै आउन नदिन अवलम्वन गर्नुपर्ने उपायहरु प्हिचान गरी प्रतिवेदन बुझाउन मन्त्रालयले समितिलाई कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता वैकुष्ठप्रसाद अर्यालले बताउनुभयो ।