सडकमा दूध पोख्नुपर्ने बाध्यता हट्दै

0
Shares

हेटौंडा,(नेस)
विगतमा किसानले उत्पादन गरेको दूध बिक्री हुन नसक्दा सडकमा पोख्न वाध्य हुनुपरेको अवस्था पछिल्लो समय हट्दै गएको छ । पशुपालनमा देखिएको जोखिम अन्त्य गर्न उक्त क्षेत्रमा देखिएको अप्रिय गतिविधि नियन्त्रण गर्ने प्रयासपछि मिल्क होलिडे नहुँदा किसान प्रत्यक्षरुपमा लाभान्वित भएका हुन् ।

हुन पनि ‘दूध बिदा’ कटौतीपछि मकवानपुरका दुग्ध उत्पादक सहकारी संस्था फष्टाएका छन् । ती संस्थाहरुले चालु आर्थिक वर्ष २०७४÷०७५ को वैशाखसम्म ३९ करोड ५५ लाख ७७ हजार रुपियाँको दूध खरिद गरेका छन् । सहकारीले खरिद गर्ने दूध अधिकांश ग्रामीण क्षेत्रका हुन् ।

संघले गत वर्ष ४३ करोड १६ लाख ८३ हजार बराबरको कारोबार गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघले ४६ करोड ८५ लाख ८३ हजार रुपियाँ कारोबार गर्ने लक्ष्य लिएकोमा १० महिनामा नै लक्ष्यभन्दा ३ करोड बढीको कारोबार गरेको देखिन्छ ।

संघ व्यवस्थापक कुमारमणि दाहालका अनुसार यस वर्ष जिल्लामा दूध बिदा (मिल्क होलिडे) भएको छैन । संघले मिल्क होलिडे हटाउन सहकारीमार्फत् दूध संकलन गरी विभिन्न संस्थामा बितरण गर्ने गरेको छ । संघले सहकारीमार्फत् गत वर्ष ७४ लाख लिटर दूध संकलन गरी दुग्ध बितरण संस्थामा पठाएको थियो ।

जेठ र असारमा १२ करोड रुपियाँ थप हुने संघ व्यवस्थापक दाहालले बताउनुभयो । संघले यस वर्ष ४९ करोड ६५ लाख ३८ हजार कारोबार गरेको देखिन्छ, जसमा संघले ४० करोड ४० लाख ५९ हजार रुपियाँ आम्दानी र ४० करोड ३४ लाख रुपियाँ खर्च गरेको देखिन्छ ।

संघमा यस वर्ष हालसम्म ६ लाख ४९ हजार बचत भएको छ । जिल्लाका ५५ वटा सहकारी संस्थामार्फत् संकलित दूध हेटौंडाको दुग्ध वितरण आयोजना, हेटौंडा डेरी, काठमाडौं र पोखरामा बिक्री भइरहेको छ । जिल्लाका ३९ वटा दुग्ध उत्पादक सहकारी संस्थामा मिल्क एनालाइजर सञ्चालनमा छन् । किसानले प्रतिलिटर ४५ देखि ६० रुपियाँमा दूध बिक्री गर्ने गरेका छन् ।

समग्र पशुपालन तथा दूध उत्पादक किसानले पीडा व्यहोर्दै दूध उत्पादन गर्दै आइरहेको भए पनि सरकारले किसानका पक्षमा कुनै कार्य गर्न नसकेको भन्दै किसान नेताहरुले विदेशबाट आयात हुने दूध पाउडर तथा दुग्धजन्य पदार्थ पूर्णरुपमा बन्द गर्नुपर्ने, सरकारले तोकेको कृषि बीमा मापदण्डलाई बीमा कम्पनीहरुले अपमान गरी क्षतिपूर्ति नदिने र न्यून मूल्यांकन गर्ने गरेकाले बीमा कार्यक्रमलाई व्यवस्थित गर्नुपर्ने लगायत माग गर्दै आएका छन् ।