मान्छेको अनुहार पढ्ने बजेट ल्याएको छु : अर्थमन्त्री

0
Shares

हेमन्त जोशी, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट शतप्रतिशत कार्यान्वयनमा ल्याइने दाबी गर्नुभएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजना गरिएको बजेटपछिको समीक्षा कार्यक्रममा अर्थमन्त्री खतिवडाले आफूले मान्छेको अनुहारमा केन्द्रित बजेट ल्याएको दाबी गर्दै त्यसको कार्यान्वयनमा कुनै कसुर बाँकी नराख्ने बताउनुभयो।
‘कतिपयले पुरानै तरिकाको बजेट भनेर आलोचना पनि गरेका छन् तर मैले यस बजेटलाई पहिलेको बजेटभन्दा नितान्त फरकरूपमा लिएको छु। हामीले मान्छेको अनुहार पढेर बजेट बनाएका छौं। मानिसको अनुहारमा खुसी र स्वाभिमान त्यस बेला झल्किन्छ जब हरेक व्यक्तिले आफ्नो रोजगारलाई सम्मानित महसुस गर्छन्।’ –अर्थमन्त्री खतिवडाले भन्नुभयो।

हरेक नागरिकको रोजगारी, स्वास्थ्य र शिक्षाको हकलाई बजेटमा प्राथमिकताका साथ समेटिएको उहाँको भनाइ छ।
अर्थमन्त्री खतिवडाले भन्नुभयो– ‘मुलुकको सबैभन्दा समस्याका रूपमा रहेको बेरोजगारीलाई हटाउन एक वर्षभित्रै २ लाख व्यक्तिलाई स्वरोजगार र ५ वर्षभित्र पूर्ण रोजगारी उपलब्ध गराउने हाम्रो लक्ष्य छ। एक स्वस्थ र शिक्षित व्यक्तिले मात्र स्वरोजगारमार्फत हरेक क्षेत्रमा उत्पादकत्व बढाएर आर्थिक समृद्धिको लक्ष्य प्राप्तिका लागि योगदान गर्न सक्छ।’

आगामी आर्थिक वर्षबाट बजेटलाई पूर्ण कार्यान्वयनमा लैजान मन्त्रालयले नै अनुगमनको कामलाई प्रभावकारी बनाउने तथा लगानी आकर्षित गर्न राज्यले व्यवसाय गर्ने वातावरण बनाउने उहाँको भनाइ छ। तर, व्यवसायीले पनि राज्य र जनताको पक्षमा हुने गरेर काम गर्नुपर्ने उहाँको भनाइ छ।

मुलुकभित्रै ठूलो मात्रामा रोगजारी सिर्जना गर्न निजी र सरकारी क्षेत्रको सहकार्य आवश्यक रहेको अर्थमन्त्री खतिवडाको भनाइ छ। स्वरोजगारमार्फत मुलुकको उत्पादकत्व बढाएर व्यापार घाटा न्यूनीकरण गर्न निर्यातमा आधारित अर्थतन्त्र आवश्यक रहेको भन्दै उहाँले निर्यात प्रवद्र्धन गर्ने खालका उद्योगमा लगानी गर्न आउने लगानीकर्तालाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न सरकार तयार रहेको धारणासमेत राख्नुभएको छ। एक दर्जनभन्दा बढी उपभोग्य सामानमा आत्मनिर्भर बन्ने योजनामा सरकार रहेको भन्दै त्यस्ता वस्तुका लागि लाग्ने करमा हेरफेर गर्ने योजनामा आफू रहेको उहाँको भनाइ छ।

‘बजेटमा वाम घोषणाअनुसार वृद्ध भत्ता नबढाए पनि १ रुपियाँ बराबरको ज्येष्ठ नागरिक बीमाको योजना ल्याएको र आगामी ५ वर्षभित्र सामाजिक सुरक्षा भत्तालाई पनि धोषणापत्रले सम्बोधन गरेबमोजिम बनाइनेछ।’ –खतिवडाले भन्नुभयो।
‘संयुक्त वाम घोषणापत्रमा भनेजस्तै वृद्वभत्ता आगामी ५ वर्षभित्र ५ हजार पुग्न सक्छ। तर उहाँहरूका लागि पहिलो तरणमा बिमा कार्यक्रम ल्याएका छौं। अब कोही कसैले बिरामी हुँदा उपचार नपाउने समस्या रहँदैन ’– उहाँले भन्नुभयो। उहाँले सरकारले पहिलो वर्ष बिमा योजना, केही वर्षपछि आवाज योजना र ५ वर्षभित्र घोषणापत्रका सबै विषयलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धतालाई समेत दोहो¥याउनु भएको छ। घोषणापत्र बनाउँदा नै आफु त्यसको महत्वपूर्ण सदश्य रहेकाले कार्यान्वयन गर्न नसकिने र लोकप्रियताका लागि मात्र कुनै कार्यक्रम घोषणापत्रमा नराखिएको उहाँको भनाइ छ।

अर्को महत्वपूर्ण कार्यक्रमका रूपमा सरकारले बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने योजना ल्याएको छ। प्रमाणपत्र धितो राखेर कुन आधारमा कर्जा प्रवाह गर्न सकिन्छ भन्ने अहिलेको अन्योलता हटाउन ऋण दिने र लिने दुवैको सुरक्षण हुने गरी सरकारले कार्यविधि बनाउने तयारी गरिरहेको छ। शैक्षिक प्रमाणपत्र राखेर ऋण लिएपछि ऋण नतिरेको खण्डमा राहदानी जफत गर्ने, विदेश जानबाट रोक्ने र मनदानको अधिकारबाट समेत वञ्चित गर्न सकिने अर्थमन्त्री खतिवडाले बताउनुभयो।