अर्थतन्त्रको मुख्य इन्जिन हो आईसीटी

376
Shares

निरन्तरको मेहनत, कामप्रतिको लगाव र इमान्दारिता नै सफलताका आधार हुन भन्ने कुराको उदाहरण बन्नुभएको छ आईसीटी विज्ञ तथा कम्प्युटर एसोसिएसन नेपाल महासंघका पूर्वउपाध्यक्ष नारायण न्यौपाने। नेपालमा सूचना प्रविधिको क्षेत्रमा झन्डै २ दशकको अनुभव संगाल्नुभएका उहाँले कामलाई सम्मान गर्ने र इमान्दारीतालाई प्राथमिकता दिने बताउनुहुन्छ। काम गर्न उमेर होइन इच्छाशक्ति चाहिन्छ भन्ने विश्वको भोगाइले यही पाठ सिकाउँछ।

रूपन्देहीको साविकको दूधरक्षा गाविसमा जन्मिएका उहाँको विद्यालय शिक्षाको यात्राले धेरै ठाउँको अनुभव पाएको छ। उहाँलाई पुख्र्याैली पेसा कृषि व्यवसायले कहिल्यै आकर्षित गर्न सकेन। बाबुबाजेको पदचापलाई चटक्क छोडेर उहाँले अहिले एउटा छुट्टै मार्गमा आफूलाई हिँडाइरहनुभएको छ। उच्च शिक्षाका लागि राजधानीमा आउनुभएका उहाँलाई सूचना प्रविधिमा रूचि बढ्दै गयो। उहाँले भनेको जस्तो माहोल पनि बन्दै गयो। ‘दियर इज नो सब्स्टिट्यूट फर हार्डवर्क’ (कडा परिश्रमको कुनै विकल्प छैन), प्रसिद्ध वैज्ञानिक थोमस एल्बा एडिसनको कामप्रतिको धारणा हो यो।

आखिर मेहनत गर्नेका लागि काम नै सबैथोक हो। काम गर्नेहरू नाम खोज्दैनन्, बरु काम नै उनीहरूको परिचय बनेको हुन्छ। सूचना प्रविधिमा पनि फरक परिवेश र जिम्मेवारीमा अहिलेसम्म आधा दर्जनभन्दा बढी क्षेत्रमा कामको अनुभव सँगाल्नुभएका न्यौपाने भन्नुहुन्छ– ‘परिवेश जस्तोसुकै होस् म कामको जिम्मेवारीलाई सधैं उच्च महङ्खव दिन्छु।’

प्रस्तुत छ, सूचना प्रविधि समाज नेपालको संस्थापक, कम्प्युटर एसोसिएसन महासंघको विभिन्न जिम्मेवारी हुँदै उपाध्यक्षलगायत विभिन्न जिम्मेवारी र भूमिकालाई सम्हाल्नुभएका न्यौपानेसँग गरिएको विशेष कुराकानी–

नेपालमा आईसीटीको विकासक्रमलाई यहाँले कसरी नियालिरहनुभएको छ ?

आईसीटीलाई अहिले विश्वव्यापीरूपमा अर्थतन्त्रको मुख्य इन्जिनका रूपमा हेर्ने गरिएको छ। सबै आईसीटीको विकासबिना केही कुरा पनि सम्भव छैन भनेर लागिरहेका छन्। पछिल्लो समयमा भियतनाम, फिलिपिन्स, बंगलादेश, श्रीलंका, भारत, भुटानकै उदाहरण हेरौं, उनीहरूले आईसीटीको उपयोगितालाई ब्यापक बनाएका छन् र त्यसको प्रतिफल विकास निर्माणदेखि दैनिक जीवनसँग जोडिएको छ। नेपाल पनि आईसीटीको विकास र विस्तारका लागि उर्बर भूमि हो तर सोचेअनुरूप यसको विकास हुन सकेको छैन।

आईसीटीको प्रयोग, अवस्था, सम्भावनालगायतका विषयमा तपाईंको विचार के छ नि ?

विभिन्न कारणले आईसीटीको प्रयोग अहिलेको समाजका लागि आधारभूत विषय भइसकेको छ। यो विषय र क्षेत्रले धेरै नै सम्भावना बोकेको छ। तर, हाम्रो यसप्रतिको अवस्था विगत १० वर्षदेखि एउटै परिधिमा घुमिरहेको छ। वर्तमान विश्व परिस्थिति र हाम्रो क्षमतालाई हेर्ने हो भने हाम्रो विकासको आधार सूचना प्रविधिमात्र हो भन्छु म त। हाम्रो देशमा धेरै क्षेत्रका धेरै विषयमा कुरा भयो तर सूचना प्रविधिका बिजनेस स्टार्टअप र युवाका लागि अवसर सिर्जना गरी नेपाललाई सूचना, सञ्चार प्रविधिको वैकल्पिक गन्तव्यका रूपमा स्थापित गर्न सके यसले देश विकास गर्न ठूलो मद्दत गर्छ।

सूचना प्रविधिको प्रयोगमा सरकारी निकाय अझै पछि नै छन् किन होला ?

देश विकासका लागि सूचना प्रविधि आधारभूत आवश्यकता हो। तर, नयाँ नेपालमा अरू विषयलाई महत्व दिनु परेर हो कि किन हो यसलाई सरकारले प्राथमिकतामा राखेको देखिँदैन। अरूले प्रयोग गर भनेर दिएको प्रविधि पनि ल्याइँदैन। अर्काले आविष्कार गरेको प्रविधि प्रयोगसम्म गर्न नसक्नु दुर्भाग्य हो।

गाउँ–गाउँमा सूचना प्रविधिको विस्तारका लागि के गर्नु आवश्यक छ ?

यसका लागि प्रविधिबारे जानकारी र आर्थिक समृद्धि दुवै चाहिन्छ। चेतनामूलक कार्यक्रम दिने हाम्रो कर्तव्य हो। नेपालीको क्रयशक्ति सुहाउँदो प्रविधि भित्याउने जिम्मेवारी पनि हाम्रै हो। तर, आर्थिक समृद्धिको पाटोमा सरकार नै नलागी केही हुँदैन।

यो क्षेत्रले सरकारको तर्फबाट कतिको सहयोग पाएजस्तो लाग्छ ?

सरकारबाट यो क्षेत्रले धेरै सहयोग पाउन सकेका छैन। भियतनामलगायत अन्य केही देशमा सूचना प्रविधि तथा सन्चारमा निकै राम्रो लगानी छ। सूचना प्रविधिको क्षेत्रले मात्रै देशको जीडीपीमा दोहोरो अंकको हिस्सा ओगटिरहेको छ। तर, नेपालमा त्यो अवस्था खोई त सरकारले निर्माण गर्न सकेको? क्यान महासंघलगायतका निजी क्षेत्रका संस्था आधिकारिक संस्था होइनन् तर पनि सूचना तथा सन्चारको क्षेत्रलाई अघि बढाउने काममा लागि नै रहेका छन्। सूचना प्रविधिको क्षेत्रमा सरकारी निकाय नै सक्रिय भएको खण्डमा देशमा निकै ठूलो फड्को मार्न सकिने उदाहरण त हामीले भियतनामलगायत अन्य देशबाट पनि लिन सकिन्छ। सरकारले यस क्षेत्रमा किन लगानी गर्न सकेको छैन। वर्षेनी सूचना तथा सञ्चार प्रविधिका नेपालमा उत्पादन हुने जनशक्तिलाई खोई त ठाउँ? उनीहरू यहाँ काम नपाएर बाहिरिने क्रम निकै ठूलो छ। जनशक्तिलाई बाहिरिन नदिन सरकारले कदम चाल्नुपर्ने हो तर सरकारले केही गर्न सकिरहेको छ। हामीले सरकारलाई बारम्बार घचघच्याउने काम पनि गरि नै रहेका छौं। तर, परिणाम भने केही आउन सकेको छैन।

सरकारले के गर्नुपर्छ भन्ने ठान्नुहुन्छ ?

आजको युगमा सूचना, सञ्चार तथा प्रविधि (आईसीटी)बिना विकासका कुनै पनि आयाम सम्भव छैन। यसैको सहयोगले विकसित मुलुकहरू आजको स्थानमा पुगेका हुन्। हाम्रो जस्तो विकासमा अझै पनि पछि परेको मुलुकका लागि यसको महत्व र आवश्यकता झन् धेरै रहेको छ। राज्यले नै यस क्षेत्रको विकास गर्न खास किसिमको लगानी र कार्य गर्नुपर्छ। तर, नेपालमा अहिलेसम्म पनि राज्यका तर्फबाट आईसीटीलाई हेर्ने दृष्टिकोण नै प्रभावकारी हुन सकेको छैन। त्यसले गर्दा यो क्षेत्रको यथोचित विकास हुन सकेको छैन। कमजोरी कहाँनेर देखिन्छ भने नीतिनिर्माण तहका जिम्मेवारहरूले आईसीटीलाई विकासको मूल आधारसँग जोडेर हेर्न सकेका छैनन्। यसलाई नीतिगत तहबाटै काम गर्नु अहिलेको पहिलो आवश्यकता हो।

अब फरक प्रसंग, अहिले मुलुकमा युवाहरूको अवस्था कस्तो देख्नुभएको छ ?

मैले ३ प्रमुख कारण देखेको छु जसले गर्दा मुलुकमा युवाहरूको अवस्था सहज होइन, जटिल नै छ। निकट भविष्यमा समेत राम्रो अवस्था देख्दिन म।
पहिलो देशमा रहेका युवाहरू उत्पादनमूलक कामभन्दा राजनीतिमा मात्र भविष्यमा देखेर होला यो वा त्यो दलको रूपमा क्रियाशील तथा सक्रिय सदस्य भएका छन्। दोस्रो देसमा रोजगारीका अवसर निकै कम भएकाले विदेशमा श्रम गर्नुपर्ने बाध्यता छ। तेस्रो केही गर्न खोज्ने युवासमेत उचित वातावरण नपाएका कारण केही समयमा निरास हुने गरेको देखेको छु।

तपाईं यो क्षेत्रमा लागेकामा अहिले कुनै पछुतो छ कि गर्व महसुस भएको छ ?

आम विद्यार्थीलाई प्रवीणता प्रमाणपत्र तह तथा +२ पास भइसकेपछि मैले अब के पढ्ने कहाँ जाने भन्ने द्विविधा हुन्छ जस्तो लाग्छ। काठमाडौंमा प्रवीणता प्रमाणपत्र तह पढ्दै गर्दा सन् २००१ ताका मलाई पनि त्यस्तै भएको थियो। यसै बीचमा नेपालमा नयाँ विषयको रूपमा पूर्वाञ्चल विश्वविद्यालयबाट सूचना प्रविधिमा स्नातक विषयको अध्यापन शुरू भयो। धेरै निजी क्याम्पसले सम्बन्धन लिए। त्यसताका कम्प्युटर तालिममा देशव्यापी सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङसमेत शुरू गरेकाले म त्यहाँ भर्ना भएँ पूर्वाञ्चल विश्वविद्यालयको सूचना प्रविधिको स्नातकको पहिलो ब्याचको रूपमा। त्यो नै सूचना प्रविधिमा मेरो करिअरको रूपमा आधिकारीक शुरुआत हो। त्यसअघि आधारभूत कम्प्युटर तालिम मात्र लिएको थिएँ जसले मलाई कम्प्युटर विषयप्रतिको रुचि बढाएको थियो। त्यतिबेला जो निर्णय लिइयो त्यो मेरा लागि गर्वको विषय भइरहेको छ। पछुतोको त कुनै कल्पनासमेत छैन मलाई।

आईसीटीको प्रयोगबाट अन्य मुलुकको तुलनामा नेपाल बामे सर्दैछ किन होला ?

आईसीटीको प्रयोग यसको विकास बिस्तार र प्रवद्र्धन नेपालमा १५ वर्षदेखि बामे सर्दैछ। यो अझैपनि हिँड्न सक्ने अवस्थामा छैन। यसका कारणहरू देशको आईसीटीसम्बन्धी नीति तथा कार्यक्रम, सरकारमा जाने राजनीतिक दल र तिनका नेतामा यसको ज्ञानको कमी, यस क्षेत्रमा काम गर्ने संघसंस्थामा नेतृत्व अभाव, बजेट तथा कार्यक्रमहरू हुन् जस्तो लाग्छ।

यदि तपाईं निर्णायक ठाउँमा पुग्नुभयो भने आईसीटीको विकासका लागि के गर्नुहुन्छ ?

२ वटामात्र काममा केन्द्रित हुन्छु होला जस्तो लाग्छ। पहिलो आईसीटीको प्रयोग र यसको विकास विस्तार र प्रवद्र्धनमा लाग्ने सबै सरोकारवालाको सहयोगीको रूपमा कार्य गर्दै यो देश विकासको मेरुदण्ड हो भन्ने विषय स्थापित गराउने। दोस्रो आईसीटी भनेको इन्डियन, चाइनिज टेक्नोलोजी भन्ने तथ्यलाई मध्यनजर राख्दै देशलाई सूचना, सञ्चार प्रविधिको क्षेत्रमा ती देशको वैकल्पिक गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्न नीति निर्माण तथा कार्यान्वयन गर्ने। यति दुई कुरालाई मात्रै कार्यान्वयन गर्न सकियो भने आईसीटी क्षेत्रको विकास हुनेमात्र नभई मुलुकको अर्थतन्त्रलाई पनि यसले दौडाउने कुरामा शंका छैन।

तपाईंका भावी योजना के छन् ?

निकट भविष्यमै प्रविधिको प्रयोग गरी विश्वभर रहेका नेपालीहरू जसले आफ्ना बालबच्चालाई नेपाली भाषा सिकाउन खोज्नुभएको छ। तर, विभिन्न कारणले त्यसको जोहो गर्न सकिरहनुभएको छैन। खासगरी उहाँहरूलाई लक्षित गरी र अन्य जसले नेपाली भाषा सिक्ने इच्छा राख्नुहुन्छ सबैका लागि भर्चुअल क्लासमार्फत सिकाउने कार्यको शुरुआत गर्ने कामको तयारी अन्तिम चरणमा पुगेको छ।
अर्को विश्व प्रविधि बजारमा नेपालको पनि उपस्थिति जनाउनु आवश्यक छ भन्ने सोच बनाएको छु। यसका लागि चाहिने कामका लागि व्याक्तिगत तवरबाट गर्न सकिने आउटसोर्सिङको काम, युवाका लागि लक्षित तालिम तथा रोजगारीको परामर्शको काम थाल्ने सोच बनाएको छु।

मुलुकको उद्योग विकास निर्माण क्षेत्रलाई यहाँले कसरी हेरिरहनुभएको छ ?

मुलुकको उद्योगले आन्तरिक मागलाई समेत सम्बोधन गर्न सकेको छैन। विकास निर्माण केही समययता आएर शुरू हुने सुस्त गतिका केही लक्षणहरू त देखिन्छन् तर यति धेरै राजनीतिक दल, तिनका कार्यकर्ता, स्थानीय निकाय, सरकारी कर्मचारी सबैको लक्ष्य एउटै छ– एकले अर्काको खुट्टा कसरी तान्ने, आफ्नो वशमा काम कसरी पार्ने र लाभ कसरी उठाउने? त्यसैले आम युवाको मनमा जस्तै मेरो मनमा पनि असन्तुष्टि त धेरै नै छ। कतिको त जीविकोपार्जन भनेकै राजनीति र संघसंस्था छन् त्यसैलेै मुलुकको उद्योग विकास निर्माण क्षेत्र सहज बन्न सकेको छैन तर सम्भावना छ। कुनै न कुनै बहानामा उद्योग विकास निर्माण क्षेत्रलाई बढावा दिनैपर्छ।

नेपालमा केही छैन भनेर विदेसिने युवालाई के सल्लाह दिनुहुन्छ ?

यसमा मेरो सोच बेग्लै छ। कामलाई तुच्छ त म भन्दिन, यो रहरभन्दा बढी बाध्यता हुनसक्छ आम नेपालीका लागि। तर, विदेसिनुभन्दा अघि युवालाई सूचना सञ्चार प्रविधिमा अलिकति पनि रुचि छ भने म एउटा सल्लाह दिन सक्छु। अंग्रेजी बोल्न र लेख्न जान्ने हुन जरुरी छ। आफूलाई सूचना सञ्चार प्रविधिभित्र के तालिम ठीक लाग्छ त्यो हेर्नुस् खोज गर्नुस्, सामान्य तालिम लिनुस्। सूचना सञ्चार प्रविधिमा के भइरहेको छ त्यसमा जानकार हुनुपर्छ। एउटा इन्टरनेट कनेक्सन गरी कम्प्युटरबाट विश्व आउटसोर्सिङ बजारमा छिरेर हेर्नुस् यो कदम जीवन परिवर्तन गर्ने एउटा सूत्र हुन सक्छ। विदेसिनु नै छ भने पनि यस प्रविधिले ‘नलेज वर्कर’ बनाउन सक्छ।

नेपालमै केही गर्ने इच्छाशक्ति बोकेकालाई के–के सफलताका टिप्स दिनुहुन्छ ?

नेपालमा केही छैन र केही गर्न सकिन्न भन्ने होइन, अथाह सम्भावना छन्। आफूभित्र भएको गुणलाई पहिचान गरेर त्यसैमा रही काम गर्यो भने जीवन परिवर्तन त्यहींबाट हुन्छ भन्ने बुझे सफल भइन्छ। त्यसैले निरन्तर सकारात्मक सोच राखी काम गर्नेहरू सफल हुन्छन्। नेपालमैे केही गर्ने इच्छाशक्ति भए हामीसँग भएको ज्ञान र सीप त्यसका लागि पर्याप्त छ त्यसको सही कार्यान्वयन गर्नु पर्छ। विश्वभर विभिन्न स्थानमा नेपालीले सही वातावरणकै आधारमा धेरै काम गर्न सफल छन् भने नेपालमै पनि त्यो सम्भव छ, तर निरन्तर अध्ययनको जरुरी छ।

नेपाललाई सूचना, सञ्चार प्रविधिको वैकल्पिक केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ त ?

सूचना, सञ्चार प्रविधिका क्षेत्रमा काम गर्ने विभिन्न देशमा कार्यरत नेपालीहरू जो यस क्षेत्रमा संसारका प्रतिष्ठित कम्पनीमा काम गरिरहनुभएको छ र व्यवसाय सञ्चालन गर्नुभएको छ, उहाँहरूसँग समन्वय गरी सानो समूहबाट शुरूआत गरी नेपाललाई सूचना, सञ्चार प्रविधिको वैकल्पिक केन्द्रका रूपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ यस वर्षदेखि कार्यक्रमको शुरूआत गर्ने कामको थालनी गरिएको छ। अब केहि समयमै यसको औपचारिक शुरूआतको जानकारी हुनेछ। नेपाल सूचना, सञ्चार प्रविधिको वैकल्पिक केन्द्रका रूपमा स्थापित गर्न सरकार, निर्णायक तहमा बस्ने सम्बन्धित निकाय, व्यक्ति तथा संघसंस्था सबैले कार्यक्रम बनाएर कार्वान्वयन गरेमा सम्भव पनि छ। यस समूहको समन्वयकारी भूमिका तथा कार्यक्रमले यसतर्फ अगाडि बढ्ने लक्ष्य राखेको छु। मेरो लक्ष्य नेपाललाई सूचना, सञ्चार प्रविधिको वैकल्पिक केन्द्रका रूपमा स्थापित गर्न एक उदाहरण बन्नेतर्फ लाग्नेछु।

आफ्नोबारे बताइदिनुस् न।

विसं २०३८ सालमा रूपन्देहीको सामान्य परिवारमा पिता मोतीलाल र माता मोलीकलाको कोखबाट मेरो जन्म भएको हो। अध्ययनको शुरुआत गाउँको प्राथमिक विद्यालय हालको रूपन्देही जिल्ला सैनामैना नगरपालिकामा रहेको कालिका भवानी प्रावि र माध्यमिक स्तरको अध्ययन रामपुर माविबाट विद्यालयस्तरीय अध्ययन गरेको हुँ। विज्ञानमा प्रवीणता प्रमाणपत्र तह त्रिचन्द्र कलेज काठमाडौंबाट, पूर्वाञ्चल विश्वविद्यालयबाट सूचना प्रविधिमा स्नातक, सिक्किम मणिपाल विश्वविद्यालयबाट सूचना प्रविधिमै स्नातकोत्तर तथा सूचना प्रविधिका विश्वस्तरीय विभिन्न ४ प्रमाणपत्रहरू प्राप्त गरेको छु। करिअर २००८ देखि सूचना प्रविधिमा विभिन्न कम्पनीमा काम गर्न शुरू गरेको हुँ। हाल एक बहुराष्ट्रिय कम्पनीमा सफ्टवेयर विशेषज्ञका रूपमा कार्यरत छु।

अहिलेसम्म सूचना प्रविधि समाज नेपालको संस्थापक अध्यक्ष सन् २००३, कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) हालको कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघमा सन् २००७ मा कार्यसमिति सदस्य, २००८ मा सचिव, २०१० मा क्यानको महासचिव र २०१२ देखि २०१५ मा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेको छु।