फोर्ड गाडीमा जीओ अटोमोबाइल्सको ठगीको अर्काे शृङ्खला, दबाब थेग्न नसकेपछि मूल्य घटाइयो


नेपाल समाचारपत्र
काठमाडौं
गत माघ १० गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोली अन्तर्राष्ट्रिय सवारीसाधन कम्पनी फोर्डको नेपालका लागि आधिकारिक विक्रेता तथा वितरक जीओ अटोमोबाइल्स प्रालिको थापाथलीमा रहेको कार्यालय (डिलर) पुग्यो।

दैनिक बजार अनुगमनका क्रममा त्यहाँ पुगेको विभागको टोलीले जीओ अटोमोबाइल्स कम्पनीका कर्मचारीलाई उक्त कम्पनीले पछिल्लो समय बेचेका सवारीसाधनको प्रज्ञापनपत्रसहितका बिल बिजक, त्यसको पुस्ट्याइँ गर्ने कागजात, भ्याटबिल, करचुक्तापत्र तथा कम्पनीसँग सम्बन्धित कागजात उपलब्ध गराएर सहयोग गर्न भन्यो। तर, कर्मचारीले अनुगमन टोलीलाई टेरेनन्।

विभागको टोलीले उक्त डिलरका कर्मचारीसँग लामो सोधपुछपछि उनीहरूले केही कागजात उपलब्ध गराए।

कर्मचारीले उपलब्ध गराएका सीमित कागजात हेरिसकेपछि विभागको टोलीले उक्त डिलरबाट माघ ८ गते बिक्री भएको इको–स्पोर्ट फोर्ड १ दशमलव ५ लिटर पेट्रोल गाडीको मूल्य सूचीमा कैफियत रहेको फेला पार्यो।


करबाहेक जम्मा लागत २२ लाख ५८ हजार २ सय ९३ रुपियाँ रहेको उक्त एचआर.–६४६०० इन्जिन नम्बर भएको गाडी कम्पनीले २०७४ माघ ८ गते (बिल नम्बर ७५७) बिक्री गर्दा २४ लाख ८६ हजार ७ सय २६ रुपियाँ (कर बाहेक) बिक्री गरेको भेटियो।

यसरी एउटा गाडीको बिक्रीमा २ लाख २८ हजार ४ सय ३३ रुपियाँ ठगी भएको देखेपछि जीओ अटोमोबाइल्स प्रालिलाई के–कति कारणले मूल्य फरक भएको हो ? उक्त कुराको ३ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएर विभागको टोली फर्कियो।

अझ महत्त्वपूर्ण कुरा के भने उक्त कम्पनीले ग्राहकलाई ३ लाख ३६ हजार २ सय ८३ रुपियाँबराबर छुट दिएको भनी भ्रममा समेत पार्ने गरेकोसमेत विभागको अनुगमन टोलीले पत्ता लगायो।

यसरी कम्पनीले छुट दिएको भनिएको रकम पनि जोड्ने हो भने इको–स्पोर्ट फोर्ड १ दशमलव ५ लिटर पेट्रोल गाडीको मूल्य २८ लाख रुपियाँभन्दा माथि पर्ने देखिन्छ। जुन गाडीको वास्तविक बिक्री मूल्य भने २२ लाख ५८ हजार २ सय ९३ रुपियाँ मात्रै हो।
माघ १४ गते जीओ. अटोमोबाइल्स प्रालिका प्रबन्धक तेजकरण जैनले विभागमा गएर गाडीको मूल्य कसरी बढेको हो भन्ने विषयमा लिखित स्पष्टीकरण दिए। तर जैनको मौखिक बयान र लिखित स्पष्टीकरणबाट उक्त कम्पनीले गाडी बिक्री गर्दा कुन आधारमा मूल्य बढाएको हो भन्ने कुराको पुष्टी गर्न सकेन। विभागले जीओ अटोमोबाइल्स कम्पनीले बेच्ने गरेका गाडीमा उपभोक्ता ठगीमा पर्ने गरेको निष्कर्ष निकाल्यो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०५४ र कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन ३०३२ बमोजिम जीओ अटोमोबाइल्सलाई कारबाहीको तयारी थाल्यो। विभागले उक्त विषयलाई प्रहरी प्रशासनको जिम्मा लगाउने तयारी गरेपछि गोल्छा अर्गनाइजेसनका निर्देशक लोकमान्य गोल्छाले जीओ अटोमोबाइल्स प्रालिको प्रतिनिधित्व गर्दै अबदेखि गाडीको मूल्यमा थपघट नगर्ने भन्दै विभागसँग प्रतिवद्धता जनाउँदै माफिसमेत मागेका थिए। तर, उक्त कम्पनीका सञ्चालकहरूको उच्च राजनीतिक संयन्त्रसँगको साँठगाँठपछि विभागले तयार पारेका अनुगमनका फाइल भने लामो समयसम्म थप अनुसन्धान र कारबाहीका लागि अघि बढ्न सकेनन्। विभागले तयार पारेका बजार अनुगमनका फाइल केही समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूसँगै राखेका थिए।

नयाँ सरकार गठन भएसँगै गत फागुनमा मात्र मन्त्रालयको जिम्मेवारी सम्हालेका कारण अनुगमनका फाइलका विषयमा आफूले जानकारी लिने उद्देश्यले मन्त्रालयमा झिकाएको मन्त्री यादवको भनाइ छ। जीओ अटोमोमाइल्सलगायत ठगी र कालोबजारी मुद्दामा मुछिएका अन्य बिक्रेता कम्पनीका फाइलका विषयमा मन्त्रालय, विभाग, आन्तरिक राजश्व विभाग र कार्यालयहरू, प्रहरी प्रशासनलगायतको सहयोगमा थप अनुसन्धान गरी कारबाही अगाडि बढाउने मन्त्री यादवले सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार गाडी बिक्रेता कम्पनीले गरेको ठगीका विषयमा थप प्रमाण जुटाइदिन आन्तरिक राजश्व कार्यालयलाई पत्राचार गरेको भए पनि राजश्व कार्यालयले २ महिना बितिसक्दा पनि त्यसको जवाफ पठाएको छैन। सरकारी वकिलको कार्यालयले विभागलाई दिएको सुझावबमोजिम ती कम्पनीका विषयमा थप अनुसन्धान गर्न राजश्व कार्यालयलाई पत्र पठाइएको हो।

समाचार प्रभाव
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा इको–स्पोर्ट फोर्ड १ दबमलव ५ लिटर पेट्रोल गाडीको मूल्यलाई मात्र आधार मान्दै जीओ अटोमोबाइल्स प्रालीले ठगी र कालोबजारी गर्ने गरेको प्रतिवेदन तयार पारेको छ।

तर नेपाल समाचारपत्रले उक्त कम्पनीले बिक्री गर्दै आएको ईको स्पोर्ट फोर्ड’, ‘फिगो एस्पार ट्रेण्ड’, इकोस्पोर्ट ट्रेड, ‘इकोस्पोर्ट यम्बियन्ट’ र ‘फ्रिस्टाइल टाइटानियम’ गाडीको खरीदमासमेत उपभोक्ता ४० प्रतिशतसम्म ठगिएको प्रमाणसहित समाचार प्रकाशित गर्दै आएको छ। नेपाल समाचारपत्र दैनिकले जीओ अटोमोबाइल्सका उपभोक्ता ठगीका घटनालाई शृङ्खलावद्ध रूपमा प्रकाशित गरेपछि उक्त कम्पनीले पछिल्लो समय केही मूल्य घटाएको छ।

इको–स्पोर्ट टाइटानियम गाडीमा उपभोक्ता ४० प्रतिशतसम्म ठग्दै आएको उक्त कम्पनीले नेपालमा केही दिनअघि मात्र सार्वजनिक भएको फ्रि स्टाइल टाइटानियम गाडीमा उपभोक्ता २९ प्रतिशत बराबर ठगीमा पर्ने गरी मूल्य निर्धारण गरेको छ।

ठगी तथा कालोबजारी गरेको समाचार प्रकाशित भएपछि कम्पनीले ११ प्रतिशतसम्म मूल्य घटाएको हो। तर अझै पनि कानुनबमोजिम वस्तु तथा सेवाको बिक्रीमा २० प्रतिशतभन्दा बढी मुनाफा राख्न नपाइने व्यवस्थालाई भने कम्पनीले बेवास्ता गर्दै आएको छ। वर्तमान सरकार र सम्बन्धित निकाय यस विषयमा जानकार रहे पनि जीओ अटोमोबाइल्स प्रालिलाई कारबाहीको दायरामा भने ल्याउन सकिएको छैन।

आफू ठगिएको थाहा पाए कसरी गर्ने उजुरी ?

उपभोक्ताले विभिन्न वस्तु तथा सेवाको खरिदमा आफू ठगिएको थाहा पाए पनि सम्बन्धित निकायमा निकै कम मात्र त्यसको उजुरी गर्ने गरेका छन्। केही व्यक्तिले उजुरी प्रकृया र क्षतिपूर्तिका विषयमा थाहा नपाएर र केही व्यक्तिले थाहा पाउँदा पाउँदै पनि उजुरी नगर्ने गरेको वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको गुनासो छ। विभागले गरेको बजार अनुगमनको कैफियतबमोजिम ठूला व्यवसायिक घरानालाई कारबाहीको दायरामा ल्याउन नसक्नुमा उपभोक्ताले उनीहरूविरुद्ध ठगी र कालोबजारीका मुद्दा दायर नगर्नु मुख्य कारण रहेको गौचनको भनाइ छ।

‘हरेक उपभोक्तालाई आफू ठगिएको भन्ने थाहा हुन्छ। तर उजुरी कहीँकतै गर्दैनन्। उजुरी गरेको खण्डमा ठगिएको रकमबराबर बिगो जरिवाना उपभोक्ताले पाउँछन’ –गौचनले भन्नुभयो। शिक्षा, स्वास्थ्य, खाद्यान्न, अटोमोबाइल्सलगायत जुनसुकै क्ष्ँेत्रमा पनि उपभोक्ताले आफू ठगिएको विषयमा उजुरी गर्न सक्ने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार नजिकको प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बजार अनुगमन शाखा, वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभाग र सबै स्थानीय तहमा उजुरी गर्न सकिनेछ।