चारदामसँगै सकियो सेलो महोत्सव

0
Shares

तामाङ समुदायमा विवाह संस्कारको चुरो मानिने चारदाम विधिमाथि भाषाविद् अमृत योञ्जनले झण्डै ३ दशकअघि लेखेको नाटक चारदाम मञ्चन गर्दै सोमबार सेलो नाट्य महोत्सव–२०७५ सकिएको छ। तीनदिने महोत्सवमा २ लोक, १ कविता र २ आधुनिक गरी ५ नाटक मञ्चन गरिएका थिए।

अन्तिम दिन मञ्चित योञ्जनको नाटकमा संस्कृति संरक्षण गर्नुपर्छ र पर्दैन भन्ने २ विपरीत धारणालाई बेहुला र बेहुली पक्षको रूपमा प्रतीकात्मक प्रस्तुति गरिएको थियो। २०४६ सालमा पहिलोपटक मञ्चन गरिएको नाटक अहिले परिमार्जनसहित नयाँ अवतारमा हेर्न पाउँदा खुसी लाग्यो।’ –भाषाविद् योञ्जनले भने। निशा पाख्रिन र सन्तोष तामाङ ‘बोन्बो’ द्वारा निर्देशित नाटकमा चाँदनी लामा, फूलकुमार बमजन, सुसन लामा, शान्ति वाइबा, सोनाम लामा मोक्तान, निशा, निकिता वाइबा, सन्तोष, विजय टुबा, मनोज तामाङ, सञ्जीव राई, देविन चौधरी, सुनील तामाङ, साजन लामा, विजय टुबालगायतले अभिनय गरेका थिए।

सोमबार नै रोशन फ्युबाले संयोजन गरेको लोकनाटक ल्हालिमो पनि मञ्चन गरियो। गणेश हिमाल आसपासको तामाङ समाजमा प्रचलित लोकनाटकमा पुरानो पुस्ताको प्रेमकथा र प्रेम गर्ने शैली देखाइएको थियो। ल्हाप्साङकर्पो म्युजिक सेन्टरको प्रस्तुति रहेको नाटकमा रोशनसँगै मनोज लोप्चन, सिंगबहादुर तामाङ, प्रकाश तामाङ, सन्देश तामाङ, शुभसन्तोष तामाङ, विकल तामाङ, मुस्कान तामाङ, डिम्पल तामाङ, रेशा तामाङ र विनीता तामाङले अभिनय गरेका थिए।