पोखरा लेखनाथ महानगरापालिका क्षेत्रफलका हिसाबले देशकै ठूलो महानगरपालिका हो। ग्रामीण भेगलाई समेत समेटेर ३३ वटा वडामा विभाजित यो महानगरपालिको क्षेत्रफल ४६४.३२ वर्ग किमि छ। ४ नंं प्रदेशको राजधानीसमेत रहेको पोखरा पर्यटकीय शहर पनि हो। सफा र स्वच्छ शहरका रूपमा सुरपरिचित पोखरा प्राकृतिक स्रोत र साधनले पनि सम्पन्न छ। नजिकैबाट आँखाअघि नै टल्लक्क टल्किने अन्नपूर्ण हिमशृङ्खलाले जो कोहीलाई लठ्याइदिन्छ। अझ फेवातालमा माछापुच्छ्रेको छाया हेरेर रमाउने पोखरा सबैका लागि सुन्दर लाग्छ। यहाँका तालतलैया, शान्तिस्तुपा, महेन्द्रगुफा, गुप्तेश्वर गुफा, पातले छाँगो, सराङकोट, काहुँडाँडालगायतका स्थानको वर्णन गरी साध्य छैन। प्रस्तुत छ, यही सुन्दर र ठूलो महानगरपालिकाका प्रमुख मानबहादुर जिसीसँग नेपाल समाचारपत्रका लागि टंकराज अधिकारीले गरेकोे कुराकानीको सारसंक्षेप:-
पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख बनेर आएको पनि एक वर्ष पुग्यो, कस्तो महसुस गर्नुभएको छ ?
स्थानीय तहको निर्वाचन भएपश्चात् हामीले स्थानीय सरकार सञ्चालनका लागि सहजता बनाउन यो अवधिलाइ ऐन नियम तयारी वर्षको रूपमा बितायौं। सांगठनिक सुधारलगायतका कार्य अगाडि बढाएका छौं। सेवाग्राहीलाई छिटोछरितो सेवा दिँदै प्रविधिमैत्री महानगर बनाउने योजनाको तयारीमा नै एक वर्ष बित्यो।
स्थानीय तह सञ्चालन ऐन बनाउने कार्य कहाँ पुग्यो ?
हामीले दोस्रो नगरसभा तथा पहिलो विधायनसभाबाट आमसरोकारका कार्य सम्पादनका लागि १८ वटा नीति तथा ऐन तयार गरिसकेका छौं। बनाउन बाँकी रहेका स्थानीय ऐन तथा नियम आगामी सभाबाट तयार गर्दै जाने योजनामा छौं।
महानगरको विकासलाई कसरी हेर्नुभएको छ र प्राथामिकता के केलाई दिनुभएको छ ?
सडक सञ्जालको व्यवस्थापन एवं पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएका छौं। महानगरका बजार क्षेत्रमा पार्किङ र ढल व्यवस्थापन गर्दै छौं। बाढीपहिरो र भू–क्षयले फेवाताल पुरिने क्रम बढेको छ। त्यसको नियन्त्रणका लागि कार्ययोजना बनाउने र बेगनासलाई लेकसिटका रूपमा विकास गर्न पीपीए गर्ने तयारीमा जुटेका छौं। जनतालाई स्वास्थ्य र शिक्षा सर्वसुलभ बनाउने प्रयत्न गर्दै छौं। भू–संरक्षण नीति बनाउने, साउन १ गतेदेखि महानगरका ३३ वटै वडामा अनलाइन सेवा सञ्चालन गरी सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्ने तयारीमा जुटेका छौं।
यो वर्षलाई योजना वर्षका रूपमा लिएर आगामी वर्षदेखि कार्यान्वयनमा जाने तयारी भइरहेको छ। पर्यटन विकासका लागि पोखराका आसपासका क्षेत्रहरूको सम्भाव्यता अध्ययन र पहिचान गरी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने योजना छ। साथै समग्र कास्की जिल्लाको विकास र समृद्धिका लागि कृषि, जलविद्युत् र पर्यटन क्षेत्रको दीर्घकालीन विकास कार्यक्रम सञ्चालन गर्ने योजनामा छौं।
महानगरको विकासका लागि स्थानीय साधन, स्रोत र सामथ्र्यले मात्र सम्भव छ ?
महानगरसँग प्रशस्त सम्भावना एवं स्रोतहरू छन्। हामी स्थानीय स्रोत, साधनको अधिकतम प्रयोग गरेर महानगरको विकासमा जुट्नेछौं। कतिपय स्रोत साधनको पहिचान गर्ने क्रममा छौं।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
भर्खर मात्रै विधानसभाबाट केही नीति तथा कानुनहरू बनाएर अगाडि बढेको समय छ। तत्काल हामी फिर्केखोला व्यवस्थापन एवं फेवाताल संरक्षणका काममा जोड दिइरहेका छौं। फेवातालको शिरमा सिल्ट्रेसन ड्याम तयार गर्ने, पर्यटन बसपार्क अत्याधुनिक बनाउने, पोखरामा आकासेपुल निर्माण तथा ढल निकाससम्बन्धी योजना निर्माणको काम अगाडि बढाउँदै छौं।
मतदाताले सम्झन लायकका उल्लेख्य काम केके भएका छन् ?
दीर्घकालीन महत्त्वका काममा योजनाबद्ध रूपमा हामी अगाडि बढेका छौं। ट्राफिक आइल्यान्ड साना र डिजिटलयुक्त बनाउने कार्य, महानगरको सेवा छिटोछरितो बनाउन एक वडा एक प्राविधिक, वडावडामा मासिकरूपमा जेष्ठ नागरिक स्वास्थ्य शिविर, फुट्पाथ र ड्रेनसहितका फराकिला सडक निर्माण, शहीद तथा राष्ट्रिय विभूति पार्क निर्माणको मास्टर प्लान निर्माण, फ्रि वाइफाइ जोन निर्माण, खुला स्थानको पहिचान एवं सार्वजनिक जग्गा संरक्षण अभियान, फिर्केखोला र सेतीनहर रेखांकन महानगरका उपलब्धिमूलक कार्य हुन्। सडक सरसफाइ अत्याधुनिक बनाउनुका साथै गट्टरदेखि गट्टरसम्म १३ किमि सडक पिच गर्ने कार्यहरू अगाडि बढिसकेको छ। एक वडादेखि अर्को वडासम्म जोड्न कनेक्टिङ सडक निर्माण कार्य द्रुत गतिमा अगाडि बडाएका छौं, महानगरभित्रका छाडा पशु व्यवस्थापनका लागि पशु ट्यागिङको पाइलट प्रोजेक्ट शुरू गरिसकेका छौं।
सुन्दर पर्यटकीय शहर पोखरालाई व्यवस्थित बनाउन केकस्ता योजना ल्याउँदै हुनुहन्छ ?
पोखरा वास्तवमा प्राकृतिकरूपमा नै सुन्दर छ। यसलाई थप सुन्दर बनाउन हामीले नगरपरिषद्मार्फत विभिन्न महत्त्वकांक्षी योजनाहरू अगाडि सारेका छौं। विशेष गरी भौतिक पूर्वाधारको क्षेत्रमा विशेष कार्यक्रम जस्तो फ्लाई ओभर, आकासेपुलको सम्भाव्यता अध्ययनको शुरूआत गर्ने, फेवाताल संरक्षणका लागि फेवातालमा मिसाइएको नहरलाई डाइभर्ट गरी फुस्रे खोलामा फाल्ने कार्य, भवन निर्माण मापडण्द पुनरावलोकन तथा एकरूपता कायम गर्ने, गरिबका लागि आवास कार्यक्रम सञ्चालन गरी नमुना बस्तीका रूपमा विकास गर्ने, करको दायरा फराकिलो बनाई पोखरा महानगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्नेजस्ता कार्यक्रम अगाडि सार्ने योजना महत्त्वका साथ अगाडि बढाइएको छ।
पोखरामा आउने पर्यटकको बसाइ बढाउन महानगरले केकस्तोे योजना अघि सारेको छ ?
स्थानीय निकायको पुनर्संरचनाबाट महानगरको आकार जिस्तार भएको छ। यसले गाउँ र शहरलाई जोड्ने काम गरेको छ। महानगरका ग्रामीण भेगहरू अझ प्राकृतिक सम्पदाले सम्पन्न छन्। विस्तृत अध्ययन गरी डीपीआर गर्नुपर्ने अवस्था छ। त्यसतर्फ महानगरले कार्ययोजना बनाई अगाडि बढ्ने तयारी गरेको छ। काँहुडाँडा, अर्मलाकोट, नागिडाँडा, झुप्राङकोट, सराङकोट, कास्कीकोट, पुम्दीकोट, कालीकाकोट, साम्मीडाँडा, हुँदीकोटलगायतका स्थानको सम्भाव्यता अध्ययन गर्ने तयारीमा छौं।
विशेषतः विश्वप्रख्यात महेन्द्रगुफादेखि अर्मला हुँदै सिक्लेस पुग्ने पदयात्रा मार्ग, ड्यामसाइडदेखि रानीवन, पुम्दीकोट हुँदै पञ्चासे पुग्ने पदयात्रा मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना महानगरले अघि सार्नेछ। फेवा, बेगनास, रूपालगायतका ताल किनारमा फुट ट्र्याक निर्माण गरिनेछ। पोखरामा पर्यटको बसाइ अवधि थप्न महानगरका आसपास क्षेत्रमा होमस्टे निर्माणमा जोड दिइनेछ। साहसिक खेलहरूको विकासमा योजनाबद्ध ढंगले अघि बढाइनेछ। आवश्यक परेमा विज्ञहरूको अध्ययन टोली बनाई उक्त टोलीले तयार पारेको प्रतिवेदनका आधारमा अघि बढ्ने योजनामा महानगर अघि बढ्नेछ।
यसले आन्तरिक तथा बा≈य पर्यटकको बसाइ लम्बाउन थप मद्दत पुग्छ भन्ने हामीले विश्वास लिएका छौं।
दक्ष युवाशक्ति स्वदेशमा बस्न रुचाउँदैन, युवालाई सम्बोधन हुने कार्यक्रम के ल्याएको छ महानगरपालिकाले ?
महानगरभित्रका साधन र स्रोतको अधिकतम उपयोग गरी उद्योगधन्दा, कलकारखानाको विकासमा प्रोत्साहन गरी उद्यमशीलतामा विकासमा जोड दिइनेछ। यसबाट थुप्रै प्रकारका रोजगारीको अवस्था सिर्जना हुन्छ। त्यस्तै प्राविधिक शिक्षामा जोड दिइनेछ। युवाहरूको दक्षता वर्गीकरण गरी त्यसअनुरूप नै विभिन्न कार्यक्रम सञ्चालन गर्ने सोच महानगरपालिकाको छ।
पोखराको जनघनत्व बढ्दो छ। जमिनको पर्याप्तता कमी हँुदै गएको छ, महानगरले अपार्टमेन्टको बारेमा केही सोचेको छ ?
पोखराको भू–बनोटका बारे भूगर्भविद्हरूले यसअघि नै अध्ययन प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्था छ। यद्यपि महानगरमा अपार्टमेन्टको निर्माण गर्ने बारेमा थप भौगोलिक अध्ययनको कार्य भइरहेको छ। प्रारम्भिक अध्ययनबाट सेती पारी ११, १२, १३, १४ र १६ वडामा गर्न सकिने विषयमा सम्भाव्यता अध्ययन गरी परिषद्मार्फत निर्णय गर्ने योजना महानगरपालिकाको छ।
पोखरा प्राकृतिक विपद्को चपेटामा परिरहन्छ, दीर्घकालीन रोकथामका लागि महानगरपालिकाले कस्तो रणनीति बनाउँदै छ ?
हामी प्राकृतिक विपद् व्यवस्थापनको विषयमा अत्यन्तै संवेदनशील र सचेत छौं। महानगरस्तरीय विपद् व्यवस्थापन समिति, वडास्तरीय र टोलस्तरीय विपद् व्यवस्थापन समिति गठन गरी विभिन्न पूर्वाधारका साथै सचेतनामूलक कार्यक्रम निरन्तर गरिरहेका छौं। विपद् व्यवस्थापनका लागि विशेष कोष खडा गरी तत्कालै राहत दिन सक्ने व्यवस्थासमेत पोखरा लेखनाथ महानगरपालिकाले गरेको छ। साथै महानगरपालिकाको स्वीकृतिमा विपद् उत्थानशील परियोजनालाई विभिन्न विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्ने अनुमतिसमेत प्रदान गरिएको छ।
पोखरा उपत्यकाको खाली जग्गामा संरचना निर्माण कार्य तीव्र छ, यसलाई रोक्न महानगरपालिकाले के गर्दै छ ?
पोखरा सबैका लागि आकर्षणको केन्द्र हो। यहाँको जनसंख्या वृद्धिदर ५.७१५ छ। जसको कारण भवन निर्माण अव्यवस्थित भइरहेको छ। त्यसलाई रोक्न पहिलेदेखि नै पहल भएको भए राम्रो हुन्थ्यो। तर हामी निर्वाचित भएर पोखरा महानगरपालिका आइसकेपछि भवन निर्माण मापदण्ड पुनरावलोकन गरी लागू गर्ने निर्णय गर्दा ‘फार रेसियो’को अवधारणालाई अगाडि बढाउने १ घर २ रूखको अवधारण कडाइका साथ लागू गर्ने भवन निर्माण आचारसंहिता लागू गरिसकिएकोलगायतका कार्यक्रम अगाडि बढाइएको छ। यसबाट त्यसको नियन्त्रण हुन्छ भन्ने हामीले विश्वास लिएका छौं।
भू–कम्प प्रतिरोधात्मक भवन निमार्णमा सरकारी नीति कतिको प्रभावकारी भएको छ ?
पोखरा लेखनाथ महानगरपालिकामा भवन निर्माण आचारसहिंता लागू गर्ने कार्य योजना बनाई काम शुरू गरेका छौं। त्यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन कार्यलाई तीव्रता दिइएको छ। म गर्वसाथ भन्छु हामी भवन निर्माण आचारसंहिता लागू गर्ने विषयमा नेपालकै उत्कृष्ट पोखरा महानगरपालिकाका हो, जुन तपाईंले निर्माणस्थलमा नै गएर हेर्न सक्नुहुन्छ। आगामी दिनमा अझै घनीभूत ढंगबाट छलफल गरी कार्यन्वयन गर्ने विषयमा हामी प्रतिबद्ध छौं।
समग्रमा पोखरा लेखनाथ महानगरपालिका कस्तो बनाउँदै हुनुहुन्छ ?
मैले भविष्यको पोखरा लेखनाथ महानगरपालिका उत्कृष्ट होस्, स्वच्छ, सफा, सामाजिक न्याय भौतिक पूर्वाधारले सम्पन्न, प्राकृतिक सम्पदाको सदुपयोग र संरक्षणसहितको पोखरा मेरो परिकल्पना हो। जुन परिकल्पना मात्र गरेर हुँदैन। हामीले अहिले गरेको यो परिकल्पना साकार हुनुपर्छ। साथै भावी पुस्तालाई त्यही परिकल्पना गरिएको पोखरा हस्तान्तरण गर्न सकियोस् भन्ने मेरो चाहना छ।
प्रतिक्रिया