कृष्णउदास खनाल, वीरगन्ज ।
तस्करी गरेर भारत लैजाँदै गरेको १८ सय किलो मरिच पर्सा प्रहरीले बरामद गरेको छ ।
जिल्लाको विन्ध्यवासिनी गाउँपालिका ४ अमरपट्टीबाट १ हजार ८ सय ७५ किलो मरिच बरामद गरेको हो ।प्रहरीले ना. ३ त. २४३६ नम्बरको ट्याक्टरमा राखेर भारत लैजादै गरेको अवस्थामा मरिच बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए । बरामद गरिएको मरिच वीरगन्ज भन्सार कार्यालयमा पठाइएको उनले बताए ।
कन्टेनरमा जहाजमार्फत कलकत्ता हुँदै तेस्रो मुलुकबाट ल्याइने मरिच भारततिरै तस्करी हुने गरेको छ ।प्रहरीले ट्याक्टर चालक भारतको बिहार बेतिया जिल्ला सिक्टा थाना अन्तर्गत पुरैनिया ७ बस्ने ३२ बर्षको नन्दलाल यादवलाई समेत नियन्त्रणमा लिएको छ । बरामद गरिएको मरिच र चालकलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ ।आइतबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा वीरगन्ज महानगरपालिकाबाट ३० किलो मरिच र भन्सार छलेर ल्याएको अन्य सामान पनि बरामद गरेको जानकारी दिएको छ ।
यसैगरी वीरगन्ज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकबाट भन्सार छली समान ल्याउँदै गरेका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका ६ राईगाउँ बस्ने २८ वर्षीय मीनराज पोखरेल, भारतको कलकत्ता परगाना २१ बस्ने ३२ वर्षका सुभाजित चटर्जी रहेका छन् । उनीहरुको साथबाट भन्सार छली ल्याउँदै गरेको ९५ थान टप्स बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।











प्रतिक्रिया