झिलीमिली बन्ने तयारीमा डोटीको बोगटान गाउँपालिका



विमल विष्ट, डोटी ।
स्थानीय तहमा यतिबेला कसले कति काम गर्ने भन्ने होड नै चलेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरु आफ्नो क्षेत्रलाई थप व्यवस्थित बनाएर जनता रिझाउन लागि परेका छन् । डोटीस्थित बोगटान गाउँपालिकालाई आगामी असोजभित्रै उज्यालो गाउँपालिका बनाउने अभियानमा जनप्रतिनीधिहरु लागेर यस्तै उदाहरण पेश गरेका छन् ।

उनिहरु गाउँपालिकाका सबै वडामा केन्द्रीय लाइनको विद्युत सेवा पु¥याएर जनतालाई विकासको महशुस गराउन लागिपरेका हुन् । विगतमा गाउँलेको सक्रियतामा निर्माण भएको लघुजलविद्यतले गाउँपालिकाको ३ वटा वडामा मात्रै विद्युत सेवा उपलब्ध छ भने अन्य ४ वटा वडाका स्थानीय भने टुकीकै भरमा बस्न बाध्य छन् ।

सबै वडामा बिद्युत सेवा नभएपछि जनप्रतिनिधिहरुले क्षेत्रीय बिद्युत प्राधिकरणको सक्रियतामा केन्द्रीय लाइनको विद्युत ल्याउने तयारी थालेका छन् । आगामी असोज महिनाभित्रै सबै वडाहरुमा विद्युत सेवा उपभोग गर्न सकिने गरी काम अघि बढेको वडा नम्बर ६ का अध्यक्ष बिरेन्द्र चन्दले जानकारी दिनुभयो ।

१७ हजार जनसंख्या रहेको बोगटान गाउँपालिकाका सक्रिय युवाहरु पनि जनप्रतिनिधिको अभियानमा साथ दिएका छन् । बिचैमा पढाई छाड्ने, रोजगारीका लागि विदेश जाने र शिक्षित युवाहरुलाई रोजगारीको वातावरण सिर्जना गरी गाउँपालिकालाई बलियो, नमुना र शिक्षित बनाउने योजना पनि अघि सारेको छ ।

गाउँपालिकामा स्रोत साधनले भरिपूर्ण भएपनि विगतमा नेतृत्व विहीन भएकोले प्रयोग गर्न नसकिएको निर्वाचित जनप्रतिनिधिहरु बताउछन् । सबै मिलेर नमूना गाउँपालिका निर्माण गरी स्वरोजगार बन्ने गाउँपालिकाको लक्ष्य रहेको वडाअध्यक्ष चन्दले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्