नागढुंगा सुरूङमार्गको डीपीआर तयार


सुरेश तामाङ, काठमाडौं

नागढुंगा सुरूङमार्गको विस्तृृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको सडक विभागले जनाएको छ।

तयार भएको डीपीआर हाल विभागको वैदेशिक महाशाखाले अध्ययन गरिरहेको ईन्जिनियर छविलाल पौडेलले जानकारी दिनुभयो। ‘कन्सल्टेन्टले डीपीआर तयार गरेर दिएको छ’, उहाँले भन्नुभयो– ‘हामीले यसलाई अध्ययन गरिरहेका छौं।’ जापानी कन्सल्टेन्टले केही दिनअघि मात्रै डीपीआर तयार गरी विभागलाई बुझाएको ईन्जिनियर पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो– ‘फेबु्रअरी महिनाको अन्तिममा डीपीआर तयार हुने कन्सल्टेन्टले भनेको थियो। ढिलै भए पनि डीपीआर तयार भयो।’

कन्सल्टेन्टले डीपीआरको काम २०१७ को मार्च महिनाको अन्त्यतिरबाट शुरू गरेको थियो। विभागले डीपीआर १ महिनाभित्रमा अध्ययन सम्पन्न गरेर कन्सल्टेन्टलाई संशोधनका लागि पठाउने र पास गर्ने तयारी गरेको छ। ‘डीपीआर रिभ्यु गर्न १ महिना लाग्छ। त्यसपछि कन्सल्टेन्टलाई नै फाइनल करेक्सनका लागि पठाउँछौं’, उहाँले भन्नुभयो– ‘असारअगावै यो काम सम्पन्न गरेर डीपीआर पास गर्छौं।’

उहाँले असारपछि सुरूङ खन्न प्रक्रिया थाल्ने बताउनुभयो। जग्गा प्राप्ति, मुआब्जा वितरण, बिडिङमा जाने, निर्माण कम्पनी छनौट प्रक्रियालगायतका काम ५ महिनाभित्र सम्पन्न गर्ने तयारी विभागको छ। देशको राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा बन्ने उक्त सुरूङमार्ग अन्तर्राष्ट्रियस्तरको हुने विभागको दाबी छ। विभागले सुरूङमार्गसम्म पुग्ने सडक बनाउन चाहिने जग्गा अधिग्रहण गर्ने तयारी गरिसकेको छ।

विभागले सुरूङमार्गको पूर्वपट्टि बलम्बु, महादेवस्थान, थानकोट, दहचोकलगायतका स्थानको ४ सय ३७ कित्तामा रहेको २ सय ६६ रोपनी जग्गा अधिग्रहण गर्न सूचना निकालिसकेको छ। त्यस्तै गरी विभागले धादिङतर्फ पनि यस्तै सूचना निकालिसकेको जनाएको छ। २.५ किलोमिटर लम्बाइ रहने सुरूङमार्ग जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण हुन लागेको हो। सुरूङमार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेछ।

सुरूङमार्ग निर्माणका लागि करिब २० अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सरकारले सुरूङमार्ग निर्माण गर्न भन्दै ५ अर्ब ५४ करोड रुपियाँ बजेट विनियोजन गरिसकेको छ भने जापान सरकारसँग १६ अर्बको ऋण लिने सम्झौता भइसकेको छ। थानकोटदेखि नागढुंगा हुँदै यो सुरूङमार्ग धादिङको सिस्नेखोलामा निस्कने गरी डिजाइन तयार पारिएको छ। सुरूङमार्गको सम्भाव्यता अध्ययन पनि जापानी सहयोग संस्था जाइकाले नै गरेको थियो।
करिब ५ वर्षभित्र निर्माण सकिने लक्ष्यसहित योजना अघि बढेको हो। सन् २०१९ मा आरम्भ भएर सन् २०२२ सम्ममा पूरा हुने लक्ष्य राखेको छ। राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा सुरूङ निर्माण भएमा ट्राफिक समस्या समधान हुनुका साथै त्यस क्षेत्रमा हुने सवारी दुर्घटनामा समेत कमी आउने अनुमान विभागको छ। सवारीको सर्वाधिक चाप हुने उक्त मार्ग उकालो, घुमाउरो र साँघुरो हुँदा जाम हुनुका साथै ट्राफिक जामसमेत हुने गरेको थियो।