राजा महेन्द्रलाई हसाउने अभिनेता थापाको निधन

0
Shares

सैनिक सलामीसहित विदाइ, छोरीले दिइन् दागबत्ती

विदुर गिरी
अभिनेता सेनानी भीमबहादुर थापाको बुधबार बिहान ९२ वर्षको उमेरमा निधन भएको छ। छाती र फोक्सोलगायतका समस्याबाट पीडित थापाको बुधबार बिहान २ बजे मैतीदेवीस्थित निवासमा निधन भएको हो।

नेपाल टेलिभिजनबाट प्रसारण हुने हाजिरीजवाफ (क्वीज) प्रतियोगिताको सञ्चालन गरी लोकप्रियता कमाएका छोरा प्रकाश थापा अमेरिकामा रहेका कारण उनको पार्थिव शरीरमा जेठी छोरीले दागबत्ती दिएकी छन्। उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो। थापाको परिवारमा श्रीमती, २ छोरी र १ छोरा छन्।
थापाको निधनको खबर पाएपछि कलाकर्मी र फिल्मकर्मी उनलाई अन्तिम श्रद्धाञ्जली दिन पुशपति आर्यघाट पुगेका थिए। अन्तिम संस्कारमा सयौं कलाकर्मी र शुभचिन्तक सहभागी भएका थिए। उनलाई नेपाली सेनाले सैनिक सलामी दिएर अन्तिम बिदाइ गरेको थियो।

दर्जनौं रेडियो नाटक, नाटक, टेलिफिल्म र फिल्ममा विभिन्न भूमिका निर्वाह गरी लोकप्रियता कमाएका थापा २ वर्षअघिसम्म पनि अभिनय क्षेत्रमै सक्रिय थिए। उनले पछिल्लोपटक छक्का पञ्जा–२ मा अभिनय गरेका थिए। छक्का पञ्जाकी निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले उनलाई धर्मपिता बनाएकी थिइन्।

१९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामिडाँडामा जन्मेका थापा १९९६ सालमा बृटिस सेनामा भर्ना भएका थिए। त्यहाँबाट उनले २००२ सालमा भएको दोस्रो विश्वयुद्ध लडेका थिए। ५÷६ वर्षसम्म विश्वयुद्ध लडेर थकित भएका उनी हातमा घडी र काँधमा रेडियो बोकी लाहुरे भएर फर्केका थिए। तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले विश्वयुद्ध लडेर फर्केका र जागिर खाने चाहना भएकाको कदर गर्ने आह्वान गरेपछि २००२ सालमा नेपाली पल्टनमा भर्ना भएका थिए। पल्टनमा लेसनायक, नायक, हवल्दार, जमदार, सुविदार हुँदै मेजरसम्म भएका थापाले दोस्रो विश्वयुद्ध सकिएपछि वीरताको कदरस्वरूप प्रदान गरिएको डिफेन्स मेडल, जनरल सर्भिस, ब्रह्मास्टारजस्ता तक्मा पाएका थिए। उनले सेनाबाट २०३९ सालमा अवकास पाएका थिए। थापा बृटिस र नेपाली सेनाको गरी १४ मान पदक, गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्टजस्ता मान सम्मानबाट विभूषित थिए। उनले कलाक्षेत्रबाट पनि थुप्रै मान सम्मान पाएका थिए।

गम्भीरदेखि हास्य भूमिकासम्म उत्तिकै सशक्त ठहरिएका थापा वृद्ध उमेरसम्म पनि अभिनयमै सक्रिय भएका थिए। भन्ने गर्थे ‘मर्नु‘अघिसम्म पनि अभिनय गर्न चाहन्छु। तर केही समयअघिबाट वृद्धावस्था तथा शारीरिक अवस्थाका कारण उनी निवासमै सीमित हुन बाध्य भएका थिए।

विश्वयुद्धमा सधैं लडाईं गर्नु नपर्ने भएकाले भीमबहादुर नाचगान गरेर रमाइलो गर्थे र हसाउँथे। नेपाल फर्केपछि राणाहरूको जन्मोत्सव, वैवाहिक कार्यक्रममा विभिन्न प्रस्तुति पस्कन्थे। उनी नाचगानदेखि प्रहसनसम्म गरेर रमाइलो गराइदिन्थे। २००७ सालमा राजा त्रिभुवन दिल्लीबाट फर्केपछि सेनाका तर्पबाट भएको कार्यक्रममा उनले प्रहसन देखाएर हसाईं त्रिभुवनबाट ५ सय रुपियाँ बक्सिस पाएका थिए। उनले सेनामा हुँदा हमेजंग पाण्डेसँग जोडी बाँधेर प्रहसन देखाएका थिए। यसरी हेर्दा प्रहसनको सुरुआत पनि भीमबहादुरबाटै भएको मानिन्छ। तत्कालीन दरबारमा गएर प्रहसन पस्कने क्रममा भीमबहादुरले राजा वीरेन्द्रलाई पनि आफ्नो प्रस्तुतिबाट मोहित तुल्याएका थिए।

‘राजालाई हसाउन सजिलो के थियो भने दरबारीयाभन्दा बाहिरका कुरा उहाँहरूलाई थाहा हुँदैन थियो। पहाडतिरका कुरा त्यति थाहा हुँदैन थियो। धामी यसरी बस्छ, झाँक्री उसरी बस्छ, माझीले पितृ यसरी खेलाउँछ भनी देखाउँदा राजा हास्थे, खुसी हुन्थे। भीमबहादुर धेरैपछि पनि आफ्ना कुरा सुनाउँथे– ‘महेन्द्र राजा शिकारमा निस्कँदा अनिवार्यरूपमा यो भीमबहादुर साथमा हुनुपथ्र्यो। शिकार गरी धुनी बालेपछि मैले त्यहाँ हसाउनुपथ्र्यो। म राजदरबारभित्रको हास्यकलाकार हुँ। दरबारभित्र गएर धेरैपटक हसाएको छु।’

भीमबहादुरले रेडियो नेपालको स्थापनापछि २००८ देखि २०४५ सालसम्म सैनिक कार्यक्रम चलाएका थिए। जसमार्पmत् उनी हस्यौली प्रस्तुत गर्दथे। फिल्म बन्न थालेपछि भने उनी फिल्मी क्षेत्रमा समेत छाउन थाले। त्यस क्रममा ७० भन्दा बढी फिल्म, १ सय ४० जति टेलिफल्म र ५ दर्जनभन्दा बढी विज्ञापन फिल्ममा अभिनय गरे। ठूलो पर्दाको फिल्मको यात्रा भने उनले २०४१ सालमा निर्मित के घर के डेराबाट गरेका थिए।

१९९६ सालमा बृटिस सेनामा भर्ना भई २००२ सालमा भएको दोस्रो विश्वयुद्ध लडेर फर्केका भीमबहादुर तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले विश्वयुद्ध लडेर फर्केका र जागिर खाने चाहना भएकाको कदर गर्ने आह्वान गरेपछि २००२ सालमा नेपाली पल्टनमा भर्ना भएका थिए। उनको कलाकारिता पनि त्यहींबाट शुरू भएको थियो।