शसक्त ‘थिंक ट्यांक’ स्थापना गरिने

0
Shares

काठमाडौं । मुलुकको परराष्ट्र नीति, निर्देशन तथा कुटनीतिक सम्बन्ध र अन्य विविध विषयको शसक्त थिंक ट्यांकको खाँचो रहेको चर्चा भइरहेका बेला सरकारले त्यस्तो निकाय स्थापना गर्ने भएको छ ।

सोमबार प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा प्रवुद्ध व्यक्ति आवद्ध थिंक ट्यांक स्थापना गर्ने जनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारलाई नियमित सुझाव दिन सबै क्षेत्रका विज्ञ संलग्न थिंक ट्यांकको व्यवस्था गर्ने बताउनुभयो । ‘विकास निर्माण सुरक्षा, परराष्ट्र सम्बन्ध, शासकीय सुधार लगायत विविध पक्षमा अध्ययन अनुसन्धान गरी सुझाव दिन थिंक ट्यांकको व्यवस्था गरिने छ’–उहाँले भन्नुभयो ।

अब गठन हुने थिंक ट्यांक २ दशकअघि स्थापना भएको ‘परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान’ भन्दा भिन्न हुने हो या होइन भन्नेबारेमा नीति तथा कार्यक्रममा प्रष्ट्याइएको छैन । २ दशकअघि स्थापना भएको प्रतिष्ठान स्थापनाको मूल मर्म अनुसार अघि बढ्न नसकेकोमा आलोचित हुँदै आएको छ । २०५४मा स्थापना भएको प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको अर्ध सरकारी स्वायत्त निकाय हो । तर राजनीतिक प्रभावका कारण प्रतिष्ठानले लक्ष्य अनुसारको नतिजा दिन नसकेको चर्चा गरिन्छ ।

गत वर्ष पूर्व राजदूत डा. दिनेश भट्टराई नेतृत्वमा गठन भएको कार्यदलले यो निकाय सुधारका लागि मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको छ । सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले मुलुकको वैदेशिक नीति राष्ट्रिय हित संरक्षण र प्रवद्र्धनमा केन्द्रित रहने बताउनुभयो । ‘हाम्रो वाह्य सम्बन्ध संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशिलका सिद्धान्त अन्तर्राष्ट्रिय वा विषयगत बहुपक्षिय वा द्धिपक्षिय सम्झौता र अनुबन्धमा आधारित सन्तुलित र जिम्मेवार हुनेछ’–उहाँले भन्नुभयो ।

नीति तथा कार्यक्रममा विदेशस्थित नेपाली नियोगलाई राष्ट्रिय हित, पर्यटन विकास, निर्यात र लगानी प्रवद्र्धनका लागि क्रियाशील बनाउने जनाइएको छ । नेपाली नियोगको आवश्यकता, औचित्य र प्रभावकारिताको पुनरावलोकन गरिने बताइएको छ । संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संघसंस्थामा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउने सरकारको प्राथमिकतामा समेटिएको छ ।

‘राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यको हैसियतमा नेपालले प्रभावकारी, निष्पक्ष र रचनात्मक भूमिका निर्वाह गरी मानवाधिकारको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याइने छ’–राष्ट्रपति भण्डारीले भन्नुभयो । दुवै छिमेकी मुलुकहरुसँग सम्बन्ध असल रहने बताउँदै उहाँले भन्नुभयो–‘स्वाधिन र स्वतन्त्र राष्ट्रको रुपमा हामी राष्ट्रिय÷अन्तर्राष्ट्रिय नीति, निर्णय र भूमिकामा स्वतन्त्र छौ । हामी हाम्रा दुई छिमेकी मित्रहरुसँगको सम्बन्ध असल छिमेक सम्बन्धमा विश्वास गर्छौ ।’