सत्यमोहन जोशीको योगदान भुल्नुहुँदैन

94
Shares

नेपालको सांस्कृतिक, पुरातात्विक र साहित्यिक क्षेत्रमा अतुलनीय योगदान गरेका शताब्दी पुरुष सत्यमोहन जोशी यतिखेर चर्चाको शिखरमा छन्। नेपालको संस्कृति र सभ्यताको क्षेत्रमा गहन अध्ययन, अनुसन्धान र अन्वेषण गरी उनले मुलुकका लागि गौरव बढाएका छन्। १९७५ साल वैशाख ३० गते ललितपुरमा जन्मिएका जोशी एक सय वर्ष पूरा गरेका छन्। उनलाई यसअघि सरकारले ‘वाङ्मय शताब्दी पुरुष’ घोषणा गरिसकेको छ। २००३ सालमा शारदा पत्रिकामा आफ्नो रचना प्रकाशित भएपछि उनी निरन्तररूपमा साहित्य सिर्जनामा लागिपरे।

नेपालको साहित्यिक उन्नयनमा जोशीको विशेष योगदान रहिआएको छ। शताब्दी पुरुष जोशीले २०१३ सालमा ‘हाम्रो लोकसंस्कृति’ नामक ग्रन्थ प्रकाशन गरेर पहिलो मदन पुरस्कार प्राप्त गरेका थिए। यस्तै, २०१७ सालमा ‘नेपाली राष्ट्रिय मुद्रा लेखेर अर्को मदन पुरस्कारको हकदार बने। उनी यत्तिमै रोकिएनन्, ०२८ सालमा पनि ‘कर्णाली लोकसंस्कृति’ ग्रन्थ प्रकाशन गरेर तेस्रो मदन पुरस्कार पनि हासिल गरे। यसरी तीनचोटिसम्म मदन पुरस्कार प्राप्त गर्ने उनी एकमात्रै व्यक्तित्व हुन्। एकपछि अर्को मदन पुरस्कार प्राप्त गरेपछि मदन पुरस्कार गुठीले नै उक्त पुरस्कार दोहो¥याएर कसैलाई नदिने निर्णय गर्नुपरेको थियो।

शताब्दी पुरुष जोशी सरकारी सेवामा रहेर आफैँ सम्पदा भए। उनले ०१५ सालमा पहिलोपटक खुलेको पुरातत्व विभागको निर्देशक भएर धेरै प्राचीन मूर्तिहरू सार्वजनिक स्थलहरूबाट सङ्ग्रहालयमा स्थानान्तरण गरे। सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार गरेर उनले मानिसहरूलाई सांस्कृतिक सम्पदाको महत्व बुझाउन सफल भए। उनी सय वर्षका भएर मात्रै चर्चामा आएका होइनन्, बहुआयामिक विधामा उनको योगदान स्तुत्य रहँदै आएको छ। उनी नेपाल भाषाका चान्सलर हुन्।

नेपाल भाषाको श्रीवृद्धिमा उनको ठूलो योगदान छ। नाटक विधामा पनि उनको अतुलनीय योगदान रहेको पाइन्छ। नाट्य निर्देशन गर्ने उनले ०१६ सालमा राष्ट्रिय नाचघर निर्माण गर्न होस्, चाहे चीनमा नेपाली भाषा सिकाउने काममा होस्, उत्तिकै सक्रियता रहेको पाइन्छ। चिनियाँ रेडियोबाट नेपाली भाषाको समाचार प्रसारण गराउने श्रेय पनि उनलाई नै जान्छ। बाल्यकालदेखि शताब्दी कालसम्म अविरल रूपमा उनको सक्रियता र क्रियाशीलता रहेको पाइन्छ।
शताब्दी पुरुषले पाँच दर्जनभन्दा बढी पुस्तक लेखिसकेका छन्। उनका जयप्रकाश र श्वेत चैत्य महाकाव्य कृति छन्। यस्तै, कलाकार अरनिको, चारुमती, सुनकेशरी, बाघभैरव, नेपाली कलाको रूपरेखा, नेपाली धर्ममूर्तिको विकासक्रमलगायतका पुस्तक प्रकाशनमा आएपछि त्यससम्बन्धमा नयाँ तथ्यहरू उजागर भएका थिए। नेपाली वाङ्मयका हरेक क्षेत्रमा योगदान पु¥याएका अग्रणी व्यक्तित्व जोशीले नेपाल प्रज्ञाप्रतिष्ठानबाट त्रिभुवन प्रज्ञा पुरस्कार, भूपालमानसिंह प्रज्ञा पुरस्कार, श्रेष्ठ शील्पा, काठमाडौँ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिलगायत सयौँ पुरस्कार तथा अभिनन्दन ग्रहण गरिसकेका छन्।

एउटा सच्चा राष्ट्रसेवक बनेर नेपाल र नेपालीको गौरव बढाउन उनले आफ्नो जीवन नै देशहितमा समर्पित गरेका छन्। नेपाली कला तथा संस्कृतिका ज्ञाता जोशीको गौरवमय सय वर्ष मनाउँदा हरेक नेपालीजनमा गर्व महसुस भएको छ। नेपाली संस्कृति तथा कला क्षेत्रमा गौरव बढाउने मूर्धन्य व्यक्तित्वको योगदानको उच्च मूल्यांकन गर्दै वाङ्मय शताब्दी पुरुषको सुख–शान्ति र चिरायुको कामना व्यक्त गर्दछौँ।
– रोहिणी राना, काठमाडौं

एक वर्षमा जनताले के पाए ?
नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भएको छ। नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुसारको संरचना बनाएर पहिलो चरणको निर्वाचन भएको आज एक वर्ष पूरा भएको हो। लामो समय जनप्रतिनिधिविहीन बनेर नयाँ संरचनामा गएका स्थानीय तहहरूले झन्डै २०
वर्षको अवधिमा जनप्रतिनिधि त पाए तर संविधानको कार्यान्वयनको अवस्थामा रहेको देश र नयाँ संरचनाअनुसारका पूर्वाधार निर्माण, कानुन निर्माण, विधि र प्रक्रिया सबै नयाँ व्यवस्थापन गर्नुपर्ने भएका कारण स्थानीय तहले सोचेको जस्तो शीतल सास अझै फेर्न पाएका छैनन्। स्थानीय तहमा आएका जनप्रतिनिधिमा धेरैजसो नयाँ अनुभवको रूपमा कार्यकारी पदमा रहेकाले पनि उनीहरूको अनुभव र दक्षता नपुगेको जस्तो देखिन्छ।

स्थानीय सरकार बनेयता स्थानीय तहमा केही सडकलाई चक्लाउने अर्थात् फराकिलो गर्ने कामबाहेक अरु केही हुन सकेको छैन। निर्वाचनका बेला आफूले जितेको एक वर्षमा गर्ने गरी बनाएका कामको तालिका पनि निर्वाचित बनेका जनप्रतिनिधिको घरमा थन्किएर बसेका छन् भने अधिक महत्वकांक्षा बोकेका आमसर्वसाधारणको एक प्रतिशतसम्म पनि आकांक्षा सम्बोधन हुन सकेको छैन। स्थानीय तहमा भौतिक संरचनाको अभाव एकातर्फ छ भने अर्कोतर्फ कर्मचारीको चरम अभाव छ। राज्य संक्रमणमा रहेको बेलासमेत नभएको अभाव यो एक वर्षको अवधिमा स्थानीय तहहरूले व्यहोरेका छन्।

जनप्रतिनिधिको कमजोर निर्णय क्षमता र कर्मचारीले २० वर्षसम्म गरेको जस्तै राज अहिले पनि गर्न खोजिरहेका कारणले पनि स्थानीय तहहरूले चाहेको जस्तो प्रगति हुन सकेन। स्थानीय तहको निर्वाचन सकिएको ६ महिनाभन्दा लामो समय पूरा देश नै प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा रुमल्लिएका कारण पनि यो समयमा चाहेको जस्तो काम हुन सकेन।

स्थानीय तहबाट सर्वसाधारणले लिँदै आएको पञ्जीकरण, घटना दर्ता, सिफारिसलगायतका काममा केही सहजता आएको भए पनि विकासका काममा न भौतिक पूर्वाधार विकास, न त मानव विकास दुवै क्षेत्रमा विकासको गति निकै मन्द देखियो। अब जनप्रतिनिधिले गम्भीर समीक्षा गरेर आगामी दिनको बाटो तय गर्न आवश्यक छ। हिजो गर्न नसकेको कुरामा पछुतो हैन भोलि गर्न सक्ने कुरामा योजना बनाएर प्रभावकारी बाटो रोज्नु नै जनप्रतिनिधिका लागि उत्तम उपाय हो।

पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले एक वर्षको समय बिताएका भए पनि बाँकी चार वर्ष उनीहरूका लागि काम गर्न बाँकी समय हो। परीक्षण काल त्यति राम्रो नभए पनि मध्यमकाल र सत्ताको समयलाई उपलब्धिमूलक बनाएर स्थानीय सत्ताबाट बाहिरिने गरी जनप्रतिनिधिका आगामी कार्ययोजना बनून्। सत्तारोहणको पहिको वार्षिकीको स्थानीय तहका जनप्रतिनिधिलाई हाम्रो शुभकामना। अब आफ्नो ठाउँलाई राम्रो र हाम्रो बनाउने अभियानमा लागौं।
– विदुर शर्मा, बाग्लुङ