नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच अन्ततः पार्टी एकता भएको छ । पार्टी एकताका लागि बराबरी हैसियत हुनुपर्ने अडान माओवादी केन्द्रले राख्दै आएको र एमालेले हैसियतअनुसार नै पार्टी एकता गर्नुपर्ने अडान राख्दै आएकाले पार्टी एकतामा ढिलाइ हुन गएको थियो । पार्टी एकता लम्बिएको चर्चा चलिरहेको बेला बुधबार प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टु वान’ वार्ता भएपछि सरकारको नीति तथा कार्यक्रमअघि नै एउटै पार्टी दर्ता गरेर जाने सहमतिअनुसार पार्टी एकता भएको हो ।
दुई पार्टीबीचको एकीकरणले यतिखेर मुलुक तरंगित भएको छ । कसैमा उत्साह जागेको छ भने कसैमा शंका–उपशंकाले डेरा जमाएको छ । जे होस्, यसले मुलुक स्थिरतातर्फ जाने संकेत भने अवश्य गरेको छ । पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिह्न सूर्य नै भएको छ ।
पार्टीको नेतृत्व ओली र प्रचण्डले नै गर्नेछन् । एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना गरी नेपाल कम्युनिस्ट पार्टीको ४ सय ४१ जनाको केन्द्रीय समिति बनाइएको छ । यसले पार्टीको हैसियतअनुसार नै एकता भएको बुझिन्छ । दुई ठूला वाम पार्टीको यो एकता कत्तिको स्थायी हुन्छ भन्ने कुराचाहिँ यस पार्टीको आगामी दिनको रणनीतिमा भर पर्छ ।
हुन त पार्टी फुट्ने र जुट्ने परम्परा बसिसकेको विगतले पनि बताउँछ ।
विगतमा नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेसवादी पार्टीहरू फुटेको अवगत नै छ । विगतमा भएका यी अनुभवबाट सिकेर नयाँ एकीकृत वाम पार्टीका नेताहरूले आगामी रणनीति तय गर्नुपर्छ । विगतमा यी पार्टीहरू किन फुटे भन्ने कुराको हेक्का अहिलेको एकीकृत कम्युनिस्ट पार्टीले राख्नै पर्छ । विगतका पार्टी फुट्नुका कारणलाई मध्यनजर गरेर नेतृत्व वर्गले आफ्ना नेता–कार्यकर्ताहरूको उचित व्यवस्थापन गर्नु जरुरी छ । साथै अन्य साना कम्युनिस्ट पार्टीहरूलाई पनि समेटेर एकढिक्का बनाउन सक्नुपर्छ ।
अनि मात्र यो पार्टी एकता दिगो र बलियो हुनेछ । सही र उचित किसिमले नेतृत्ववर्गले आफ्ना जिम्मेवारी कार्यान्वयन गर्न सके भने यो एकता दिगो हुन्छ । जब एकता दिगो हुन्छ, सरकार पनि दिगो र बलियो हुन्छ अनि मुलुक समृद्धितिर लम्किन्छ । जनताको चाहना पनि यही हो ।
प्रतिक्रिया