सरकारले सपना देखेको छ, पूरा गरेर छाड्छ: ओली


नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको विकास र समृद्धिका लागि सपना देखेको बताउनुभएको छ। आफूले राम्रो कुरा गर्दा पनि विपक्षीले हावामा उडाएको भन्दै उहाँले पानीजहाज र रेल ल्याइछोड्ने बचनबद्धता दोहो¥याउनुभएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि जवाफ दिने क्रममा ओलीले सरकारले देश र जनताको चाहनाबमोजिम काम गरेको र सबैलाई समान व्यवहार र सम्मान गरेको पनि जनाउनुभयो। सरकार सबैखाले विभेद, असमानता, कुसंस्कारको अन्त्य गर्न तत्पर भएको भन्दै प्रधानमन्त्री ओलीले सरकार र मन्त्रीहरू खेल मैदानमा खेल्ने एउटा खेलाडीमात्र नभएको र नयाँ गन्तव्य कोर्न सक्ने प्रशस्तै आधार आफूहरूसँग भएको बताउनुभयो।

‘सरकार जनताको शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षाजस्ता विषयमा चिन्तित छ’, ओलीले भन्नुभयो– ‘विपक्षीहरूले केही विषय नपाए पनि अनेक कुरा खोजेर केही भए पनि जबरजस्ती बोल्नुभएको छ, सरकारले खासै नराम्रो गरेजस्तो उहाँहरूलाई पनि लागेको रहेनछ। त्यसैले आशा छ विपक्षीको पनि यो सरकारलाई समर्थन छ।’

सरकारले महिला हिंसा गर्ने, सरकारी जग्गा जमिन दुरुपयोग गर्ने, लागूऔषधको कारोबार गर्नेविरुद्व सरकार कडाइका साथ लाग्ने ओलीले प्रस्ट पार्नुभयो। जीवनोपयोगी शिक्षा प्राप्त गर्ने नागरिकको हकअधिकार सरकारले सुरक्षित गरिदिएको पनि बताउनुभयो।

प्रधानमन्त्रीले सीमानामा बाँध बाँधेर नेपाल डुबाउने काम रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वच्छ हावा लिने र स्वच्छ श्वास फेर्ने नागरिकको चाहनालाई सुरक्षित गर्ने सरकारको भनाइ थियो।

भूकम्पले भत्काएका काष्ठमण्डप, रानीपोखरी, धरहरा निर्माण गर्ने भन्दै ओलीले विगतको सरकारले केही पनि नगरेको बरु आफूले भने केही शुरूआत गरेको दावी गर्नुभयो।

ठीक १ घण्टा ३० मिनेट लामो जवाफमा अधिकांश समय अरूलाई गाली गर्न र उखान टुक्कामै रमाउनुभएका ओलीले जनताको समर्थन वर्तमान सरकारलाई भएकाले पटकपटक खबरदारी गरिरहेकोमा खुसी लागेको बताउनुभयो। ‘३ वर्षमा भूकम्पले क्षतिग्रस्त संरचना किन बनेन भनेर हिजोको सरकारलाई कसैले प्रश्न गरेन तर ३ महिनामा किन भएन भनेर प्रश्न गर्नु स्वाभाविक हो हामीप्रति कति धेरै आशा रहेछ’ –ओलीले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो। सरकारले सरकारी संयन्त्र पनि चुस्तदुरुस्त पार्ने जनाएको छ।

प्रधानमन्त्रीले वैदेशिक रोजगारका नाममा ठगी गर्नेलाई कारबाही शुरु गरिएको र देशको हितविपरीत जाने जोसुकैलाई पनि कानुनी कारबाही गरिने जनाउनुभयो। सुन तस्करी गर्नेलाई पक्राउ गरेर बयान लिइरहेको बताउँदै ओलीले जुनसुकै बस्तु वा बाटोबाट चोरी र अनियमितता गर्नेलाई कारबाही गर्ने सरकारको अठोट रहेको प्रस्ट पार्नुभयो।

 

नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

काठमाडौं, (नेस)
सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम पारित भएको हो।

नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)को असन्तुष्टि रहेको थियो। यी २ पार्टीले संशोधनको सूचना राखे पनि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएको थियो। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी २३ जनाका ६ वटा संशोधनका सूचना दर्ता भएका थिए।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो। प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसद डा. मीनेन्दप्रसाद रिजाल र राजपाका सांसद अनिलकुमार झाले संशोधनलाई निर्णयार्थ प्रस्तुत गराउनुभएको थियो। संशोधन बहुमतले अस्वीकृत भयो।

संघीय समाजवादी फोरम नेपालका सांसदहरू प्रदीप यादव, राम सहायप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र रेनुका गुरुङले विभिन्न बुँदामा संशोधनको सूचना दर्ता गराउनुभएको थियो।

प्रदीप यादवको तर्फबाट सांसद् उमाशंकर अरगरियाले संशोधन फिर्ता लिनुभएको थियो। प्रधानमन्त्रीले जवाफ दिइसकेपछि पनि सांसद्हरू भरतकुमार साह, सञ्जयकुमार गौतम, महेन्द्र राय यादव, राम सहायप्रसाद यादव, अमरेशकुमार सिंह, डा. मीनेन्द्रप्रसाद रिजाल, दीलेन्द्रप्रसाद बडु, पार्वती डीसी चौधरी, सरिता गिरीलगायतले जवाफ चित्तबुझ्दो नभएको भन्दै पुन स्पष्ट पार्न माग गर्नुभएको थियो, संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्नुअघि प्रधानमन्त्रीले जवाफ दिनुभएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सोमबार संघीय संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट संसद्मा ३ दिनसम्म छलफल भएको थियो। सत्तापक्षले नीति तथा कार्यक्रम प्रभावकारी भएको बताएका थिए भने विपक्षी दलका सांसद्हरूले नीति तथा कार्यक्रमप्रति आपत्ति जनाएका थिए।

सरकारले भोलि (मंगलबार) दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७५÷०७६ को वजेट सार्वजनिक गर्दै छ।