साढे ३३ केजी सुनकाण्डः नाईके गोरेले जग्गा बैनाका लागि २१ लाख दिएको खुलासा

0
Shares

नेपाल समाचारपत्र, विराटनगर ।

बहुचर्चित साढे ३३ किलो सुन प्रकरण र सनम हत्या काण्डका मुख्य अभियुक्त भनिएका गोरे नामले चर्चित चुडामणि उप्रेतीले मोरङको मिक्लाजुङमा २६ कट्ठा जग्गाका लागि २१ लाख रुपैयाँ बैना दिएको रहस्य खुलेको छ । मिक्लाजुङ वडा नं.९ को अबिर चौकमा रहेको उक्त जग्गा खरिदका लागि गोरेले जग्गा धनी जयगोपाल साहलाई २१ लाख रुपैयाँ बैना दिएको रहस्य खुलेको हो ।

साहसँग प्रति कट्ठा ६ लाखको दरमा किन्ने सम्झौता अनुसार गोरेले २१ लाख रुपैयाँ बैना दिएका थिए । १ करोड ५६ लाख रुपैयाँमा २६ कट्ठा जग्गा किन्ने सम्झौता गर्दै गोरेले मिक्लाजुङ–९ निवासी साहलाई २१ लाख रुपैया बैना दिएपनि थप रकम नदिएका कारण उक्त जग्गा पास नभएको बुझिएको छ । जग्गाका लागि बैना दिएका गोरे सुन काण्डमा मुछिएपछि बैनाको रकमका बारेमा अन्यौलता देखिएको छ । मुख्य अभियुक्त मानिएका गोरे फरार रहेसँगै साह यतिबेला तनावमा रहेको बुझिएको छ ।

जय गोपाल गल्ला खरिद बिक्री केन्द्रका सञ्चालक साह मधुमल्लाका पूराना ब्यापारी हुन् । उनी नेपाली कांग्रेसका स्थानीय नेता पनि हुन् । यता, साहले आफूले २१ लाख रुपैयाँ बैना लिएको स्वीकार गरेका छन् । उर्लाबारीका सामाजिक ब्यक्तित्व विजय कार्कीलगायतको रोहवरमा आफूले जग्गा बिक्रीका लागि बैना लिएको साहले जानकारी गराए । जग्गा बिक्रीका लागि बैना दिएर पास नगरेका कारण आफू सदस्यमा परेको उनले गुनासो गरेका छन । क्रसर उद्योग खोल्ने भन्दै आफूसँग जग्गा किनेको उनले बताएका छन । गोरे पैसावाला भन्ने चाँही सुनेको तर, नामुद सुन कारोबारी भन्ने बारेमा आफूलाई जानकारी नभएको उनले बताएका छन ।

जग्गाको रोहवरमा मृतक सनम शाक्य पनि रहेको बुझिएको छ । गोरेले पछिल्लो समय अबैध सुनबाट कमाएको पैसा जग्गामा लगानी गर्दै आएको स्रोत बताउँछ । यो घटनाको रहस्य खुलेसँगै गोरेले लगानीका विषयमा अनुसन्धान बढाउन आवश्यक देखिएको छ । यता उर्लाबारी, मधुमल्ला, दमक लगायत क्षेत्रका केही सुन ब्यापारीहरुसँग पनि गोरेको कारोबार रहेको बुझिएको छ ।