कनिष्ठ पद ‘सेफ लेन्डिङ’ गर्ने ‘प्लेटफर्म’


टीका बन्धन, काठमाडौं

वन सेवातर्फको सबैभन्दा कनिष्ठ पद वन रक्षक हो। यो पदको आवेदन र सेवा प्रवेशका लागि अन्य स्थायी जागिरका लागि तोकिने उमेरहद र विद्यालयको आधारभूत तह (कक्षा ८) उत्तीर्ण भए पुग्छ।

वनको निगरानी र अनुगमनका लागि प्रत्यक्ष ‘फिल्ड’मै खटिनुपर्ने वन रक्षक पदका लागि केही वर्षयता स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका समेत प्रतिस्पर्धामा उत्रन थालेका छन्। श्रेणीविहीन कनिष्ठ पदका लागि पढाइमा अधिकतम् अब्बल जनशक्ति छनोट हुने गरे पनि राज्यलाई भने उल्टै व्ययभार थपिने गरेको छ।

तोकिएको ‘फिल्ड’मा नखट्ने, फिल्डबाहेकको प्रशासनिक काम रोज्ने, सेवा प्रवेशलगत्तै माथिल्लो तह र पदमा प्रतिस्पर्धा गर्नेको संख्या धेरै भएपछि कनिष्ठ पदका कर्मचारीको अभाव हुने गरेको छ। राज्यले ठूलो लगानीका साथ जनशक्ति तयार पारे पनि श्रेणीविहीन वन कर्मचारीको अभाव सधैं हुने गरेको केन्द्रीय वन तालिम तथा प्रचार–प्रसार केन्द्रका तालिम अधिकृत विष्णुप्रसाद आचार्य बताउनुहुन्छ।

वन रक्षकका लागि अन्य विषय र संकायसँगै बीएससी र एमएससी फरेस्ट्री उत्तीर्णबीच प्रतिस्पर्धा हुन थाले पनि यो पदमा लगाव राख्नेको संख्या न्यून रहेको उहाँको भनाइ छ। ‘वन रक्षक त स्थायी जागिरका लागि सेफ लेन्डिङ गर्ने प्लेटफर्म मात्रै बनेको छ, यो जागिरलाई माध्यम बनाएर आन्तरिक प्रतिस्पर्धा गर्ने र अन्यत्र स्थानान्तरण हुनेहरूको संख्या धेरै छ।’ –आचार्यले भन्नुभयो। हाल मुलुकभर २ हजार ७ सय ३७ जना वन रक्षकको दरबन्दी तोकिएको वन विभागले जनाएको छ।

विगतमा राजनीतिक पहुँचवालाको भनसुन वा सोझै जिल्ला वन अधिकृतले आधारभूत तहको शैक्षिक योग्यता भएकालाई भान्से, सहयोगी र अन्यलाई अस्थायी दरबन्दीमा वन रक्षक नियुक्त गर्ने प्रचलन थियो। मनोमानी नियुक्ति रोक्दै पारदर्शी ढंगबाट योग्य जनशक्ति नियुक्त गर्न वन मन्त्रालयको विशेष प्रस्तावमा २०७१ यता लोकसेवा आयोग मार्फत वन रक्षक छनोट गर्न थालिएको छ। आयोग आफैंले श्रेणीविहीन कर्मचारी नियुक्त गर्ने प्रावधान नभएकाले मन्त्रालयले अर्थ मन्त्रालयसँग विशेष बजेट माग गरेर यस्ता कर्मचारी पूर्ति गर्न शुरू गरिएको हो।

२०७१मा करिब ७ सय वन रक्षक आयोगमार्फत नियुक्त भएका थिए भने गत वर्ष खुला गरिएको विज्ञापनमार्फत थप ४ सय ५२ नियुक्त हुने प्रकृयामा छन्। पछिल्लो समयमा श्रेणीविहीन कर्मचारी र कार्यक्षेत्रका हाकिमको शैक्षिक योग्यताको भिन्नतालाई लिएर कतिपय अवस्थामा मनमुटाव हुने गरेको वन विभागका अधिकारीहरू बताउँछन्।‘प्लस टु वा आईएस्सीएजी योग्यता भएकाहरू स्थानीय तहका जुनियर वन अधिकृत हुने व्यवस्था छ, त्यसैले हाकिमभन्दा माथिल्लो शैक्षिक योग्यता भएका कनिष्ठ कर्मचारीले स्वतः चुरीफुरी देखाउने गर्छन्’– वन विभागका एक अधिकारीले भने।

श्रेणीविहीन वन रक्षक मात्रै होइन, खरदार तहका प्राविधिक वन फरस्टर पदका लागि पनि स्नातक र सोभन्दा माथिको शैक्षिक योग्यता भएकाहरू बीच तीव्र प्रतिस्पर्धा हुने गरेको अधिकारीहरू बताउँछन्। खरदार तहका वन फरेस्टरका लागि एलएससी वा सो सरहको शैक्षिक योग्यतासँगै सीटीईभीटीको आधारभूत तालिम अनिवार्य गरिएको छ।