हराउँदै मौलिक निर्माण शैली

0
Shares

पुस्ता, दरपुस्ता ज्ञान र सीपको हस्तान्तरण हुँदै उपलब्ध सामग्री र कलाको संयोजनकै कारण पुराना घर मौलिक र विशिष्ट देखिने गर्दछन्।

सुनील महर्जन,
मौलिक बस्ती धर्मस्थली वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त भएको थियो। काठमाडौंको तारकेश्वरस्थित साविक धर्मस्थली गाउँमा हाल पुरै कंक्रिटको गगनचुम्बी घर ठडिएको छ। लिच्छिविकालीन बस्ती अहिले कंक्रिटको जंगलजस्तो भएको छ। बाटोको सुविधा पुगेका अधिकांश ठाउँमा आधुनिक निर्माण सामग्री पुगेकाले गाउँगाउँमा कंक्रिटका घर देखिन थालेका छन्। यसले इतिहास, संस्कृतिसँगै मौलिक निर्माण प्रविधि पनि विस्थापित भएको छ। काठमाडौंको धर्मस्थली गाविस यसैको एउटा उदाहरण बन्दछ।

भूकम्पपछि पुनर्निर्माण थाल्ने प्रायः मानिसले आधुनिक शैलीमा पुनर्निर्माण थालेका छन्। यसले मौलिकता र सांस्कृतिक सम्पदा लोप हुने खतरा बढेको छ। आधुनिक भवन निर्माणले विश्वसम्पदामा सूचीकृत ललितपुरका ऐतिहासिक क्षेत्र मात्र नभई काठमाडौं र भक्तपुरको पनि पुरातात्विक महत्व घट्ने खतरा बढेको बताए। ‘सम्बन्धित निकायले बेलैमा चासो नदिए पुरानो सहरको अस्तित्व, बस्तीको मौलिकता परम्परा, रहनसहन, संस्कृति र सांस्कृतिक सम्पदामा असर पर्ने परम्परागत घर निर्माणसम्बन्धी जानकार दिलेन्द्र श्रेष्ठले बताए।

अहिलेका घर हेर्दा नेपालीपन छैन। आफ्नै मौलिक डिजाइनको घर कहाँ छ भनेर भौँतारिनु परेको छ, सबैतिर एकैखाले घर बनेका छन्। बुङ्मती, खोकना र हरिसिद्धिमा डिजाइनसहितको लागत इस्टिमेट तयार भए पनि पुनर्निर्माण भने अझै शुरू हुन सकेको छैन। मल्लकालीन बस्ती ललितपुरको ठेचो, सुनाकोठी, हरिसिद्धि, ठैव, लुभु, सिद्धिपुर, काठमाडौंको टोखा, कीर्तिपुरको पांगा, नैकाप, भाजगंल र भक्तपुरको कोर बस्तीका स्थानीयबासीले नेवारी वास्तुकला शैलीका घर निर्माण गर्दा धेरै महँगो पर्ने भन्दै आधुनिक शैलीमा धमाधम पुनर्निर्माण थलेका छन्। यसले बस्ती झन् कुरूप बन्दै गएका छन्।

इन्जिनियर हरिश्चन्द्र लामिछाने भन्छन्– ‘पहिले जहाँ जे उपलब्ध हुन्थ्यो त्यसैबाट घर बनाइने गरिएको तर अहिले छनोटको सुविधा बढेको छ।’ पहिले गारोलाई प्राथमिकता दिएर मोटो बनाइन्थ्यो। त्यसले जाडोमा न्यानो र गर्मीमा चिसो बनाउँथ्यो। आज फ्यान, एसी, हिटरबाटै घरलाई तातो–चिसो बनाउन सकिन्छ। पुराना घरमा सबैतिर सकेसम्म बढी काठ प्रयोग हुन्थ्यो, अहिले मुस्किलले झ्याल र ढोकामा काठ सीमित छ।

धुनिक शैलीका घर बन्न शुरू

८० वर्ष अघिसम्म उपत्यकामा घर भनेकै ढुंगा, इँटा, माटो, काठ, बाँस, खर, पराल, झिंगटी, सिलेट, खपडाजस्ता वस्तुबाट बन्थ्यो। तर अहिले गिट्टी, बालुवा, सिमेन्ट, रड, इँटा, ब्लक, ढुंगा, टिन (जस्तापाता), स्टिल, आल्मुनियम, सिसा, प्लास्टिकजस्ता सामानबिना घर निर्माण असम्भवजस्तै भएको छ। घर निर्माणमा पश्चिमा प्रभावकै परिणाम हो, पिलर र सिमेन्टको प्रयोग। त्यसैले पनि अहिले सबैतिर एकै प्रकारका घर बन्न थालेका छन्।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार १९९० सालको भूकम्पपछि मात्रै नेपालमा आधुनिक शैलीका घर निर्माण हुन थालेको हो। ९० सालको महाभूकम्पले भत्किएका घरको पुनर्निर्माणका लागि तत्कालीन सरकारले बेल्जियमबाट जस्तापाता झिकाएर सर्वसाधारणलाई वितरण गरेको जोशीले बताउनुभयो। जोशीले भूकम्पपछि नै उपत्यकामा पहिलो पटक सिमेन्ट भित्रिएको बताए। ‘पहिलोपटक सिमेन्टले बनाएको सरस्वती सदन देखेपछि त्यसैलाई हेरेर इन्द्रचोकमा एक सर्वसाधारणले कंक्रिटको घर बनाए’, उनले भने– ‘उपत्यकाको मौलिक घर निर्माण शैली संसारकै उत्कृष्ट मध्येमा पर्ने बताए।’

९० सालको महाभूकम्पपछि शुरू भएको कंक्रिट घर निर्माणले ८ दशकको यात्रा तय गरिसकेको छ। यसबीचमा शहरी क्षेत्रका अधिकांश घर, भवन र भौतिक संरचनामा सिमेन्ट प्रयोग गरिएको छ। सिमेन्टका घरलाई सम्पन्नतासँग जोडेर हेर्ने मनोविज्ञानका कारण नेपाली मौलिक घरले अस्तित्व गुमाउन थालेको छ।

पुस्ता, दरपुस्ता ज्ञान र सीपको हस्तान्तरण हुँदै उपलब्ध सामग्री र कलाको संयोजनकै कारण पुराना घर मौलिक र विशिष्ट देखिने गर्दछन्। पुस्तैनी परीक्षण हुुँदै आएका यस्ता घर भूगोल सुहाउँदो फरक ढाँचा र निर्माण सामग्रीबाट तयार पारिन्थ्योे। पहिले अग्लो ठाउँमा घर र समथर ठाउँमा खेतीपाती गर्ने चलन थियो। अहिले जुनसुकै स्थानमा घर बनाउन थालिएको छ। संस्कृति र मौलिक परम्परागत सौन्दर्य छाडेर जथाभावी घर बनाउने प्रवृत्ति झाँगिएको छ।

घर निर्माणको पुरानो शैली

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार पहिले उपत्यकाको बस्ती योजनाबद्ध लाग्थ्यो। शहरको संरक्षण र सुरक्षाका दृष्टिकोणले निश्चित क्षेत्र छुट्टिने गरी बस्ती बसाइएको थियो। हेर्दा नै सुरक्षित देखिन्थ्यो। मन्दिरको गजुरभन्दा अग्लो घर बनाउनु हुँदैन भन्ने भनाइ थियो। त्यहीअनुसार घरहरू बढीमा ५ तलासम्म मात्र थिए। प्रत्येक टोलमा मन्दिर थिए।

पहाडतिरका घरमा पेटी, पाली हुन्थ्यो। भुइँतलामा भान्छा बनाउने प्रचलन थियो। काठका खम्बा र बिम बनाएको घर ढुंगा माटोबाट जोडिन्थ्यो।

उपत्यकामा भने अधिकांश घर संयुक्त परिवार बस्ने गरी बनाइएको हुन्थ्यो। घरको प्रमुख प्रवेशद्वारलाई छिंडी भनिन्थ्यो। छिंडीमा माटोका भाँडाकुँडा राख्ने गरिन्थ्यो। त्यसभन्दा माथिल्लो तलालाई बैठक तथा भेटघाट गर्ने ठाउँ, दोस्रो तला माटनमा बसोबासका लागि कोठा बनाइन्थ्यो।

तेस्रो तला बुइँगलमा तीनमुखे, पाँचमुखे खुला झ्याल बनाइएको हुन्थ्यो। माटनमा आँखीझ्याल बनाइन्थ्यो। घरको सुरक्षाका लागि तल्ला तलामा आँखीझ्याल राखिएको हुन्थ्यो, जसबाट बाहिर देखिन्थ्यो तर बाहिरबाट भित्र देखिँदैनथ्यो। माथिल्लो तलामा भने खुला झ्याल हुन्थ्यो।

बुइँगलमा भोज खान मिल्ने खुला ठाउँ बनाइन्थ्यो। बुइँगल माथिको तलामा खुला भान्सा र कौसी हुन्थ्यो। भान्छाबाट धूवाँ सिधैं बाहिर निस्किन्थ्यो। सबै घरमा भोज खान मिल्ने ठाउँ राखिएको हुन्थ्यो। पेशाअनुसार घरको बनावट तथा अग्लाइमा पनि केही फरक हुन्थ्यो।

भूकम्पले क्षति भएका घर पुनर्निर्माण गर्दा पुरानै मौलिक वास्तुकला शैलीमा निर्माण गर्न स्थानीयवासी र राज्य पक्षले विशेष चासो दिनुपर्ने संस्थाको भनाइ छ। पुराना कमजोर भएका केही घरको सुधारका लागि भने विशेषज्ञबाट प्राविधिक सहयोग सल्लाहबाट सुदृढीकरण गर्न सकिने काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक डा. रोहित रञ्जितकारले बताए।

 

जोशीका अनुसार टल्कने तेलिया इँटले बनाएको घर देखियो भने बुझे हुन्थ्यो, त्यो हुनेखानेको घर हो। पाको इँट लगाएका मध्यम आर्थिक हैसियतका मानिन्थे भने बाहिर पाको र भित्र काँचो इँट लगाउने निम्नमध्यम। काँचो इँटको मात्र पनि घर बनाउनेलाई गरिब भने हुन्थ्यो। घरको जग पाको इँट र ढुंगा राखेर बनाइएको हुन्थ्यो। ठूला–ठूला ढुंगा लगाइन्थ्यो। ‘माटोबाहेक सुर्की (इँटको धुलो) र चुन मिसाएर पनि इँटा जोडिन्थ्यो। ‘किलाकाँटा नभएकाले अग्राखको काठको चुकुल बनाएर एकले अर्को काठलाई जोड्ने गरिन्थ्यो। यस्ता घरले संस्कृति र परम्पराको छुट्टै परिचय बोकेका हुन्थे। त्यसैले पनि काठमाडौं उपत्यकालाई सम्पदाको शहर भनिएको हो’ –जोशीले भन्नुभयो।

‘नपढेका पहिलेका मानिस आफ्ना अक्कलले घर बनाउथे। सबै काम आफैंले गर्दा समय भने धेरै लाग्थ्यो। दशैं आउँदा घरको मर्मतसम्भार, रङरोगन, लिपपोत गर्ने गरिन्थ्यो। अहिले धेरै अग्ला–अग्ला सिमेन्टका घर बन्न थालेका छन्। प्रविधिले छिटो र सजिलो घर बनाउन सकिने भएको छ। तर आधुनिक घर बनाउँदा मौलिकतालाई कसरी मिसाउने भनी सोच्न ढिलो हुँदैछ’ –संस्कृतिविद् जोशीले भन्नुभयो।

परम्परागत घर निर्माणका सामग्री

‘इँटा, माटो र काठजडित घर ढलान घरभन्दा प्राकृतिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षले सुरक्षित पनि हुन्छ’ –दिलेन्द्र श्रेष्ठले भन्नुभयो। उहाँका अनुसार पुराना मौलिक शैलीका घरमा झिंगटीका छाना, रङ पोताइ, काठको भुइँ, ढोका, फ्रेम, जोर्नी, चुकुल, दलिन, थामको प्रयोग गरिएको हुन्छ। ‘त्यस्तै बाहिरी र भित्री भित्ताको सतहमा प्रयोग गरिएको चुन, सुर्खी, सजावटका वस्तुमा माटो वा चुनको मसला परम्परागत ढंगले प्रयोग गरिएको हुन्छ’, उनले भने– ‘यसले विभिन्न शासनकालमा बनेका परम्परागत वास्तुकलालाई समेत चिनाउन मद्दत गर्छ। ढलान घरभन्दा पनि बढी सुरक्षित, जाडोयाममा न्यानो र गर्मीमा शीतल हुन्छ।’

‘पुराना घर ढलान घरभन्दा बढी सुरक्षित’

पुराना वास्तुकला शैलीका घर ढलानका भन्दा बढी सुरक्षित रहेको पाइएको छ। ललितपुर, भक्तपुर र काठमाडौंका केही नेवारी बस्तीमा गरिएको अध्ययनले यस्तो देखाएको हो। घर, मठ मन्दिर, पाटीपौवाका किसिम, बनावट, काठको संरचना, पक्की गारो, छाना, फिनिसिङ, रङपोताई, सम्भारलगायत समग्र घरको तस्वीरसहित तथ्यांक संकलन गरी एक संस्थाले अध्ययन गरेको थियो।
घरका भित्री भागका ढोका, झ्यालको फ्रेम जोर्नी, चुकल, दलिन, थामको प्रयोग, बाहिरी भित्ताको सतहमा प्रयोग गरिएका चुन सुर्खी, भुइँ तथा सजावटका वस्तु माटो वा चुनको मसला परम्परागत ढंगले प्रयोग गरिएका घर ढलान गरिएकाभन्दा बढी मजबुत हुने अध्ययनकर्ता पद्मसुन्दर महर्जनले जानकारी दिनुभयो।

उपत्यकाका ४४ बस्ती र उपत्यका बाहिरका धुलिखेल, बनेपा, खड्पु, खोपासी, साँगा, नाला, चित्लाङ, टिस्टुङ पालुङ, पनौती गरी ५३ ठाउँका पुराना वास्तुकला भएका मौलिक शैलीका घरका तस्वीरसहित तथ्यांक संकलन गरी अध्ययन गरिएको थियो। ‘ढलान घरको आयु बढीमा १ सय वर्ष र पुराना वास्तुकला शैलीका घरको आयु सोभन्दा बढी रहनेछ’ –अध्ययनकर्ता महर्जनले भन्नुभयो।

महर्जनका अनुसार विदेशी शैलीका ढलान घर निर्माण गर्दा आवश्यक प्रविधि नअपनाउने र कमसल निर्माण सामग्री प्रयोग गर्ने गरेकाले पनि नेपालमा ढलान घरभन्दा पुराना इँटा, माटो र काठजडित घर बलियो हुने गरेको छ। पुराना घर भूकम्पको समयमा धेरै मात्रामा हल्लिए पनि हतपत नढल्ने किसिमका रहेको उनले बताए। ‘तर ढलान घर फ्रेम स्ट्रक्चरको हुने भएकाले चर्केपछि पूरै ढल्ने गर्छ।’ –उनले भने।

भूकम्पले क्षति भएका घर पुनर्निर्माण गर्दा पुरानै मौलिक वास्तुकला शैलीमा निर्माण गर्न स्थानीयवासी र राज्य पक्षले विशेष चासो दिनुपर्ने संस्थाको भनाइ छ। पुराना कमजोर भएका केही घरको सुधारका लागि भने विशेषज्ञबाट प्राविधिक सहयोग सल्लाहबाट सुदृढीकरण गर्न सकिने काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक डा. रोहित रञ्जितकारले बताए।