नीति तथा कार्यक्रममा कसले के भने


मधुसूदन रायमाझी, काठमाडौं
सरकारको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असल निबन्ध भएको टिप्पणी गरेको छ। कांग्रेसले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनको योजना नभएको बताएको हो।

नीति तथा कार्यक्रम सुनेर बाहिरिँदै गर्दा प्रमुख विपक्षी नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम स्पष्टीकरणजस्तो लागेको बताउनुभयो। उहाँले सरकारको नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्न नै आवश्यक नभएको बताउनुभयो।
त्यसैगरी कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नीति तथा कार्यक्रम सुन्दा राम्रो रहेको र नयाँ योजनाहरू ल्याइएको बताउँदै बजेट प्रस्तुत भएपछि मात्र पार्टीले आधिकारीक भनाइ सार्वजनिक गर्ने बताउनुभयो।

कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रमले स्पष्ट मार्गदिशा नदिएको र प्राथमकिता कार्यान्वयनको स्पष्ट खाका नदेखाएको बताउनुभयो। उहाँले सरकारको नीति तथा कार्यक्रम असल निबन्धका रूपमा टिप्पणी गर्नुभयो।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो। उहाँले ५ वर्षमा प्रतिव्यक्ति आय दोब्बर पार्ने र १० वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भन्ने कुरा विरोधाभासपूर्ण रहेको बताउनभुयो। भट्टराईले संविधान संशोधन गरेर देशभित्रका असन्तुष्टि सम्बोधन गर्ने कुरा नीति तथा कार्यक्रममा आइदिएको भए राम्रो हुने बताउँदै भन्नुभयो– ‘यो विषय जानी जानी छुटाइएको हो वा बिर्सिएको हो?’ कतिपय लक्ष्य किटान भएका छन् त्यसलाई प्राप्त गर्न तय गरिएको बाटो अस्पष्ट रहेको बताउँदै संघीयतालाई जोड दिन नसकेको बताउनुभयो।

  • नीति तथा कार्यक्रम स्पष्टीकरण जस्तो:  देउवा
  • संविधान संशोधन छुटाइयो: महतो
  • स्थानीय र प्रदेशलाई जोड दिन सकेको छैन: भट्टराई

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नीति तथा कार्यक्रममा राम्रा योजना आएको बताउँदै कार्यान्वयन नहुने चिन्ता व्यक्त गर्नुभयो। उहाँले संविधान संशोधनको कुरा नआउँदा आफूहरूलाई खल्लो लागेको बताउनुभयो। सत्तारूढ नेकपाका नेता योगेश भट्टराईले सरकारको विकास र समृद्धिको नारालाई मूर्तरूप दिन नीति तथा कार्यक्रमलाई गाउँतहसम्म कार्यान्वयन गरेर लैजानुपर्ने बताउनुभयो।

‘संविधान संशोधनमा पनि हस्ताक्षर हुन्छ’

काठमाडौं, (नेस)
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषयमा मधेसवादी दलहरूसँग सहमति भइसकेको बताउनुभएको छ। उहाँले सरकारमा सहभागी हुने कुरामा टेक्निकल्ली कुरा मिल्यो भने संविधान संशोधन गर्ने विषयमा हस्ताक्षर हुने बताउनुभएको हो। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय छुटेको भन्दै राजपाले आपत्ति जनाएपछि अध्यक्ष प्रचण्डले संविधान संशोधनको कुरामा यस बीचमा मधेसमा सरकार बनाउने पार्टीहरूसँग कुरा भइरहेको बताउनुभयो। ‘प्रधानमन्त्री ओली, म र मधेसवादी पार्टीहरूको बीचमा कुरा हुँदा संविधान संशोधनको विषयमा राजनीतिक सहमति पनि भइसकेको छ।’

उहाँले निर्वाचनमा आफूहरूले गरेको घोषणपत्रकै आधारमा नीति तथा कार्यक्रम आएको बताउँदै जनताको अगाडि गरेको प्रतिबद्धताअनुसार काम गर्ने गरी कार्यक्रम आएको प्रतिक्रिया दिनुभयो। ‘नीति तथा कार्यक्रमले विकास, समृद्धि र सुशासनको यात्र तय गर्ने संकल्प गरेको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘आउने बजेटले जनताको चाहना र भावना समेटेर आउँछ।’