डोजर चलेपछि तातिए


नेपाल समाचारपत्र
बाँके
नेपालगन्ज उपमहानगरपालिकाले वर्षौंदेखि सडक पेटी अतिक्रमण हटाउन पटक–पटक अनुरोध गरिरह्यो। बेवास्ता भयो। नेपालगन्ज उद्योग वाणिज्य संघले समेत साथ दिएपछि केही व्यापारीहरू सडक पेटी अतिक्रमण हटाउन राजीसम्म भए।

कुनै बेला अतिक्रमण हटाउने कुरा जोडले चल्यो। कैयौं पटकसम्म यो महिना, त्यो महिनाभित्र अतिक्रमण हटाउँछौं भनेर व्यापारीहरूले सम्झौता गरिरहे। त्यसपछि कहिले वर्खा, दशैं त कहिले छठको व्यापार भनियो। कर्मचारीको हालीमुहाली भएको बेलामा नेपालगन्ज आइपुगेका कार्यकारी अधिकृतहरूले कुरा गर्ने, निश्चित महिना या दिनको सम्झौता गर्ने क्रम चलिरह्यो। व्यापारीहरू भने एकजुट हुन थाले। उसले पहिला हटाओस् अनि मैले हटाउँछु भन्न थाले।

स्थानीय तहको निर्वाचन भयो। असार १४ गते निर्वाचित हुने बित्तिकै मेयर डा. धवल शमशेर राणाले एसएसपी महेशविक्रम शाहलाई (हालै बढुवा) साथमा लिएर तीन महिनाभित्र अतिक्रमण नहटाए आफैंले डोजर चलाउने चेतावनी दिए। मेयर राणालाई एउटा अवसर पनि आइलागेको थियो। एडीबीले सदरलाइन अर्थात नेपालगन्जको मुख्य बजार क्षेत्रको सडक निर्माण गर्ने सम्झौता गरेको थियो। एडीबीले विवादमा काम नगर्ने प्रष्ट थियो।

सबैलाई खुसी बनाएर काम गरौं भन्दा धेरैले नमान्ने, पेलेर जाऊँ भने एडीबी नमान्ने। यो स्थितिले सदरलाइन बिस्तारमा ढिलाइ गर्दै गयो। एडीबी र नगरपालिकाले एउटा टिम बनाएर अतिक्रमण हटाउन साथ दिनेहरूको हस्ताक्षर संकलन ग¥यो। २ सय १९ घरमध्ये १ सय ६१ घरले सहमति पत्रमा हस्ताक्षर गरे। केही घरमा नभएको पाइयो। बहुमत पुगेपछि एडीबी अघि स¥यो। यही बीचमा ‘केही ठूला मान्छे’ अदालत पुगे। अदालतले पनि उनीहरूको पक्षमा आदेश दिएन।

वर्षा नजिकै जाँदा छिटो काम गर्नुपर्ने चाप बढिरहँदा शहरमा चिनिएका ठूला मान्छेले नै अवरोध सिर्जना गर्ने प्रयास गरेपछि काम रोकिने हो कि भन्ने चिन्ता उपमहानगरपालिकालगायत सबैमा देखियो। अदालतले बाटो खोलिदिएको भोलिपल्ट नै मेयर राणा डोजर लिएर सडकमा उत्रिए। मेयरकै उपस्थितिमा धमाधम अतिक्रमित घर, पर्खालमा डोजर चल्यो।

बजारमा डोजर हिँडेपछि अदालतको शरणमा पुगेकाहरू पनि तर्सिए। अब त कुनै उपाय पनि थिएन। त्यही ठूला मान्छेको हेरेर अटेर गरेकाहरू पनि तर्सिए। अहिले नेपालगन्जको मुटु त्रिभुवनचोक खण्डहरमा परिणत भएको छ।

पसलहरू बन्द छन्। यात्रीलाई समेत रोकेर धमाधम घर भत्काउने काम भइरहेको छ। घरमालिकहरू आफैं खटिएका छन्। अटेर गर्नेबित्तिकै नगरपालिकाले आफैंले डोजर चलाइदिने चेतावनी दिइएको छ।

के साँच्चै नेपालगन्जका मान्छे सहमतिमा आउने खालका छैनन् त ? यो घटनाले यो प्रश्न उब्जाएको छ। वर्षांैदेखि नगरपालिकाले थालेको प्रयासमा साथ नदिएका उनीहरू डोजर चल्न थाल्नेबित्तिकै आफैंले सुरक्षित तरिकाले घर भत्काउन तम्सिएका छन्।

नगरपालिकाले त्रिवेणीमोडदेखि त्रिभुवनचोक हुँदै नगर भवनसम्म पहिलो लटमा सडक बनाउदै छ। जंगबहादुर राणाले बसाएको यो पुरानो बजारमा सडक पेटी सबै अतिक्रमण भइसकेको छ। १४ मिटर सडक बनाउन यतिबेला सबै तातिएका छन्। सदरलाइन बिस्तार हुने बित्तिकै त्यही व्यापारीको व्यापार बढ्नेदेखि बजार क्षेत्र राम्रो देखिनेमा दुईमत छैन। त्यसका बाबजुद सकेसम्म अवरोध गर्ने काम भइरह्यो।

व्यापारीले अहिले गर्ने काम पहिले नै गरिदिएको भए सदरलाइनको मुहार पहिले नै फेरिने थियो। सहमति र मेलमिलापको नीतिमा आउन नचाहनेहरू मेयरले डोजर लिएर अगाडि बढेपछि आफैं घर भत्काउन कस्सिएका छन्।