नेपाल समाचारपत्र, भरतपुर ।
चलन चल्तीको बाटो घटाएर महानगरको निती विपरित चार मिटर मात्रै बनाउने वडा अध्यक्षको गलत निर्णय सच्याउन निरन्तर दवाव दिइरहेका जगतपुर गौचरणका वासिन्दाले अभियानलाई संस्थागत बनाउँदै संगठित भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर– २३, गौचरणका वासिन्दाले “गौचरण संरक्षण तथा बाटो निर्माण पहल समिति” गठन गरेका छन् ।
स्थानीय वासिन्दाहरुको भेलाले शिवकान्त चालिसेको संयोजकत्वमा नौ सदस्यीय गौचरण संरक्षण तथा बाटो निर्माण पहल समिति गठन गरेको हो । समितिमा कवि श्रेष्ठ, शोभाखर पौडेल, सकुन्तला अधिकारी, माया आचार्य, सुमन गिरी, अन्जु चालिसे, विनोद शर्मा घिमिरे र यमनाथ गिरी रहेका छन् ।
समितिले चलन चल्तीको बाटो कायम गरी स्तर उन्नती गर्न सम्बन्धित निकायहरुमा निरन्तर पहल जारी राख्ने संयोजक शिवकान्त चालिसेले बताएका छन् । विगतमा विभिन्न नाममा गौचरण अतिक्रमण गर्ने तथा मास्ने प्रयास हुँदासमेत आफुहरुले त्यसको प्रतिकार गरी संरक्षण गर्दै आएको जानकारी दिँदै संयोजक चालिसेले अब गौचरणको दिगो संरक्षण गरी खेलकुद मैदानको रुपमा विकास गर्नका लागिसमेत वडा कार्यालय र भरतपुर महानगरपालिकासँग माग गरिएको बताएका छन् ।
गौचरणको दश मिटर भन्दा बढी चौडाई रहेको सो क्षेत्रकै सबैभन्दा पुराना मध्येको बाटो चार मिटर मात्रै कायम गर्ने गरी वडा नम्वर–२३ का अध्यक्ष नरि नारायण पौडेलले हालै निर्णय गराएका थिए । जगतपुरको खड्गौली चोकदेखि गौचरण हुँदै जाने सो बाटो १० मिटर भन्दा बढी चौडाइको छ । साना–ठूला नीजि सवारी साधनका साथै दैनिक सार्वजनिक बससमेत गुड्ने उक्त बाटो विगतमा स्थानीय निकायले मर्मत सम्भार गर्दै आएको बाटो हो ।
उक्त क्षेत्रका वासिन्दाको अनुपस्थिति र असहमतिमा वडा अध्यक्षले गत वैशाख १२ गते गौचरण क्षेत्रको बाटो चार मिटर मात्रै कायम गर्ने गरी निर्णय गराएका थिए । उक्त निर्णयप्रति स्थानीयले गम्भीर आपत्ति र असहमति जनाउँदै वडा कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन् ।
वडा कार्यालयले सोही निर्णयलाई कार्यान्वयनमा अगाडि बढाउने तयारी गरेपछि स्थानीयले वडा अध्यक्ष पौडेललाई ज्ञापनपत्र बुझाउँदै चलनचल्तीको फराकिलो बाटोलाई नै कायम गर्न माग गरेका थिए । ज्ञापनपत्रमा ‘महानगरपालिकाले भित्री बाटोसमेत कम्तीमा ६ मिटर कायम गराइरहेको अवस्थामा स्वयम् वडा अध्यक्षले चार मिटर बाटो कायम गर्ने गरी गरेको निर्णयले महानगरपालिकाकै ऐन, नियमको समेत बर्खिलाप गरेको छ तथा त्यसमाथि उक्त बाटो यस क्षेत्रकै महत्त्वपूर्ण र एक प्रमुख बाटो भएकोले कम्तीमा १० मिटर भन्दा कम कायम गर्नु कुनै पनि हिसाबले न्यायोचित र व्यवहारिक नभएको उल्लेख गरिएको थियो ।
“चलन चल्तीमा रहेको मुख्य बाटोलाई खुम्च्याएर महानगरपालिकाको नियम र यस क्षेत्रको आवश्यकता भन्दा सानो बनाउने वडा अध्यक्षको निर्णय गैर जिम्मेवारीपूर्ण र हास्यास्पद छ” समितिका सदस्य सकुन्तला अधिकारी भन्छिन्– स्थानीय वासिन्दाको सहमति नभई व्यक्तिगत मनोमानी लाद्ने वडा अध्यक्षको यस्तो निरङ्कुश कार्यशैली हामीहरुलाई कदापी स्वीकार्य छैन ।
चलनचल्तीमा रहेको फराकिलो बाटोलाई महानगरपालिकाको नीति, नियमलाई लत्याउँदै साँघुरो बनाउने कार्यले आफुहरु स्तब्धित भएको र सो निर्णयलाई कार्यान्वयन गर्नु एउटा गल्तीमाथि झन् अर्को ठूलो गल्ती हुने भएकोले समयमै वडा अध्यक्ष पौडेललाई सचेत गराइएको समितिका संयोजक चालिसेले बताए । उक्त बाटोबाट साना–ठूला नीजि सवारी साधनका साथै दैनिक सार्वजनिक बससमेत गुड्छन् ।
जगतपुरको कदम आधारभूत विद्यालय रहेको खड्गौली चोकदेखि गौचरणको सोही मूल बाटोले जगतपुरलाई केरुङ्गा खोलाको पुलबाट वडा नम्वर २४ हुँदै त्यस वरिपरिको क्षेत्र तथा मेघौलीसम्म जोडेको छ । त्यस क्षेत्रमा मानव बस्तीको विकास भएदेखि नै धेरै वर्ष अगाडिदेखि यो बाटो चलनचल्तीमा रहेको स्थानीयले बताएका छन् । उक्त बाटो त्यस ठाउँमा सदिऔँदेखि बसोवास गरिरहेका स्थानीय बासिन्दाका लागि मात्रै होइन त्यस क्षेत्रमा यातायात आवागमन तथा पश्चिम चितवन क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटकीय विकासका लागि समेत अत्यन्तै महत्त्वपूर्ण सरोकार राख्ने बाटो हो ।
धेरै लामो समयदेखि चलन चल्तीमा रहेको उक्त बाटोको स्तरउन्नती गरी कालोपत्रे गर्न वडा कार्यालय तथा जनप्रतिनिधिहरुलाई आफुहरुले पटक पटक आग्रह गर्दै आएको स्थानीय ऋषिराम पौडेलले बताए । उनी भन्छन्– ‘स्थानीय तहमा जनप्रतिनिधि आएको वर्षदिन वित्दासमेत चलन चल्तीको यति महत्त्वपूर्ण बाटो कायम गरी स्तरउन्नती गर्ने विषय त परै जाओस् चलन चल्तीको बाटोलाई थुनछेक गरेर बाटो नै साँघु¥याउने गरी स्थानीय वासिन्दाको तीब्र असहमतिकाबीच हाम्रो भावनामाथि नै प्रहार गर्नेगरी वडा अध्यक्षले गराउनुभएको निर्णयप्रति हामी यस क्षेत्रका वासिन्दाको गम्भीर आपत्ति र असहमति रहेको छ ।’
सदिऔँदेखि चलन चल्तीमा रहेको उक्त बाटोलाई कायम गरी स्तर उन्नती गर्नैपर्ने विषयमा हाल भरतपुर महानगरपालिका वडा नम्वर २३ का वडा अध्यक्ष रहेका नरिनारायण पौडेल तथा सबै उम्मेदवारहरुले गत स्थानीय तह निर्वाचनमा प्रतिबद्धतासमेत जाहेर गरेका स्थानीय वासिन्दाहरु बताउँछन् । पहल समितिका सदस्य यमनाथ गिरी भन्छन्– ‘निर्वाचन अघि वडा अध्यक्ष पौडेलले यहाँका वासिन्दाको बीचमा गएर चलन चल्तीको बाटोलाई कायम गरी स्तर उन्नती गर्ने प्रतिवद्धता जनाउनुभएको थियो, उहाँले अहिले एकाएक किन यस्तो निर्णय गर्नुभयो ? भन्ने विषयले हामी अचम्मित मात्रै भएका छैनौँ झस्किएका पनि छौँ ।’
विगतमा चितवन जिल्लाको नापी हुँदा गौचरण रहेका क्षेत्रमा चलन चल्तीको बाटोलाई कहिँकतै पनि बाटो कायम गरी अलग्गै छुट्याउने गरिएको थिएन । अहिले विभिन्न ठाउँमा बाटो निर्माण तथा स्तर उन्नती गरिदा चलन चल्तीमा रहेका सोही बाटोलाई कायम गरि स्तर उन्नती गरिदै आएकोमा भरतपुर–२३ का वडा अध्यक्ष नरि नारायण पौडेलले भने आफैले किचलो झिकेका भन्दै समितिका सदस्य शोभाखर पौडेलले चार मिटर मात्रै बाटो कायम गर्नेगरी गरिएको निर्णय सच्याउन र हाल चलन चल्तीमा रहेको बाटो कायम गर्नुपर्ने आफुहरुको माग महानगरपालिकाका मेयर रेणु दाहालसँगसमेत राखिएको र सकारात्मक आश्वासन पाएको बताएका छन् ।
भरतपुर महानगरपालिकाबाट उक्त बाटो कालोपत्रे गर्नका लागि बिनियोजन गरिएको रकम र योजना अनुरुप स्थानीय उपभोक्ताहरुकोसमेत पूर्ण सहभागितामा पारदर्शी रुपमा बाटोको स्तर उन्नती गरी तुरुन्त पिच बाटो निर्माण कार्य अगाडि बढाउनसमेत स्थानीयले माग गरेका छन् । गत साल उक्त बाटो पिच गर्नका लागि परेको बजेटसमेत वडा अध्यक्षले नक्सा नै नभएको अर्को बाटोमा लगेर लगानी गरेका भन्दै स्थानीयले यसको छानवीन गर्नसमेत महानगरपालिकालगायत सम्बन्धित निकायहरुसँग आग्रह गरेका छन् ।











प्रतिक्रिया