बाढीपीडितको नाममा आएको रकम कर्मचारी र जनप्रतिनिधिले खाए

0
Shares

भद्रपुर । बाढीपीडितको नाममा सरकारले पठाएको रकमबाट जनप्रतिनिधि र कर्मचारीले कमिशन लिएको सार्वजानिक भएको छ ।

झापाको कचनकवल गाउँपालिका १ का बाढीपीडितबाट वडा कार्यालयका वडाध्यक्ष लक्ष्मीनारायण यादव र घरधुरी सङ्कलन गर्न गएका करारमा नियुक्त भएका कर्मचारीद्धय पञ्च राजवंशी र शर्मिला राजवंशीले बाढीपीडित परिवारबाट १० हजारको दरले कमिशन लिएको पाइएको हो । पीडित परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालय झापामा दुइदिन अघि कमिशन लिएको आरोपसहित लिखित उजुरी दिएपछि यस्तो घटना बाहिर आएको हो ।

१३ जना पीडितसहित राजनीतिकदलका प्रतिनिधि‚ वडासदस्य लगायत गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई आवश्यक कारवाहीका लागि लिखित पत्र बुझाएपछि घट्ना छताछुल्ल भएको हो ।

बाढी र डुबानबाट प्रभावित पूर्णरुपमा घर क्षति भएका पीडित परिवारलाई न्यानो कपडाको लागि १० हजार र घर मर्मतका लागि १५ हजार गरी २५ हजारको दरले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बजेटबाट गृह मन्त्रलायमाफर् प्राप्त भएको सो रकम जिल्ला प्रशासन कार्यालय झापाले कचनकवल गाउँपालिका १ सय ४७ घरपरिवारका लागि ३६ लाख ७५ हजार रुपैया पठाएको थियो ।

कचनकवल गाउँपालिका १ साविक घेरावारीका बाढी पीडित लागि आएको तेस्रो किस्ताको राहत रकममध्ये वडाध्यक्ष यादव र कर्मचारीद्धय पञ्जु र शर्मिलाले कमिशन लिएकोले तत्काल आवश्यक कानुनी कारवाही गरी उचित न्याय दिलाउन भनि बुझाएको पत्रमा उल्लेख छ ।

घटना विवरण अनुसार बनियानीस्थित कचनकवल गाउँपालिकाको कार्यालयमा बाढी पीडितको नामावली हेरी बाढी पीडितलाई सही छाप गराउँदै २५ हजारको दरले रकम वितरण गरेका थिए । तर‚ रकम पाउने लगतै बाढीपीडितका परिवारबाट जनप्रतिनिधि र कर्मचारीले १० हजारको दरले रकम लिएको खड्गनारायण राजवंशीले आरोप लगाए ।

करारमा खटाइएका पञ्जुले आधा/आधा रकम हुनुपर्छ भन्दै मसंग पहिला मौखिक सहमति गरे‚ उनले भने‚ ‘त्यसपछि राहतको २५ हजार हातमा परेलगतै उनले मसंग १० हजार त्यही लिए ।’ ‘बुबा मुनुवा मलहाको नाममा २५ हजार राहत रकम आएको थियो‚ उनका छोरा श्रवणले भने‚ “वडाध्यक्ष यादवले भन्नुभयो‚ तिम्रो बुबाको नाम गल्ती छ‚ त्यसैले पाएको रकमबाट २५ हजारबाट मलाई १० हजार दिनुपर्छ‚ भनेपछि मैले उनकै हातमा पैसा दिएको हो ।” ‘कर्मचारी पञ्जु र शर्मिला मेरै घरमा आएर मसंग बार्ता गरेे‚ पीडित महिला निमसरी राजवंशीले भनिन्‌‚ ‘आधा रकम हामीलाई दिनुपर्छ‚ नत्र तपाईले पैसा पाउनु हुन्न‚ भनि धम्की दिएपछि मैले पञ्जुलाई १० हजार दिए ।’

यता प्रमुख जिल्ला अधिकारी दाहालले पीडितहरुको कुरा सुनेपछि तत्काल कारवाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘गृह मन्त्रलायबाट पीडितको नाममा प्रशासान कार्यालय पठाएको राहत रकमबाट जनप्रतिनिधि र कर्मचारीले कमिशन लिनु कानुन विपरीत काम भएको छ‚ प्रजिअ दाहालले भने‚ “यस बारे प्रशासन कार्यालयले जनप्रतिनिधि र कर्मचारीलाई झिकाएर अनुसंन्धान गर्छ र पीडितबाट लिएको रकम फिर्ता हुन्छ ।”
सोही वडाका वडा सदस्य उमाशंकर गणेशले वडाध्यक्ष यादव र कर्मचारीले नियमसंगत काम नगरेको बताए । यसबारेमा तत्काल वडा कार्यालयमा बैठक बोलाएर पीडितहरुको समस्या समाधानका लागि छलफल गरांै भन्दा समेत वडाध्यक्षले नमानेको उनले बताए । ‘राहतका लागि पठाइएको नामवाली अनुसार पनि गाउँपालिकाले रकम नबाडेको गुनासो पोख्दै उनले भने‚ ‘राहत पाउने परिवारले रकम पाएन‚ एउटै नाम भएका अर्को व्यक्तिलाई रकम बाडेको देखिन्छ ।’

प्रशासन कार्यालयको पठाएको विवरणमा प्रितम राजवंशी‚ प्रभावती राजंवशी र नयनसरी राजवंशीको नाम उल्लेख छ‚ तर ती व्यक्तिले नपाएर सोही नामका अन्य व्यक्तिलाई कमिशनको लोभमा रकम बाडेको उनले आरोप लगाए । यता वडाध्यक्ष लक्ष्मीनारायण यादवले भने‚ ‘आफू र मेरा कर्मचारीले रकम नलिएको बताउँदै यो सब राजनीतिक चलखेल भएको बताए ।’ त्यस्तै गाउँपालिकाका कार्यकारी अधिकृत्त रेखनाथ दाहालले कार्यालयवाटै बाढी पीडितलाई २५ हजारको दरले रकम वितरण गरिएको हो । उनले भने‚ ‘यसमा गाउँपालिकाको संलग्ता छैन‚ बाहिर बाडीपीडित के गरे हामीलाई थाहा नभएको प्रस्टाए ।’