विद्यार्थी भर्ना अभियान २०७५, ५० प्रतिशत विद्यार्थी अझै विद्यालयबाहिर


ईश्वरराज ढकाल, काठमाडौं
प्राथमिक तहमा विद्यालयबाहिर रहेका ८८ हजार बालबालिकालाई लक्षित गरी शुरू गरिएको यो वर्षको भर्ना नारामा नै सीमित भएको छ। सरकारले तामझामका साथ शुरू गरेको अभियानमा ५० प्रतिशत बालबालिका पनि विद्यालयको सम्पर्कमा नआएको एक अध्ययनले देखाएको छ।

सरकारले एक महिनादेखि बडो तामझामका साथ भर्ना अभियानको प्रचार गरेको थियो। अभियानमा प्रधानमन्त्री र सबै मन्त्री, प्रदेश, स्थानीय तह, मुख्यसचिव, सचिव, विभिन्न निकायका उच्च अधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

यति धेरै तामझामसहित व्यापक प्रचार गरे पनि विद्यालयबाहिर रहेका करिब ३४ हजार ३ सय बालबालिका मात्र विद्यालयमा भर्ना भएका छन्। प्राथमिक तहका अझै ५४ हजार बालबालिका विद्यालयबाहिर नै रहेको सरकारी आँकडाले नै देखाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा महोत्सवमा पुगेर दुई विद्यार्थी भर्ना गरी अभियान शुरू गर्नुभएको थियो। लगत्तै प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, ऊर्जामन्त्री वर्षमान पुन, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, वन तथा वातावरण मन्त्री शक्ति बस्नेतलगायतले अभिभावकत्व ग्रहण गरेका थिए।

सबै प्रदेशका मुख्य मन्त्री, प्रदेशमन्त्रीसहित अधिकांश मन्त्री, मुख्य मन्त्री लोकदर्शन रेग्मी, शिक्षा सचिव खगराज बराल, सबै मन्त्रालयका सचिव, कलाकार, बुद्धिजिवीलगायत ३ सय ८१ जनाले अभिभावकत्व ग्रहण गर्दै विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गरेका थिए।

मन्त्री परिषद्को बैठकले भर्ना अभियानमा सक्रियताका साथ सहभागी भएर अभिभावकत्व ग्रहण गर्ने निर्णयसमेत गरी शुरु भएको अभियान लगभग असफल भएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता वैकृष्ठ अर्यालले अभियान सफल भएको दाबी गर्दै विद्यालयबाहिर रहेका बालबालिकाहरू विद्यालय आउने क्रम जारी रहेको बताउनुभयो।

उहाका अनुसार यो वर्ष कक्षा १ मा करिब ८ लाख विद्यार्थी भर्ना भएका छन्। नेपालमा कक्षा १ देखि १२ सम्म ७२ लाख ४८ हजार २ सय ८५ विद्यार्थी छन्।

सरकारको मुख्य लक्ष्य कक्षा १ मा भर्ना हुन नपाएका ८८ हजार २ सय ७ र आधारभूत तहमा ३ लाख १३ हजार २ सय ८९ विद्यार्थीलार्ई विद्यालय ल्याउनुरहेको थियो।

यी विद्यार्थीलाई विद्यालयभित्र प्रवेश गराउन सरकारले भर्ना अभियान शुरु गरेको थियो। शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विद्यालय बाहिर रहेका सम्पूर्ण बालबालिकालाई विद्यालयभित्र ल्याउन नसकिए पनि समग्रमा भर्ना भएका विद्यार्थीको संख्या बढेको बताउनुभयो। उहाले भन्नुभयो– विद्यालय बाहिर रहेका बालबालिकालाई कसरी विद्यालयमा ल्याउने भन्ने विषयमा थप गृहकार्य भइरहेको बताउनुभयो।

शिक्षा मन्त्रालयका प्रवक्ता अर्यालले विद्यालय बाहिर रहेका बालबालिका विद्यालय आउन नसक्नुको विषयमा सघन अध्ययन गरिने बताउनुभयो। विद्यालय बाहिर रहेका विद्यार्थीलाई भर्नासंगै हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले भर्ना अभियान थालेको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक अपिल गर्दै विशिष्ट व्यक्तिहरूले विद्यालय बाहिर रहेका बालबालिकाहरूको पहिचान गरी विद्यालय भर्ना गराउने वातावरण मिलाइदिन आग्रह गर्नुभयो। शैक्षिक तथ्याङ्क २०७४ अनुसार प्राथमिक तहमा भर्ना दर राष्ट्रिय औसतको ९७ दशमलब २ प्रतिशत रहेको अवस्थामा २ दशमलब ८ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिर छन्।

आधारभूत तह (कक्षा १–८) को (५–१२ वर्ष उमेर समूहको) भर्ना दर राष्ट्रिय औसत ९२ दशमलब ३ प्रतिशत रहेकोमा ७ दशमलब ७ प्रतिशत बालबालिकाहरू विद्यालयबाहिर छन्।

सर्लाही, धनुषा, रौतहट, पर्सा, वारा, मोरङ, सिराहा, महोत्तरी, बाके, रूपन्देही, सुनसरी, सप्तरी र कपिलवस्तुमा सबैभन्दा बढी बालबालिकाहरू विद्यालयबाहिर छन्। अभियानमा ४० हजारको संख्यामा रहेका गैरसरकारी संस्था, सबै प्रदेश सरकार, स्थानीय निकायहरू भर्ना अभियानमा सहभागी भएका थिए।