सात स्रष्टा कलाकार सम्मानित


लुनकरणदास–गङ्गादेवी चौधरी साहित्य कला मन्दिरले आफ्नो २४औं वार्षिकोत्सवका अवसरमा स्रष्टा सम्मान गरेको छ।

नेपाली कला तथा साहित्य क्षेत्रका ७ व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि कवि तथा गीतकार कालीप्रसाद रिजालले ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।

बिहीबार कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा आयोजित समारोहमा अभिनेतृ मिथिला शर्मा बोहरा बालकृष्ण सम रंग सम्मानबाट सम्मानित भएकी छिन् भने संगीतकार शुभबहादुर सुनाम नारायण गोपाल संगीत सम्मान र कलाकार शशिकला तिवारी अरनीको ललितकला सम्मानबाट सम्मानित भएका छन्।

त्यस्तै पत्रकार तथा कवि फूलमान बल नेपाल नवप्रतिभा सम्मानबाट सम्मानित भएका छन् भने यस पटक गंगादेवी चौधरी स्मृति सम्मानबाट आख्यानकार भागिरथ श्रेष्ठ सम्मानित भएका छन्। त्यस्तै कवि दुर्गालाल श्रेष्ठ सरस्वती सम्मान र प्राडा प्रेमकुमार खत्री इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मानबाट सम्मानित भएका छन्। गंगा देवी स्मृति सम्मानको नगद रु. १ लाख र बाँकी सबै सम्मानको ५१ हजार १ रुपियाँ नगद राशि प्रदान गरिएको थियो ।

सम्मानित स्रष्टाका तर्फबाट बोल्दै प्राडा खत्रीले नयाँ पुस्तामा कला र साहित्यप्रतिको रुचि हराएको चर्चा गर्दै आफूहरु सम्मानित भएकोमा गौरवान्वित महसुस भएको बताए।


समारोहमा कवि तथा गीतकार वसन्त चौधरीको काव्य कृति चाहतोके साये मे नामक पुस्तक पनि लोकार्पण गरियो। अंग्रेजी तथा हिन्दी भाषामा प्रकाशित उक्त पुस्तक कालीप्रसाद रिजाल तथा हिन्दी भाषाका कवि एवं सामाजिक अभियान्ता डा. विजय पण्डितले संयुक्तरूपमा लोकार्पण गरेका थिए। हिन्दी भाषाको काव्य कृतिमा हिन्दी कविताहरु रहेका छन् भने ती कवितालाई अग्रेजीमा पनि अनुवाद गरिएको छ। यसमा प्रशिद्ध भारतीय स्रष्टा खायमले भूमिका लेखेका छन्। कृतिको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी प्रमुख श्वेता दीक्षितले कृतिमा कविता तथा गजल दुवै समावेश गरिएकाले यो पुस्तक मजबुत र पूरा आकाशले भरिएको चर्चा गरिन्।

त्यसै गरी प्रमुख अतिथि गीतकार रिजालले सम्मानित व्यक्तिहरुलाई बधाई दिँदै यस सम्मानले साहित्य र कला क्षेत्रका तस्वीरहरुलाई प्रोत्साहित गर्ने बताए। ‘साहित्य कला मन्दिरको स्रष्टाहरूलाई सम्मान गर्ने परम्परा अत्यन्त प्रशंसनीय र उदाहरणीय छ। यसले आफ्नो साधनाका क्षेत्रमा लाग्ने स्रष्टा कलाकारलाई ठूलो प्रोत्साहन मिलेको छ।’ –उनले भने।


मन्दिरका उपाध्यक्ष तथा अभिनेता हरिहर शर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विशेष अतिथि हिन्दी भाषाका कवि डा. पण्डितले वसन्त चौधरीको चाहतों के साये मेंका रचनाहरूको चर्चा गरे। ‘यसका रचनाले आजको समय मात्र बोलेको छैन, अपितु मानव मनको अन्तर्यलाई समेत स्पर्श गर्दै सशक्त अभिव्यक्ति दिएका छन्।’ –उनले भने।

समारोहमा कवि वसन्त चौधरीले आफ्नो लोकार्पित कृतिबाट केही कविता वाचन गर्दै आफ्नो काव्य सिर्जनामा हार्दिक एवं अविच्छिन्न लगाव रहेको प्रस्ट्याए। उनले श्रष्टा सम्मान आफूहरुको ध्येय भएको र सम्मानित नामहरु आफूलाई सधैं स्मरण रहने बताए। ‘६०औं वसन्त पूरा गर्दा मेरा दुई कृति वसन्त र चाहताेंके साये मे प्रकाशनमा आउनु मेरो लागि खुसीको कुरा हो। यसलाई मैले जीवनको ठूलो उपलब्धिका रूपमा लिएको छुु’, उनले भने– ‘अर्को वर्षदेखि कथालाई समेट्नका लागि गोपालप्रसाद रिमाल काव्य सम्मान स्थापना गरिने पनि अवगत गराउन चाहन्छु।’