नेपाल समाचारपत्र
काठमाडौं
काभ्रेको खोपासीमा रहेको २ दशमलव ४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत् गृहलाई शैक्षिक ग्रामको रूपमा विकास गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत् गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रको रूपमा प्रयोग तथा विकास गर्ने गरी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
धुलिखेलमा बिहीबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकूलपति प्राडा रामकण्ठ मकाजू श्रेष्ठले एमओयूमा हस्ताक्षर गर्नु भएको हो।
एमओयूको म्याद १० वर्षसम्म रहने छ। दुवैको सहमतिमा एमओयूको म्याद थप्न सकिने व्यवस्था गरिएको छ। तीन महिनाको सूचना दिएर एमओयू खारेज गर्न सकिने छ।
एमओयू बिहीबारबाटै कार्यान्वयनमा आएको छ। प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी विद्युत् गृहको सदृढीकरण, नयाँ संरचना निर्माणलगायतका सम्पूर्ण काम विश्वविद्यालयले गर्ने छ। विद्युत् गृहबाट अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्वविद्यालयले त्यस्ता संरचनाको प्रयोग गर्नेछ। विद्युत् गृहबाट गत वर्ष २६ लाख ३० हजार युनिट विद्युत् उत्पादन भएको थियो। विद्युत् गृहको सञ्चालन भने प्राधिकरणले नै गर्नेछ।
विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल जलविद्युत्लगायतका इन्जिनियरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि जस्ता शैक्षिक कार्यक्रम तथा तालिम सञ्चालनका लागि विद्युत् गृहको स्वामित्वमा रहेका संरचना र जग्गाको प्रयोग गर्नेछ। विद्युत् गृहका टर्वाइन, जेनेरेटर, नहरलगायतका संरचनाको सुदृढीकरण विश्वविद्यालयले आफ्नै खर्चमा गर्ने व्यवस्था एमओयूमा गरिएको छ।
प्राधिकरण र विश्वविद्यालयले ज्ञान तथा सीप साटासाट गर्न संयुक्तरुमा तालिम, सम्मेलन, कार्यशाला, शैक्षिकलगायतका कार्यक्रम सञ्चालनबाट नाफा प्राप्त भएमा त्यसको १० प्रतिशत प्राधिकरणले पाउने व्यवस्था गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वविद्यालयले आफ्नै खर्चमा विद्युत् गृहको क्षमता स्तरोन्नती गर्ने, अहिले त्यहाँ रहेका संरचनाको सुदृढीकरण तथा नयाँ बनाउनेलगायतका काम गर्ने जानकारी दिनुभयो।
‘सुख्खायामको ऊर्जा बढाउन विद्युत् गृहभन्दा तल रहेको सोलान्दुलगायतका खोलाखोल्सीको पानी पम्प गर्नेलगायतका सम्भावना विश्वविद्यालयले आफ्नै खर्चमा खोजी गरी आवश्यक संरचना निर्माण गर्ने छ,’ उहाँले भन्नुभयो–‘प्राधिकरणलाई आतिरिक्त वित्तीय दायित्व सिर्जना नहुने गरी विश्वविद्यालयले विद्युत् गृहलाई जलविद्युत्, वायु र सौर्य ऊर्जाको हाइब्रिड हबको रूपमा विकास गर्ने छ।’
कार्यक्रममा उपकूलपति प्राडा रामकण्ठ मकाजू श्रेष्ठले विद्युत् गृहलाई विश्वविद्यालयले ज्ञान र सीप आर्जन गर्ने थलोको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो।‘विद्युत् गृहलाई सुधार गर्न गर्नुपर्ने काम धेरै छन्, दुई वर्षभित्रै सबै काम सकी विद्युत् गृहलाई सिकाईका लागि उत्कृष्ट थलोको रूपमा विकास गर्ने छौं,’ उहाँले भन्नभयो–‘विद्युत् गृहलाई इन्जिनियरिङ अध्ययनका लागि शैक्षिक ग्राम बनाउने छौं।’
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् सेवा प्रदायक र विश्वविद्यालयबीच विद्युत गृह शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने गरी एमओयू हुनु सुनौलो अवसर भएको बताउनुभयो।
प्राधिकरणले फर्पिङ, सुन्दरीजल जस्ता ऐतिहासिक विद्युत् गृह विश्वविद्यालयलाई शैक्षिक प्रयोजनका लागि प्रयोग गर्न दिने तयारी गरेको छ। नेपालको पहिलो विद्युत् गृह फर्पिङलाई त्रिभुवन विश्वविद्यालयलाई दिने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। सरकार र तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा पनौती विद्युत् गृहको निर्माण भएको थियो। विद्युत् गृह ३१ असार २०२२ बाट सञ्चालनमा आएको थियो।
प्रतिक्रिया