मोदी आउँदा २ दिन सार्वजनिक विदा, जनकपुरमा माक्स लगाएर हिँड्न पनि प्रतिबन्ध

0
Shares

नेपाल समाचारपत्र, जनकपुर ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला दुई नम्बर प्रदेशमा २ दिने सार्वजनिक विदाको घोषणा गरिएको छ । साथै जनकपुर असपासका क्षेत्रमा माक्स लगाएर हिँड्न पनि प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र माक्स लगाएर हिँड्न निषेध गरेको हो । मोदीको भ्रमण कार्यक्रमलाई मध्यनजर गर्दै वैशाख २८ गते बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र माक्स लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी दिएको छ । मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र माक्स लगाएर नजान आग्रह गरिएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर आउँदैछन् । उनले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले मोदीको सम्मानमा बाह्रविघा मैदानमा नागरिक अभिनन्दन कार्यक्रम राखेको छ । त्यसलगतै उनी काठमाडौँ आउने कार्यक्रम रहेको मोदीको नेपाल भ्रमणको कार्यतालिकामा उल्लेख गरिएको छ ।