स्वागत सत्कारमा विद्यार्थीको प्रयोगमा रोक

0
Shares

यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कुनै पनि कार्यक्रममा विद्यार्थीलाई अतिथी स्वागत र सत्कारमा प्रयोग गर्न नपाईने गरि निर्देशिका जारी गरेको छ ।
नगरपालिकाले सार्वजनिक महत्वका कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी गरेसंंगै यस्तो नियम लागु भएको हो ।

नगरपालिका भित्र सञ्चालन हुने सबै प्रकारका सार्वजनिक महत्वका कार्यक्रमलाई उपलब्धिमुलक, मितव्ययी, छिटो–छरितो र समयसापेक्ष बनाउन निर्देशिका जारी गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

नगर कार्यपालिकाको २२ औं बैठकबाट पारित निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

निर्देशिकामा नगर भित्र हुने जुनसकै कार्यक्रम तोकिएको समयमैं सुरु गर्नुपर्ने, वक्ताहरुले सम्बन्धित विषयमा बुँदागत रुपमा मन्तव्य राख्नुपर्ने, उद्घोषकले आफ्नो मन्तव्य नराखी कार्यक्रम मात्र सञ्चालन गर्नुपर्ने, एउटा वक्ताले गरेको कुरा अर्को वक्ताले दोहो¥याउन नहुने उल्लेख गरिएको छ ।

साधारणसभा, अधिवेशन लगायतका संस्थाको आन्तरिक विषयमा बढी केन्द्रीत हुनुपर्ने कार्यक्रमका उद्घाटन सत्रहरु बढीमा डेढ घण्टामा सक्नुपर्ने, विद्यालयहरुले अतिथिहरुको स्वागत तथा सत्कारका लागि विद्यार्थीलाई उभ्याउन नपाउने पनि निर्देशिकामा उल्लेख छ ।

मञ्चमा अध्यक्ष, प्रमुख अतिथि र वक्ता अतिथिहरुलाई मात्र स्थान दिनुपर्ने, स्वागत तथा सम्मानका लागि स्थानीय स्तरमा उपलब्ध हुने फूलको माला तथा गुच्छाको मात्र प्रयोग गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

‘सार्वजनिक महत्वका सबै प्रकारका कार्यक्रम, बैठक, सभा, समारोह, उत्सवलाई समयमानै सम्पन्न गरी अन्य कार्यमा प्रतिकुल प्रभाव पर्न नदिने व्यवस्था मिलाउन र बैठक तथा कार्यक्रम विषयबस्तुमा केन्द्रीत भई छलफल तथा निर्णयमा पुग्न सक्ने व्यवस्था गर्न निर्देशिका जारी गर्नुपरेको हो ।

नगरपालिकाले निर्देशिकाको पालना नगरपालिका र यसअन्र्तगत्का सम्पूर्ण कार्यालय, सरकारी,सामुदायिक, गैरसरकारी सबै निकाय, संघ–संस्था, क्लव, सहकारी, वन, शिक्षण संस्था, टोल विकास संस्थालगायतले गर्ने जनाएको छ ।

नगरपालिकाको २२ औं बैठकले नगरभित्र निर्माण हुने भवनहरुको नक्सा, खेल मैदान, विपद् व्यवस्थापन समिति गठन, सांस्कृतिक भवन निर्माण, रिङ्घ रोडको रुट, अटोजोन लगायतका अन्य विषयमा महत्वपूर्ण निर्णय गरेको कार्यपालिका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।