अत्याधुनिक सूचना–सञ्जाल र आवश्यकता

0
Shares

लोकनारायण सुवेदी

आजको सूचना तथा सञ्चार प्रौद्योगिकीले हाम्रो जीवनका प्रत्येक पक्षलाई निर्बाध छाइसकेको छ। यसको अपेक्षित अनपेक्षित घुसपैठका साथै हाम्रो जीवनमा कामको नयाँ शृङ्खला पनि पैदा भइरहेको छ भने पुराना कामहरूको स्वरूप पनि परिवर्तन हुँदै गइरहेको छ। यी सबै कुराको सूत्राधार भने कम्प्युटर नै हो, जुन कम्प्युटरको हाम्रो परिवेशमा अवतरण अनेकरूपमा भइसकेको छ। तर ती सबैको आधार भने कृत्रिम बुद्धि अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को व्यववस्था हो, जसअन्तर्गत भिन्न–भिन्न किसिमका समस्याको समाधान खोजिने या समाधान गरिने गरिन्छ। वास्तवमा स्थिति के छ भने, केवल अध्ययन–अनुसन्धान मात्र होइन, देशको अर्थव्यवस्था र सामरिक शक्तिलगायतका सबै कुरा त्यस देशको कम्प्युटरको क्षेत्रमा निपुणता र दक्षतामाथि निर्भर हुन पुगेको या भइसकेको छ।

कम्प्युटरको शब्दावलीको हिसाब–किताब पनि अद्भूत रहेको छ। सामान्य उदाहरणका लागि ‘डाउन लोड’, ‘अप लोड’ गर्नु (जसको नेपाली अनुवाद उतार्नु र चढ्नु हुनेछ), यो यस्तो क्रियाकलाप हो, जसले गर्दा एकछिन्मै मानिस सारा संसारसँग जोडिन पुग्दछ या जोडिने क्षमता प्राप्त गर्दछ। हामीले सूचनाका साथ ‘लक, सेलेक्ट, टे«क, डिलिट, कपी, पेस्ट, शेयर, फ्लीप, जुम आदि जेसुकै काम पनि कम्प्युटरमा सजिलै गर्न सक्छौं। यस प्रकार यथार्थ के छ भने, कम्प्युटरको प्रयोग र प्रभावको क्षेत्र दिन दुना रात चौगुनाको हिसाले बढ्दै गइरहेको छ। ज्ञानको क्षेत्र, खेलकुद, देशाटन, स्वास्थ्य, बजारको क्रय–विक्रय, नागरिक सुविधाहरू आदिसँग जोडिएका सारा प्रश्नहरूको उत्तर तथा समस्याहरूको समाधान पनि यसैको सहायताबाट प्राप्त हुन थालेका छन्। यसले गर्दा कैयौं प्रकारका नयाँ–नयाँ व्यवसाय पनि उत्पन्न हुन थालेका छन्।

जीवन यात्रामा सूचनाको यो अभूतपूर्व उपस्थितिले हामी सबैको जीवनमा आश्चर्यचकित तुल्याउने स्थिति उत्पन्न गरिरहेको र नयाँ–नयाँ जिज्ञासा पैदा गरिरहेको छ। सूचनाको यो अतिरेक तथा त्यसको सरल उपलब्धताले शायद मानिसलाई विराटताको पनि बोध गराउँछ अनि साथसाथै जीवन्त संसारबाट काटेर मानिसलाई एक्लो पनि बनाइरहेको छ। आज प्रायः सबै परिवारमा प्रत्येक सदस्यसँग सूचनातन्त्रसँग जोड्न आ–आफ्नो स्वतन्त्र व्यवस्था रहन्छ। एन्ड्रोयड मोबाइल सबैजसो सुविधाहरूले सुसज्जित रहेको हुन्छ। कम्प्युटर पनि सजिलैसँग उपलब्ध हुन थालेका वा भइरहेका छन्। सूचनाका यी संसारमा हरेक किसिमका सूचनाहरू छन्।

यसमा के कुराको पूरै छुट हुन्छ भने, राम्रा–नराम्रा, नैतिक–अनैतिक, कुन सूचना छनौट गर्ने हो र कोसँग के–कति जोडिने वा टाढा रहने हो, यी सबै कुरा कागजबाट उठाएर यो सूचना बहुसञ्जाललाई सुम्पिदिनु पनि कम खतरनाक छैन।

सूचनाको तस्करी पनि छ, डकैती (ह्याकिङ) पनि चलिरहेकै छ। निजी अर्थात् व्यक्तिगत जीवनमा सूचना–व्यसन कत्तिको घातक हुन सक्छ, यो बितेका वर्षमा ‘ब्ल्यूह्वले गेम’ का सिलसिलामा भएका दुर्घटनाहरूबाट बुझ्न सकिन्छ। कस्तो किसिमले ‘भर्चुअल रियालिटी (आभासी भ्रामक सत्यको संसार) ले मानिसलाई बाँधेर के–के गर्न प्रेरित र प्रोत्साहित गरिरहेको छ वा गर्न सक्छ, त्यसको यो त्रासद उदाहरण या नमुना हो। जुन–जुन रिपोर्टहरू पत्रपत्रिकामा यस सम्बन्धमा छापियो र विवरण प्रकाशमा आयो, त्यो कुनै वशीकरणको तन्त्रमन्त्रभन्दा कम लाग्दैन। यसका पनि जुन आधा अपूरा व्यहोरा बाहिर प्रकाशमा आएका छन् तिनकै आधारमा कुनै स्पष्ट र सामान्य निष्कर्शसम्म पुग्न अझै पनि मुस्किल छ। तथापि यस प्रकारका घटनाहरूबाट के लाग्छ भने, सूचनाको यो खेल आश्चर्यकारी र निराला प्रकारको छ। त्यसले जेसुकै पनि गराउन सक्छ।

टाढा–टाढाका देशदेखि सूचना मार्गबाट नियन्त्रित ‘ब्लू ह्वेल’का खेलले बालबच्चालाई कसरी वशीभूत गरेर बाँध्ने गर्दछ र तिनलाई जेसुकै गर्न पनि बाध्य तुल्याउँछ, त्यो देखिएको छ।

बालबच्चाहरू खेलसँग जोडिने, सूचना पाउने, आकर्षित हुने र निर्देशन दिइएको हिसाबले दिएको काम गर्ने गर्दछन्। त्यसको चरमम उत्कर्ष मृत्युलाई वरण गर्नुसम्म पनि हुन सक्छ। निश्चय पनि ‘थ्रिल’ पनि यो खेलको एउटा पक्ष हो। त्यसलाई आफ्नो अनुभवअन्तर्गत ल्याएर महसुस गर्नु क्षणिक नै भए पनि त्यो निकै उत्तेजक हुन्छ। यति हदसम्म कि त्यसको परिणतिको अर्थ बुझ्ने र त्यसमाथि विचार गर्ने समय र फुर्सद पनि हुँदैन। यसले नयाँ–नयाँ तरिकालाई अज्माउने र त्यसको प्रतिफलले ‘सेन्सेसन सिकिङ’को प्रवृत्तिलाई झल्काउने गर्दछ, जुन कुरा आज एकदमै बढ्दै गएको छ। आ–आफ्ना सूचनाका संसारमा हराएर परिवारका सदस्यहरू बच्चाका लागि सजीव र सक्रियरूपले कम उपलब्ध हुने गरिरहन्छन्।

अझ त्यसै पनि विकसित समाजमा एक्लै निजीपनको अँध्यारो–उज्यालो बढी नै रहेका छन्। आत्मलीन सभ्यताको स्वप्न व्यक्तिको उत्कर्ष हो उसको आफ्नो मर्जी ! ऊ जस्तो चाहन्छ त्यस्तै रहने, जस्तो चाह्यो त्यस्तै बाँच्ने या मर्ने पनि उसकै खुशी। यस्तो समाज, परिवार सबैसँग काटिएर आफैंमा हराउने किसिमको स्वप्निल सोच अन्ततः एकदम खतरनाक कुरा हो। त्यसैले सूचनाको सञ्जाल तथा त्यसको उपयोग सकारात्मक र उपयोगी हुनुपर्दछ।

पारिवारको स्तरमा त्यसको सन्तुलित उपयोग कसरी गर्ने, गम्भीररूपमा विचार गरिनुपर्दछ। बुझ्नु र बुझाइनुपर्दछ कि परिवार र समाजको तर्फ उन्मुख जीवन व्यक्तिका विरुद्ध हुँदैन। त्यसैले दुवैका पारस्परिकतालाई ग्राह्य र सहज तुल्याइनु अत्यावश्यक छ। अत्याधुनिक सूचना प्रणालीको विकासलाई अत्याधुनिक, सहज, समुन्नत, सामाजिक तथा वैयक्तिक जीवनका निम्ति सकारात्मकरूपमा सदुपयोग गरिनुपर्दछ, नकारात्मकताका निमित्त होइन।
(लेखक सुवेदी नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुुनुहुन्छ।)