ताछेको खुट्टा र टेम्पुको इन्जिन ! जेट उडानमा हरक्षण चिन्तन

0
Shares

बालकृष्ण मैनाली

प्रत्येक वर्षको ३ जेठ दुःखद स्मरण गरिने दिन भए पनि नेपालको ५६ वर्षको इतिहासमा ३ जेठ २०७५ चाहिँ दुःखद स्मरणको साथसाथै एक ऐतिहासिक दिन पनि बन्न पुगेको छ। अर्थात् २०१९ सालदेखि फुटको संघारमै विभिन्न रूप र द्वन्द्वमा रुमल्लिँदै आएका विभिन्न कम्युनिस्ट विचारधारामा आश्रित दुई दलहरूले प्रत्येक वर्ष स्मरण गरिने मदन भण्डारी र जीवराज आश्रितको स्मरण पुण्यतिथिमा एकताबद्ध भएको सार्वजनिकरूपमा घोषणा गरे।

नेपालमा २०४६ सालपछिको दलीय इतिहासलाई हेर्दा कुनै पनि दलमा सामान्य विवादको जन्म हुनासाथ सो विवादलाई आपसमा मिलाउनुको साटो टुक्रा गराइछाड्ने प्रवृत्ति हाबी भएको नेपाली जनतासँग अनुभव छ। चाहे त्यो कांग्रेसमा होस् या कम्युनिस्टमा चाहे हिन्दू राजसंस्थाको हिमायती ठानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नै किन नहोस्। जुट्नलाई जति माथापच्चिसी गर्नुपर्दछ, फुट्नलाई कतै माथापच्चिसी गर्न पर्दैन।

एक–आपसमा स्वार्थ बाझिनासाथ र बाझिएको स्वार्थलाई आफ्नो अनुकूल खेलाउन चाहने स्वदेशी वा विदेशी शक्तिले सामान्य चलखेल गर्नासाथ दलहरू टुक्रिन केही बेर पनि लाग्दै लाग्दैन। हालै जुट्ने सवालमा भएका माथापच्चिसीहरू अहिले भएको एकतामा पनि थुप्रै पटक भएको हो। एकतापछि पनि टुक्र्याउने सवालमा अभैm दुबैतिर माथापच्चिसे गर्नेहरूको क्रियाकलापका समाचारहरू सार्वजनिक भैरहेका छन्।

नेपालमा विशेषरूपमा देखिएका कांग्रेस, कम्युनिस्ट र राजतन्त्रको समाप्तिपछि उदाएका राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत गरी तीन दलको देशमा वर्चश्व कायम भएको देखिएको थियो। यी तीनै दलहरूको विगतमा भएका टुटफुट र जोडघटाउको इतिहास बेग्लै छ। यिनीहरूले सबैले बेलाबेलामा आ–आफ्नो गुटको स्वार्थको लागि आ–आफ्नो दल फुुटाउने कार्य गरेर आएकै हुन्। यस विषयमा जनता पूरा जानकार रहेका छन्।

हालै भएको वाम एकताले पुनः यस्तो नियती भोग्नु नपरोस्। यो एकतामा प्रायः सबै जनमतलगायत अन्य दलहरूको पनि शुभेच्छा देखिएको छ। मुखले भाषणमा जे–जस्ता प्रतिक्रिया व्यक्त भए तापनि देश विकासको विषयलाई गएका दिनहरूमा विभिन्न दलका सरकारहरूले हालसम्म अर्थपूर्णरूपमा सम्बोधन हुन नसकेको तथ्यहरूलाई रुन्चे स्वरबाट आत्मसात् गरिसकेका छन्। यस अर्थमा पनि यो एकताले अबको केही वर्षभित्र देशमा परिवर्तन भएको कुरा जनतालाई मात्र होइन, विश्वलाई पनि सप्रमाण देखाउनु अनिवार्य भैसकेको छ।

धेरै ठूलो उपलब्धि देखाउन नसके पनि कम्तीमा अबचाहिँ देशले विकासको गति लियो भन्ने कुराचाहिँ प्रमाणित गराइछाड्नुपर्छ। नेपालमा भ्रष्टाचार गरिने कार्यमा धेरै प्रतिशत कमी आयो, तस्करहरूको मनोबल गिरेको छ, गैरकानुनी सिन्डिकेटको अन्त्य भएको छ, कानुनको शासन स्थापना भएको छ, लगानीकर्ताहरूको लगानी डुब्दैन। वैदेशिक सहयोगको पूरापुर पारदर्शितासहित सदुपयोग हुन थालेको छ, यी कुराहरू अबको केही वर्षभित्र हुन सक्यो भने मात्र यो वाम एकताको सार्थकता झल्किनेछ।

सरकारले नागरिकलाई दिने सेवा–सुविधामा विनाभेदभाव पारदर्शितासहित विनाझन्झट गुणस्तर सेवा प्रदान गर्न थालिहाल्नुपर्छ। स्थानीय निकाय निर्वाचन भएको एक वर्ष बितिसक्दा यस किसिमका कामको संकेतसम्म देख्न पाइएको छैन। उल्टै सेवाग्राहीलाई बाध्यतामा पारी घूस लिने कार्यहरू भैरहेकोबारे सञ्चारहरूमा समाचारको रूपमा छाइरहेका छन्। वडा–वडामा वा गाउँपालिकामा नागरिक बडापत्रको सूचना पाटी टाँगेर मात्रै सेवाग्राहीले उत्तम सेवा प्राप्त गर्न सक्दैनन्।

त्यसको लागि व्यवहारमै प्रतिबद्ध भएर देखाउनुपर्दछ। नागरिक बडापत्रमा उल्लेख भएका कुराहरू अक्षरश पालना भएका छन् भन्ने कुराहरू सेवाग्राहीको मुखबाट आउनुप¥यो अनि मात्र सरकारको उपस्थिति रहेको अनुभूति हुनजान्छ। साँच्चै भन्ने हो भने, अब स्थानीय निकायले काम गर्ने अवधि तीन वर्ष मात्र हो। पाँचबर्से म्यान्डेट पाएको स्थानीय जनप्रतिनिधिको एक वर्ष त बितिसक्यो। पछिल्लो एक वर्ष त आउने अर्को निर्वाचनमा कसलाई टिकट दिने र नदिने, को–कस्तो भन्दै रडाको गर्दै बित्छ। त्यसकारण अब विशुद्ध सेवाग्राहीलाई सेवा प्रदान गर्ने समय भनेको बाँकी तीन वर्ष मात्र हो।

निर्वाचनपूर्व नै वाम एकता गरी संयुक्तरूपमा निर्वाचनमा जाने लक्ष्य थियो। सो असफल भयो। निर्वाचनपश्चात् भए पनि एकता प्रक्रिया टुंगिएको छ। तथापि एकता प्रक्रियाको माहौल चलिरहँदा देखिएको प्रत्यक्ष प्रसारणमा भएका केही त्रुटि र एकता घोषणापछि भएका बालुवाटारको भोजभतेरबारे केही टिकाटिप्पणी भएका छन्। सो टिकाटिप्पणीलाई वर्तमान वाम एकताले शिक्षाको रूपमा लिनुपर्ने आवश्यकताको बोध हुनुचाहिँ जरुरी देखिएको छ। वाम एकताको प्रत्यक्ष प्रसारणमा जिम्मेवार नेताहरूले आफ्नो मन्तव्य दिइरहेको अवस्थामा पटक–पटक माइकको समस्या देखा प¥यो। बेलाबेलामा नेताहरूले बोलेका कुराहरू अवरुद्ध हुन पुग्यो। हेर्दा सामान्य त्रुटिजस्तो देखिएको भए तापनि यसलाई व्यवस्थापनको गम्भीर कमजोरी भएको मानिनुपर्दछ। यस किसिमको त्रुटि अब दोहोरिनुहुँदैन।

चर्चा–परिचर्चा भएको अर्को महत्वपूर्ण पाटो के हो भने, वाम एकताको लागि गरिएको समय किटान र वाम एकतापछि सोही दिन गरिएको रात्रिभोज त्यति सुहाउँदो नभएको टिप्पणी बाहिर आएको छ। वाम एकताको लागि छनौट भएको मिति जेठ ३ गते भनेको कम्युनिस्ट पार्टीका मूर्धन्य दुई नेताहरू मदन भण्डारी र जीवराज आश्रितलाई सम्झिने दिन हो। यसर्थ कम्तीमा घोषणासभामा वहाँहरूको सम्झनामा एक मिनेटको मौनधारण राखिदिएर अनि वाम एकताको पक्षमा एक मिनेटको ताली राखिएको भए सुनमा सुगन्ध हुने थियो। वाम एकताको घोषणासभामा यो अवसरलाई गुमाएको देखियो। मात्र एक मिनेटसम्म खुशीयालीमा तालीको गडगडाहटको उपस्थिति देखियो। मौनधारणको विषयलाई ओझेलमा पारियो।

अनि सँगसँगै हालसम्म राजनीतिक वृत्तमा चर्चा चलिनै रहेको, निर्वाचनमा जनताको मत आकर्षित गर्न आवश्यकताअनुसार दासढुंगा घटनालाई कहिले दुर्घटनाको रूपमा परिभाषित गर्ने त कहिले हत्याको रूपमा परिभाषित गर्ने काम बारम्बार भैरहेको विषयमा वाम एकताको घोषणासभामा वास्तविकता के हो, प्रस्ट पारिनुपथ्र्यो। यो विषयका लागि त्यहाँ स्थान प्राप्त हुन सकेन, जसले धेरै शुभेच्छुकहरूलाई दुःखी तुल्यायो। अनि त्यससँगसँगै सोही दिन बालुवाटारमा भोजसमेतको आयोजना गरियो। कुनै खुशीयाली वा पर्वमा सुखको साटासाट गर्न भोजको आयोजना गरिनु नराम्रो पटक्कै होइन। वाम एकता कम्युनिस्ट विचारधारामा लागेका व्यक्तिहरूका लागि र वाम एकता होस् भन्ने चाहना राख्नेहरूका लागि पक्कै पनि वाम एकता घोषणाको दिन खुशीको दिन हो नै, तर भोजचाहिँ भोलिपल्ट वा पर्सिपल्ट गरेको भए केही बिग्रँदैनथ्यो। किनकि जेठ ३ भनेको मदन र आश्रितलाई सम्झने दिन हो।

वाम एकताका दुई अध्यक्षमध्ये एक अध्यक्षले वाम एकता हुनुअघि कथंकदाचित वाम एकताका लागि केही गरी जुत्ता सानो भई खुट्टा छिराउन समस्या देखा परेमा आफ्नै खुट्टा ताछेर भए पनि जुत्ता लगाइछाड्नुपर्ने अभिव्यक्ति सार्वजनिक भएअनुसार पक्कै पनि अध्यक्षद्वयले आ–आफ्नो खुट्टा ताछेरै जुत्ता लगाएका छन्। आजको दिनसम्म आइपुग्दा ताछिएको खुट्टामा खासै केही असर देखा परेको त छैन तर यदाकदा दुवै दलमा रहेका केही अहंवादी काँडाहरूले घोच्न खोजेको हो कि भन्ने कता–कता आभासचाहिँ देखा पर्न थालेको छ। केही महत्वपूर्ण विषयहरूमा परिवर्तनका संकेतहरू देखिन थालेको भए तापनि विभिन्न नामधारी काँडाहरूले आ–आफ्नो स्थानबाट घेरिराखेको हुनाले बेलैमा सतर्क रहन अति आवश्यक छ।

यातायातको सिन्डिकेट, वैदेशिक रोजगारसम्बन्धी सिन्डिकेट र तस्करीका सिन्डिकेटहरू मास्न सरकार जसरी लागिपरिरहेको छ त्यसमा किञ्चितरूपमा पनि कमी आउन दिनुहुँदैन। सुन तस्करी प्रकरणमा त गठित समितिले गरेको कामलाई जनताले सराहनीय नै ठानेका छन्। जेठ मसान्तसम्म कायम रहेको यो समितिलाई आवश्यकताअनुसार म्याद थपेर अझ पूरा शक्तिशाली बनाउन पहल गर्नै पर्दछ। यस समितिलाई तस्करीमा संलग्न देखिएका जुनसुकै निकायका र ओहदाका व्यक्तिलाई पनि कानुनी कठघरामा उभ्याउन सक्ने भिटामिन प्रदान गरिनै पर्दछ। जबसम्म यस्ता किसिमका तस्करीहरूको सम्पूर्ण जालो तोडिँदैन तबसम्म समितिलाई निष्क्रिय बनाइनुहुँदैन अर्थात् म्याद थप्न कन्जुस्याइँ गर्नुहुँदैन। समितिका सदस्यहरू अझ अपुग लागे इमानदार सदस्यहरू थपी अनुसन्धानलाई तीव्र बनाइनुपर्दछ। जनताको हितका निमित्त केही कदम चाल्दा यदाकदा ताछेको खुट्टामा काँडाले कोर्ने प्रयास गर्न सक्छ। कथंकदाचित काँडाले कोतरिहालेमा बेलैमा आवश्यक मलहम पट्टीहरू पनि व्यवस्थापन गरेर यथास्थानमा राख्नु उपयुक्त हुन्छ। काँडाहरूले कोतरेको बेलामा बेलैमा मलहमपट्टी नलगाई त्यत्तिकै छोडियो भने पछि गएर क्यान्सरको रूपधारण गर्न सक्छ भन्ने कुरालाई हृदयंगम गरी बेलैमा सचेतना अपनाउनु बुद्धिमानी हुनेछ।

खुट्टा ताछेरै उडाइएको जेटसम्बन्धमा पक्ष–विपक्षमा धारणाहरू सार्वजनिक भैरहेका छन्। जेट विमान भए पनि इन्जिनचाहिँ टेम्पुको रहेको धारणा पनि सार्वजनिक भएको छ। यस्ता विषयलाई पनि गम्भीरतापूर्वक पाइलटद्वयले विचार पु¥याउनुपर्ने हुन्छ। वास्तवमा करिस्मा त्यति बेला हुन्छ जहाँ टेम्पुको इन्जिनले जेट उडाउन सफल भइन्छ। जेटकै इन्जिनबाट जेट उडाउन गाह्रो होइन, गाह्रो त टेम्पुको इन्जिनले जेट उडाउनु हो। चालकद्वयले के विचार गर्नुपर्छ भने, कथंकदाचित जेट दुर्घटनामा प¥यो भने चालकलाई मात्रै आघात पुग्ने होइन, त्यो जेटमा अरू पनि सवार भएका छन्, दुर्घटना भएमा अरू पनि आघात हुन्छन्। टेम्पुकै इन्जिन प्रयोग गरेर उडाइएको जेट भए पनि चालकद्वयले सफलतापूर्वक उडान एवम् अवतरण गरी परिवर्तनको अनुभूति गराउन सक्नुपर्छ।
(लेखक अधिवक्ता हुनुहुन्छ।)