भारतीय मन्त्री प्योङयाङमा


नयाँ दिल्ली, (एजेन्सी)
भारत सरकारले बिहीबार दुई दशकमा पहिलोपटक १ जना मन्त्रीलाई उत्तर कोरियामा पठाएको सार्वजनिक गरेको छ। यसअघि सन् १९९८ को सेप्टेम्बरमा भारतीय मन्त्रीले उत्तर कोरियाको भ्रमण गरेका थिए।

त्यसबेला भारतीय जनता पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकारका सूचना तथा प्रशारण मन्त्री मुख्तार अब्बास नाक्भी एउटा चलचित्र महोत्सवमा भाग लिन प्योङयाङ पुगेका थिए। तर यसपालि प्योङयाङ पुगेका सहायक विदेश मन्त्री तथा पूर्वभारतीय प्रधानसेनापति भिके सिंहले उत्तर कोरियाका वरिष्ठ मन्त्री तथा अधिकारीहरुसँग भेटजार्ता गरेको बताइएको छ। यसै साताको शुरुमा भएको यस भ्रमणको दौरान दुई देशबीचको आर्थिक, राजनीतिक, क्षेत्रयी, शैक्षिक र साँस्कृतिक सहयोग आदानप्रदानबारे सिंहले छलफल गरेका थिए।

दुई दशकभन्दा लामो समयपछि पहिलो पटक उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक शिखरवार्ता भएबो केही दिनभित्रै भारतले यस अप्रत्यासित कूटनीतिक कदम चालेको हो। उत्तर कोरियाले अहिले आगामी साता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच सिंगापुरमा हुने भनिएको शिखर वार्ताका लागि तयारी गरिरहेको छ।

तर अमेरिकी पक्षबाट आफूमाथि आणविक हातहतियार त्याग्ने विषयमा बारम्बार निहुँ खोज्ने खालको वक्तव्यवाजी गरिरहेको भन्दै बुधबार उत्तर कोरियाले आफू उक्त शिखर वार्ताबाट पछि हट्न सक्ने धम्की दिएको थियो। भारत र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष भइसकेको छ। भारतको यस कदमलाई लिएर राजनीतिक विश्लेषकहरुले कतै भारतले आफू पनि कूटनीतिक मामिलामा पछि छैन भन्ने सन्देश दिन लागेको वा आफ्नो अमेरिकासंगको गठबन्धनलाई समथन जनाइरहेको हो भन्ने अनुमान गरेका छन्। भारत र उत्तर कोरिवाबीच सांस्कृतिक आदानप्रदान हुँदै आएको छ।

साथै यी २ बीच विज्ञान तथा प्रविधि क्षेत्रमा आपसी सहयोग गर्नेबारे सहमति पनि भएको थियो। भारतीय मन्त्री लामो समयपछि त्यहाँ पुगे पनि तर उत्तर कोरियाका सरकारी अधिकारीहरुले भने पटक–पटक भारतको भ्रमण गर्दै आएका छन्।