एक वर्षमा १० लाख फ्रेन्चले चुरोट त्यागे

0
Shares

पेरिस, (एजेन्सी)
फ्रान्समा धुमपानकर्ताको संख्या दिनहुँ नाटकीय ढंगले घट्दै गइरहेको छ। सन् २०१६ देखि २०१७ सम्म गरिएको एक सर्भेक्षणमा १० लाख व्यक्तिले चुरोट पिउन छाडेको पत्ता लागेको छ। यस सर्भेक्षण गर्ने पब्लिक हेल्थ फ्रान्सले १ दशकमै पहिलो पटक यति ठूलो संख्यामा धुमपानकर्ता घटेको दाबी गरेको छ। साथै कम आयआर्जन गर्ने समूह र किशोर किशोरीमा पनि चुरोट पिउने लत घटिरहेको उक्त सर्भेक्षणले जनाएको छ।

फ्रान्समा धुमपानविरुद्ध लागू गरिएको नियम पनि यस संख्या घट्नुको प्रमुख कारण मानिएको छ। फ्रान्समा धुमपानविरुद्धको अभियानअन्तर्गत चुरोटको मूल्य उच्च गरिनुका साथै राष्ट्रिय सुर्ती मुक्ति महिनाको समेत आयोजना गरिएको थियो। सर्भेक्षणअनुसार सन् २०१७ मा २६ दशमलव ९ प्रतिशत १८ देखि ७५ वर्ष उमेरका व्यक्तिले दैनिकरुपमा चुरोट पिउने गर्दथे। त्यसको अघिल्लो वर्ष यो तथ्यांक २९ दशमलव ४ प्रतिशत रहेको थियो।

जसअनुसार उक्त अवधिभित्र चुरोट खानेको संख्या १३ लाख २० हजारबाट घटेर १२ लाख २० हजार पुगेको थियो। फ्रान्सका स्वास्थ्मन्त्री एग्नेस बुजिनले विशेष गरी कम आयआर्जन गर्नेहरुमाझ धुमपानकर्ताको संख्या घटेकामा खुसी र सन्तोष प्रकट गरेका छन्।

गतवर्षको अर्को एक अध्ययनले दशकौं लामो सुर्ती नियन्त्रण नीति कार्यान्वयनको बाबजुद पनि जनसंख्या वृद्धिका कारण धुमपानकर्ताको संख्या घट्न नसकेको जनाएकोे थियो। विश्वमा हुने १० वटा मृत्युमध्ये १ मृत्युको कारण धुमपान रहेको तथा चीन, भारत, अमेरिका र रसियामा भने ५० प्रतिशतको मृत्यु यसैको कारण हुने गरेको हेल्थ जर्नल लान्सेटले जनाएको छ।

प्रत्येक राष्ट्रैपिच्छे गरिएको विश्लेषणअनुसार धुमपानको महामारी धनी विश्वबाट कम आय तथा मध्यम आय हुने राष्ट्रतर्फ फैलिँदै गएको देखिन्छ। त्यसैगरी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चुरोटको बट्टामा चेतावनीस्वरुप चित्र राख्नाले मानिसलाई यसको कुलत छोड्न धेरै मद्दत पु¥याएको जनाएको छ। तर यो नियमलाई अहिले विश्वका ७८ वटा राष्ट्रले मात्र पालना गरिरहेकोे बताइएको छ।