दुर्गम गाउँको लोभलाग्दो विद्यालय

0
Shares

हिक्मत नेपाली, दैलेख
गुराँस गाउँपालिका ६ पिलाडीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हँुदा प्रेम विकलाई राती निद्रा लाग्दैन्थ्यो । हरेक रात उनी निदाउनु अघि सधै सोच्थे “हाम्रो विद्यालय, राम्रो विद्यालय” कसरी बनाउन सकिएला ? उनले कैयौ दिन र रातहरु राम्रो विद्यालय बनाउने योजनामै बिताएको सम्झन्छन् ।

“हाम्रो विद्यालयलाई राम्रो विद्यालय बनाउने सपना देखे, कल्पना गरे र त्यो अनुसार अवसरहरु पनि खोज्दै गए ।” विव्यस अध्यक्ष विकले भने । अध्यक्ष भएको दुई वर्षमै विद्यालयमा देखिने गरी परिवर्तन भएको छ, गुणस्तरिय सिकाई वातावरणका सबै सूचकहरु विद्यालयले पुरा गरेको छ, हाम्रो समाजमा सपना देख्नेलाई राम्रो मानिदैन, वास्तविकता त्यो हो, जसले सपना देख्दैन उसले जिन्दगीमा केही गर्न पनि सक्दैन्, विकले भने ।

कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयका सबै कक्षा कोठामा पि फर्म र कार्पेटको व्यवस्था गरिएको छ । सबै कक्षा कोठामा शैक्षिक सामाग्रीले छापामय देखिन्छन् । प्रत्येक कक्षामा सानो पुस्तकालय छ । जहाँ बाल सिकाई सामाग्रीहरु राखिएको छ । शिक्षकले विद्यार्थीलाई कहिल्यै पढ भन्नु पर्दैन् । उनीहरु आफै मन लाएर पढ्ने गरेका छन् ।

नजिकै बोर्डिङ्ग स्कुल छ तर विद्यालय वरपर रहेका समुदायका बालबालिकाहरु बोर्डिङ्गमा जान मान्दैनन्, अध्यक्ष विकले भने । विद्यार्थी नियमितता र सरकारी विद्यालय प्रतिको आकर्षण बढाउन विद्यार्थी र शिक्षकहरुको लागि टाई वेल्ट, पोषाक र परिचय पत्रको अनिवार्य व्यवस्था गरिएको छ । गत र चालु शैक्षिक सत्रमा झण्डै एक दर्जन भन्दा बढी बालबालिका बोर्डिङ्गबाट सरकारी विद्यालयमा आएको विकले बताए । उक्त विद्यालयबाट जति बालबालिका माथिल्लो कक्षा उर्तिण गरि बाहिर जान्छन, तिनीहरु सबै आफ्नो स्थान लिन सफल भएका छन् । त्यसैगरी श्रोत केन्द्र स्तरीय हुने अतिरिक्त क्रियाकलापमा पनि कुनै न कुनै स्थान ल्याउन सफल भएको विकले बताए ।

अभिभावकको सक्रियताले विद्यालय राम्रो बनाउन सकिने उनको बुझाई छ । गुरासँ गाउँपालिकको धनटाकुरीका अभिभावकहरु विद्यालयमा प्रत्येक दिन आउने गरि पालो लगाएका छन् । आफ्नो पालोमा दिनभरी विद्यालयमा बसेर क्षमता अनुसार काम गर्ने गरेका छन् । पढाउन सक्ने अभिभावकले खाली पिरियडमा पढाउँछन, पढाउन नसक्नले अभिभावकहरुले विद्यालयको सरसफाईमा सहयोग गर्छन् । हेर्दा देखिन्छ, विद्यालयप्रति समुदायको मोह बगैचालाई हेर्ने कुनै मालीको भन्दा कम छैन् ।

चाहे जस्तो गरी अझै विद्यालय सुधार गर्न नसकिएको विद्यालयका प्रधानध्यापक सूर्य वलीले बताए । हामीले जुन योजना बनाएर लागेका छौ पुरा गर्न सकिरहेका छैनौ । विद्यालय शिक्षामा गुणस्तर ल्याउन तल्लो तहबाटै पहल गर्नुपर्ने वलीले बताए ।