विष्णु पौडेललाई बधाई

0
Shares

एमाले र माओवादी मिलेर गत बिहीबार एकीकृत पार्टी निर्माण गदाँ अर्को पुस्ताको नेतृत्व कसको हातमा जान्छ भन्ने प्रस्ट संकेत हुने गरी ‘शीर्ष नौ’ नेता छनौट गरिएका छन्। एकीकृत कम्युनिस्ट पार्टीले नौ सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ। शीर्ष नौ सदस्यमा प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छानिएका छन्। यीमध्ये पौडेल ‘शीर्ष नौ’ मा मात्र परेका छैनन्, एकीकृत पार्टीको शक्तिशाली महासचिव नियुक्त भएका छन्। यसले भविष्यमा एकीकृत कम्युनिस्ट पार्टीको नेतृत्व कसको हातमा जाला भन्ने प्रस्ट भएको छ। पौडेललाई महासचिव नियुक्त गरेर ओलीले आफ्नो चाहना संस्थागत गरेका छन्।

एमाले पार्टीकै संरचनामा आफूभन्दा माथि रहेका धेरैलाई पछि पार्दै पौडेल एकीकृत कम्युनिस्ट पार्टीको शक्तिशाली महासचिव भएका छन्। उनलाई अर्को पुस्ताको नेताका रूपमा स्थापित गराउन ओलीले एमालेका निवर्तमान महासचिव ईश्वर पोखरेललाई पनि पन्छाएका छन्। उनी एकीकृत पार्टी महासचिवका स्वाभाविक आकांक्षी थिए। उनलाई केन्द्रीय कार्यालय सदस्यमा सीमित गरेर ओलीले पौडेललाई महासचिव बनाएका हुन्। वरियतामा भने पोखरेललाई नै माथि राखेका छन्।

एमालेमा पौडेल उपमहासचिव थिए। उपमहासचिवभन्दा वरियतामा माथि रहेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ ‘शीर्ष नौ’ मै परेनन्। एकीकृत पार्टी महाधिवेशनपछि केपी ओली अध्यक्ष रहने छैनन्। त्यति बेला समझदारी वा चुनावमार्फत पुष्पकमल दाहाल वा माधव नेपालमध्ये एकजना अध्यक्ष छानिने छन्। उमेरका हिसाबले त्यसपछि हुने महाधिवेशनमा उनीहरू दुवै जना अध्यक्षका प्रत्यासी हुने छैनन्। झलनाथ खनाल र वामदेव गौतम उनीहरूको आगामी भूमिकाभन्दा हिजोको भूमिकाको सम्मानका खातिर ‘शीर्ष नौ’ मा परेका हुन्।

त्यसपछि बाँकी रहे नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, ईश्वर पोखरेल र पौडेल। आउने महाधिवेशनमा दाहाल एकीकृत पार्टी अध्यक्ष बने अर्कै कुरा। त्यसपछि भने लामो समय हिजोको माओवादी भंगालोबाट आएका नेता पार्टी अध्यक्ष बन्ने छैनन्। पोखरेललाई अहिल्यै उछिनेर पौडेल महासचिव बनिसके। भोलिका दिनमा एकीकृत पार्टी नेतृत्व पोखरेलको हातमा जाने सम्भावना छैन।

यसको कारण छ– पोखरेल ओलीका महासचिव त हुन् तर उनी एमालेमा कहिल्यै ओलीका उत्तराधिकारी थिएनन्। अघिल्लो महाधिवेशनमै माधव नेपाललाई छाडेर ओली क्याम्पमा गएपछि उनलाई नेपाल क्याम्पको पनि कुनै सहानुभूति छैन। पार्टीको भित्री संगठनमा पनि उनका आफ्नै उल्लेख्य समर्थक छैनन्। त्यसैले उनी भोलि नेतृत्वमा पुग्ने गरी बलिया छैनन्। आफ्नो राजनीतिक करिअरको उत्तराद्र्धमा ओलीले पौडेललाई महासचिव र अर्को पुस्ताको नेताका रूपमा स्थापित गराउनुको खास कारण छ। युवा पुस्तामा पार्टी हस्तान्त्रण हुने संकेतसँगै युवा वर्गमा केही आश पलाएको छ।
– सुवास पराजुली

शुभकामना नेपाल कम्युनिस्ट पार्टीलाई
दुई फरक धारको राजनीतिमार्फत उदाएका दुई कम्युनिस्ट शक्तिबीच एकीकरण भएको छ। नेपालको इतिहासमै शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी निर्माण भएको छ। यस एकताले कम्युनिस्टहरू फुट्न मात्रै जान्दैनन्, जुटेर एकढिक्का पनि हुन सक्छन् भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। वि.सं. २००६ मा स्थापित नेपाल कम्युनिस्ट पार्टी स्थापनाको १३ वर्षपछि फुट्न थालेको थियो। त्यो शृङ्खलाको क्रमभंग एमाले–माओवादी एकताबाट भएको छ। फरक धारका दुई कम्युनिस्टबीचको एकतालाई नेताहरूले कम्युनिस्ट आन्दोलनकै एकीकरणका रूपमा व्याख्या गरेका छन्। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले यस एकतालाई ऐतिहासिक र नयाँ युगको शुरुवातका रूपमा उल्लेख गरेका छन्।

मुलुकलाई राजनीतिक स्थिरता, विकास र समृद्धिमा लैजाने प्रण पनि दुवै नेताबाट व्यक्त भएका छन्। वाम गठबन्धन गरी चुनावमा होमिएका दुवै पार्टीले एकताका पक्षमा ६ महिना लामो अभ्यास गरेका थिए। यसअघि भागवण्डा नमिल्दा पार्टी एकता होला र ? भन्ने सन्देहसमेत व्यापक भएको थियो। यद्यपि, भागवण्डा नै पार्टी एकताको निर्णायक आधार बन्न पुगेको हो
भने त्यसले निश्चय पनि सकारात्मक परिणाम ल्याउँदैन।

नयाँ पार्टीका लागि कार्यकर्ताको व्यवस्थापन नै अहिले सबैभन्दा ठूलो चुनौतीको विषय बनेको छ। पार्टी सञ्चालनका लागि निर्णायक सचिवालयसँगै स्थायी समिति र केन्द्रीय कमिटी बने पनि पार्टीसँगै भ्रातृ संगठनहरूको केन्द्रदेखि वडा तहसम्म एकीकरण गर्न बाँकी छ। यस क्रममा जन्मिने असन्तुष्टि व्यवस्थापन गर्नु नेतृत्वका लागि अर्को चुनौती हुनेछ।

आन्तरिक भागवण्डामा अल्झिँदै गर्दा तिनै नेताहरूले विदेशी शक्तिले एकता भाँड्न खोजेको आरोप लगाउन पछि परेनन्। अहिले कम्युनिस्ट एकताका लागि स्वदेशी, विदेशी कुनै पनि शक्तिले रोकेको छैन। नयाँ शक्तिशाली पार्टी गठन भइसकेपछि अब पनि विकासले गति लिन सकेन र अर्थतन्त्रमा सकारात्मक सुधार आउन सकेन भने कम्युनिस्टहरूले कुनै शक्तिलाई दोषारोपण गरेर उन्मुक्ति पाउँदैनन्।

अब आफ्नो विफलताको दोष अरुलाई थोपरेर जनताले विश्वास गर्ने छैनन्। झन्डै दुई तिहाइ बहुमतसहित बनेको कम्युनिस्ट सरकारले छिमेकीद्वय भारत र चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको रटान लगाइरहेको छ। चुनावी घोषणापत्र कार्यान्वयनका लागि पनि यो वा त्यो बहाना गर्ने छुट पनि छैन। नेकपाका अध्यक्ष प्रचण्डले पछिल्लो समय कम्युनिस्ट नेताहरूमा विचार, सिद्धान्त र मूल्यमान्यतामा स्खलन भई व्यक्तिगत स्वार्थ हाबी भएको स्वीकार गर्दै सत्ताको मात त्यागेर जनताको सेवामा लाग्ने उद्घोष गरेका छन्।

अर्का अध्यक्ष ओलीले नवगठित पार्टीलाई जेट विमानको संज्ञा दिएका छन्। एउटै पार्टीमा दुई अध्यक्ष रहेको सन्दर्भ जोडिए पनि यो उनको दम्भ र व्यवहारको संयोजनमै मुलुक र स्वयं उनको नयाँ पार्टीको भविष्य निर्भर रहनेछ।

कम्युनिस्ट पार्टी विभाजनको शृङ्खलाबाट पक्कै पनि नयाँ युगमा प्रवेश गरेको छ। तर लोकतान्त्रिक प्रक्रियाबाटै जनादेश पाएर सत्तामा पुगेका कम्युनिस्टहरूले माक्र्सवाद र लेनिनवादजस्ता विफल अधिनायकवादी विचारलाई किन मार्गदर्शक सिद्धान्त बनाए ? त्यो सवालचाहिँ भविष्यकै गर्भमा छ।

उसो त, नेकपाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता मान्ने, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्तिपृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्थालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताप्रति प्रतिबद्धता जनाएको छ। अहिले नयाँ पार्टीलाई काम गरेर देखाउने ठूलो अवसर प्राप्त भएको छ। मुलुकलाई अराजकता र दण्डहीनताको भूमरीबाट मुक्त गराउनु नै नयाँ पार्टीको पहिलो अग्निपरीक्षा हुनेछ।
– मनोज पाठक, काठमाडौं