चीनसँग कसिलो सम्बन्ध



प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर चीन भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेट वार्ता गरिसक्नुभएको छ । भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङले आफ्नो मुलुक नेपालको विकास यात्रामा साझेदार बन्न तयार रहेको बताउँदै चिनियाँ रेल छिट्टै काठमाडौं जोडिने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रम ओलीसँगको बुधबारको भेटवार्तामा राष्ट्रप्रति सीले नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न चीन तत्पर रहेको बताउनुभएको छ । नेपालले लिएको एक चीन नीतिप्रति आभार व्यक्त गर्दै राष्ट्रपति सीले नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न चिनियाँ सहयोग निरन्तर रहने बताउनुभएको छ । साथै प्रम ओलीको चिनियाँ समकक्षी ली खछ्याङसँग पनि भेटवार्ता भएको छ । यसबाट नेपाल–चीन मैत्री सम्बन्ध अझ प्रगाढ र कसिलो हुने देखिन्छ ।

प्रम ओलीको यस भ्रमणमा चीन र नेपालबीच मुलुकको ऊर्जा, सिंचाइ, सिमेन्ट र फलफूल उद्योगसहित पस्मिना खरिदलगायतका विभिन्न ८ परियोजनाबारे महत्वपूर्ण सम्झौता भएका छन् । चीनबाट नेपाल जोड्ने रेलमार्गबारेको सम्झौता नेपालीका लागि झनै चासोको विषय भएको छ । यी सबै सम्झौता कार्यान्वयनमा नेपालले सहज वातावरण बनाउनै पर्छ । यदि यी सबै सम्झौताहरु कार्यान्वयन भए भने नेपाल चाँडै समृद्ध मुलुकमा दर्ज नहोला भन्न सकिन्न ।

हुन त प्रधानमन्त्री ओलीको विगतको चीन भ्रमणमा पनि नेपालको हितका लागि विभिन्न सहमति र सम्झौताहरु भएका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भएको थियो भने व्यापार तथा पारवहनसम्बन्धी सम्झौताका साथै रेल्वेसम्बन्धी भएको सहमतिले नेपालको विकासमा दीर्घकालीनरुपमा महत्व राख्ने बताइएको थियो ।

त्यस्तै चीनले नेपालसँग व्यापार विस्तारका लागि यातायात सेवा जोड्न सिगात्से–रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेल्वेको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्ने सम्झौता भएको थियो । अन्तरदेशीय प्रसारणलाइन निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने, भूकम्पपीडितहरुका लागि सहयोग गर्ने, नेपालमा पेट्रोल र ग्यासको उत्खननबारे सम्भाव्यता अध्ययन गरिदिने, स्याफ्रुबेसी–रसुवागढी सडक मर्मत गरिदिने, हुम्लाको हिल्सामा पुल निर्माण गरिदिनेजस्ता विषयमा समेत विगतमा समझदारी भएका थिए ।

यी विगतका सहमति र सम्झौता कत्तिको कार्यान्वयनमा आए, यसका लागि नेपालका तर्फबाट कत्तिको सहज वातावरण बनाइयो ? यी विषयलाई पनि केलाएर हेर्नुपर्ने हुन्छ, जसले गर्दा यसपटकका सहमति–सम्झौताहरु कार्यान्वयनमा सहजता होस् ।

नेपालको चीनसँगको सम्बन्ध दीर्घकालीन रूपमा नै सुदृढ पार्ने प्रयत्न आगामी दिनहरुमा पनि भइरहनुपर्छ । मुलुकको राष्ट्रिय हितलाई उच्च प्राथमिकतामा राखेर आफ्नो विदेश नीति निश्चित हुनुपर्दछ । साथै चीनसँग भएका सम्झौताहरु कार्यान्वयन गर्ने क्रममा हुन सक्ने राजनीतिकलगायतका कुनै पनि अवरोध हटाउन सरकार कटिबद्ध हुनै पर्छ ।

चीनले दृढतापूर्वक नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको समर्थन गर्दै आएको छ । हामीले पनि चीनसँगको मैत्री सम्बन्धलाई अझ प्रगाढ र कसिलो बनाउन कुनै कसर बाँकी राख्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्