काठमाडौँमा मोदीको स्टे होटल द्वारिकाजमा, सिंहदरबार नगई सिधै मुक्तिनाथ मन्दिरतर्फ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ स्थित सिंहदरबार प्रवेश नगर्ने भएका छन् । तर, नेपालका प्रधानमन्त्री एवम् एमाले पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच काठमाडौँ स्थित तारे होटलमा भेटवार्ता हुने कार्यतालीकामा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री मोदी २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउँदैछन् । भारतको पटनाबाट जनकपुर अवतरण गर्ने उनी दिउँसो काठमाडौं आउनेछन् । मोदी चुच्चेपाटीस्थित हायात होटलमा बस्नेछन् । राजनीतिक भेटवार्ताहरु भने द्वारिकाज होटलमा हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि भारतीय समकक्षीलाई भेट्न द्वारिकाज जानेछन् र दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सोही होटलमा हुने भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी २८ गते विहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । त्यहाँ उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् । मोदी र प्रधानमन्त्री ओलीले जानकी मन्दिरमा छ मिनेट पूजाआजा पूजा गर्नेछन् । लगतै जनकपुरलाई रामायण सर्किट अन्तगर्त जनकपुर अयोध्या बस सेवाको उद्घाटन गर्नेछन् ।

त्यसपछि काठमाडौं आउनेछन् र झण्डै एक घन्टा नागरिक अभिनन्दन हुनेछ । बाह्रविघामा हुने नागरिक अभिनन्दन समारोहमा उनले सम्बोधन गर्नेछन् ।

भारतीय मोदी दिउँसो काठमाडौं आउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ र उनलाई टुडिँखेल स्थित सैनिक मञ्चमा गार्ड अफ अनर प्रदान गरिने पनि कार्यतालिकामा उल्लेख गरिएको छ ।

मोदीको पहिलो भेट उपराष्ट्रपतिसँग हुनेछ । लगतै राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । लगतै हायात होटल गएर खाना खानेछन् । खानापछि मोदी होटल द्वारिकाजमा जानेछन्, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको भेटवार्ता हुनेछ । साँझ मोदीको सम्मानमा प्रधानमन्त्री ओलीले रात्रीभोजको आयोजना गर्नेछन् ।

उनी २९ गते विहानै मुत्तिनाथ मन्दिरतर्फ प्रस्थान गर्नेछन् । मुक्तिनाथबाट फर्किएपछि राजनीतिक दलका नेताहरुलाई भेट्नेछन् र अपराहृन ४ बजे भारत फर्कने कार्यक्रम रहेको कार्यतालिकामा उल्लेख गरिएको छ ।