मोदी भ्रमणमा झण्डा प्रकरण, तीन दिनभित्र जवाफ दिन कर्मचारीलाई उर्दी


सुनील महर्जन, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा राखिएको झण्डा संविधानबमोजिम नमिलेको सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं २ का कर्मचारीसँग प्रश्न सोधेको छ।

प्रदेश–२ का निमित्त मुख्यसचिव हरि फुयाल, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव देवीराम भण्डारी, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र जनकपुर उपमहानगरपालिकाका मुख्य प्रशासकीय अधिकृत मदन भण्डारीलाई सोमबारको मन्त्रीस्तरीय निर्णयबाट यसबारे स्पष्ट हुन चाहेको सो मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिनुभयो।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले रामायण सर्किट र जनकपुर–अयोध्या सीधा बस सेवाको उद्घाटन गर्ने कार्यक्रमलाई वैशाख २८ गते सम्बोधनका क्रममा दुई देशको झण्डा राखिएको थियो। भारतीय झण्डामा त केही कैफियत थिएन। तर नेपालको झण्डा भने नसुहाउने, भद्दा खालको थियो। नेपालको झण्डामा छेउको निलो भाग अस्वाभाविकरूपमा धेरै थियो। नेपालको झन्डामा पूर्णरूपमा हुनुपर्ने आकृति र बनोट सविधानबमोजिम मिलेको थिएन। झण्डाको किनारा भद्दा र ठूलो बनाइएको थियो।

मुलुकको राष्ट्रिय झण्डा नै आकार प्रकार नमिल्ने गरी राखिएपछि सामाजिक सञ्जालमा यसको विरोध भएको सन्दर्भमा त्यसको वास्तविकता सोधिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल समाचारपत्रलाई बताउनुभयो।

कर्मचारीलाई सोधिएको छ– ‘निर्धारित स्वरूपभन्दा फरक आकारमा झण्डा कसरी प्रयोग भयो? भ्रमण व्यवस्थापनमा संलग्न कर्मचारीको हैसियतमा तपाईंसमेत जिम्मेवार हुने भएकाले के कसरी कसको लापरबाहीले यस्तो भएको हो, तीन दिनभित्र जानकारी दिनू।’

मन्त्रालयले दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग भने केही सोधेको छैन। स्मरणीय छ, नेपालकै संविधानअनुसार मुख्यमन्त्री बनेका राउतले मोदी नेपाल भ्रमणका क्रममा जनकपुर आएका दिन वैशाख २८ गते संविधानविपरीत मात्र हैन नेपालको राष्ट्रिय स्वाभिमानमाथि नै आँच पुग्ने गरी अभिव्यक्ति दिनुभएको थियो।

सचिव थपलियाले मुख्यमन्त्री राउतलाई प्रश्न सोध्न नमिल्ने बताउनुभयो।
नेपालको संविधानको धारा ८ मा ‘सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हुने’ उल्लेख छ।

सोही धाराको उपधारा (२) मा भनिएको छ– ‘नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय झण्डा बनाउने तरिका र तत्सम्बन्धी अन्य विवरण अनुसूची–१ मा उल्लेख भएबमोजिम हुनेछ’, सोबमोजिम अनुसूची १ मा नेपालको राष्ट्रिय झण्डा र त्यसको बनाउने विधि पनि विवरणात्मक तबरमा प्रस्तुत गरिएको छ।

समाचार स्रोतका अनुसार जानकी मन्दिरमा भ्रमणको व्यवस्थापनसँगै झण्डा राख्ने जिम्मेवारी मन्दिरका महन्थ रामतपेश्वर दासको थियो। महन्थ दासको भनाइ उद्धृत गर्दै २ नं प्रदेश प्रशासनका कर्मचारीहरू दाबी गर्छन्– ‘सिलाउनेले नै आकार र स्वरूप नमिल्ने गरी सिलाएछन्।’

प्रदेश प्रशासनका अर्का एक अधिकारीले भने नाम उल्लेख नगर्ने सर्तमा दाबी गरे– ‘प्राविधिक कारणले संविधानको अनुसूचीअनुसारको झण्डा नबनेको हो।’