बेरुजुको समस्या अन्त्य होस्


विकासका काम नगरेर बजेट फ्रिज हुने समस्या पुरानो हो। स्थानीय तहमा लामो समय जनप्रतिनिधि नभएका कारण सरकारले विनियोजन गर्ने विकास बजेट खर्च नहुने र बजेट फ्रिज जाने पुरानो अवस्था थियो। गत वैशाखमा स्थानीय तहको निर्वाचन भएयता बजेटको खर्च प्रतिशत त केही मात्रामा बढेको छ तर सोचेको जस्तो खर्च अझै पनि हुन सकेको देखिएको छैन। जिल्लाका केही स्थानीय तहबाहेक यो आर्थिक वर्ष सकिनको लागि झन्डै दुई महिना बाँकी रहँदा विकास बजेट आधा पनि खर्च हुन नसकेको तथ्यांकले देखाएको छ।

सरकारको नियमअनुसार ठूलो रकम खर्च हुने योजनाहरूको टेन्डर प्रक्रिया अगाडि बढाउन ढिलाइ र सानो रकम खर्चेर उपभोक्ता समितिमार्फत काम गर्नुपर्ने योजनाहरूमा उपभोक्ता समितिहरू गठन हुन नसक्दा यो समस्या पैदा भएको देखिन्छ। लामो समयसम्म राजनीतिक दलको संयन्त्र बनाएर स्थानीय तहमा भागवण्डाका आधारमा विकासे योजनालाई प्रभावित पार्दै आफ्नो पेट पाल्दै आएका संयन्त्रका प्रतिनिधिको निरन्तरको अवरोध र केही ठाउँमा निर्वाचित जनप्रतिनिधिहरूको कम सक्रियताका कारण पनि विकास निर्माणका लागि बन्नुपर्ने संयन्त्रहरू बनिरहेका छैनन्।

चालू खर्चका लागि छुट्याइएको रकम लगभग सबै खर्च हुने र पुँजीगत शीर्षकमा छुट्याइएको रकम आधा पनि खर्च हुन नसक्नु भनेको हाम्रो विकासको गति निकै मन्द हुनु हो। जननिर्वाचित प्रतिनिधिदेखि कर्मचारीसम्मले जसरी प्रशासनिक बजेटलाई सक्नको लागि सक्रियता देखाइरहेका छन्। सोही अनुपातमा पुँजीगत बजेटको खर्चमा पनि सक्रियता देखाउने हो भने केही ठाउँका लागि छुट्याइएको विकास बजेट उपभोक्ता समितिमार्फत खर्च गर्न सकिने अवस्था छ। तर जनप्रतिनिधि र कर्मचारी दुवैले वास्ता नगरेका कारण जनताको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने कतिपय योजनाका कामको बजेट खर्च हुन सकेको छैन। स्थानीय तह खालि हुँदा जस्तो अहिले जनप्रतिनिधि भएको बेला पुँजीगत खर्च कम हुने र बजेट फर्केर जाने परिस्थिति छैन। यदि पुँजीगत बजेट खर्च हुन नसकेर जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने योजना तथा विकास निर्माणका काम थला परे भने त्यसको जवाफ जनप्रतिनिधिले दिनुपर्छ। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि केही कामहरू समयमा शुरू भएका छन्। तर अझै पनि कैयौं कामहरू असार मसान्तको पर्खाइमा रहेको देख्दा लाग्छ– सर्वसाधारणले राहतको महसुस कहिले गर्ने?

जब वर्षात् हुन्छ। किसानका घरमा कामको मारामार हुन्छ। त्यही मौका छोपेर समाजका ठूलाबडा र भलाद्मी मानिनेहरूले एकल निर्णय गर्दै जमिन भत्काउनेदेखि पिल्लर ठड्याउनेसम्मका कामको थालनी गर्ने प्रवृत्ति यसपालि पनि देखिने भएको छ। समयमा बजेटअनुसारको काम नहुँदा स्थानीय तहमा भएको पहुँचको आधारमा राजनीतिक दल तथा तिनका आसेपासेले अन्तिम समयमा आएर गर्ने चलखेलमा आमनागरिक सचेत बन्नै पर्छ। स्थानीय तहहरूलाई चौमासिक योजनाहरू निर्माण गरेर, प्रत्येक चौमासिकमा पुँजीगत खर्चलाई बढाएर एक आर्थिक वर्षमा विकासे कामका लागि विनियोजन भएको बजेटलाई समयमै सक्नको लागि अब नागरिक तहबाट रचनात्मक भूमिका आवश्यक छ। यदि त्यसो गरिएन भने अन्तिम समयमा सकेको कसरत गर्ने र नसकेको बजेट फिर्ता जाने प्रवृत्ति दोहोरिने निश्चित छ।

– सुरक्षा कोइराला, पुल्चोक ललितपुर

किन बढ्दै छन् बलात्कारका घटना?

बालिकादेखि वृद्धासम्म बलात्कारको सिकार भएको घटना मत्थर भएको छैन। हिजोआज दिनहुुँजसो बलात्कारका घटना भइराखेका छन्। बलात्कारका समाचारले पत्रिकाका पेज भरिएका छन्। रेडियो, टेलिभिजनमा पनि बलात्कारकै समाचार बजेका छन्। त्यति मात्रै होइन, सामाजिक सञ्जाल पनि यही समाचारले ढाकिएका छन्। बलात्कारीको आरोपमा मानिसहरू प्रहरीद्वारा पक्राउ नभएका पनि होइनन्। कतिपय घटनाका दोषीहरू जेल सजाय भोगिरहेका पनि छन्। तर पनि बलात्कारका घटनामा भने अझै पनि कमी आउन सकेको छैन। अनुपातमा झन् बढ्दो छ।

आखिर किन हुन्छ बलात्कारका घटना? कानुन कमजोर भएर कि दोषीलाई उचित कारबाही नभएर? चेतनाको कमी अथवा चेतनालाई प्रयोगमा नल्याएर? यो अध्यनको विषय बन्ला। तर यसले समाजलाई चिन्तित बनाएको छ। बालिकादेखि शिक्षित युवती तथा वृद्धाहरूमा अझै पनि असुरक्षाको भय उत्तिकै छ। घरबाहिर निस्केकी छोरी समयमा घर नआइपुग्दा परिवारमा चिन्ता हुन थालेको छ। कामका लागि अरूको घरमा बसेका छोरीहरू बलात्कारको सिकार हुन पुगेका छन्। परीक्षा दिन गएकी छोरीको मृत शरीर घर आउने अवस्था सृजना भएको छ।

बलात्कारको अर्थ एक निरीह महिलामाथि हुने यौनहिंसा मात्रै होइन, आफ्नै श्रीमती पनि यौनसम्पर्क गर्न राजी हुँदिनन् र त्यो अवस्थामा यौनसम्पर्क गरिन्छ भने त्यो पनि बलात्कार हो। अझ भनौँ– असहमतिमा, प्रलोभनमा, जबर्जस्तीमा गरिने यौनसम्पर्क नै बलात्कार हो। नेपालको सन्दर्भमा आधुनिकता र फेसनका नाममा पहिरिने छोटा कपडा पनि बलात्कारको प्रमुख कारण बन्न गएको छ। समुदायको हिसाबमा पीडित संख्या मुस्लिम समुदायमा यस्ता घटना कम हुनुले पनि यो कुरालाई प्रस्ट पारेको छ।

युवावस्थाका करिब १८ देखि ३० वर्षसम्मका युवतीहरू प्रायः छोटो कपडा लगाउने र छोप्नेभन्दा धेरै देखाउन खोज्ने प्रवृत्ति बढ्दो देखिन्छ, जसका कारण विपरीत लिंगीलाई आफूतिर आकर्षण गर्न सहयोग गर्छ। फलस्वरुप, दिमागमा नकारात्मक असर पर्न जान्छ, जसको कारण असहाय बालबालिका एवम् वृद्ध महिलाहरूमाथि नै यौन दुव्र्यवहार हुने गरेको जस्तो लाग्छ। जो अर्धनग्न छ, उही बलात्कारको सिकार हुने होइन, अर्धनग्न शरीरको कारण त्यसको असर अन्यत्र देखिने हो। असर जो कमजोर छ उसैमाथि देखिन्छ, वृद्ध र बालिकामाथि देखिन सक्छ। भर्खरैको बलत्कारपछि जिब्रो थुतेको घटनाले पनि त्यो कुरालाई प्रमाणित गरेको छ।
यसलाई रोक्न सबै तह र तप्काका जिम्मेवार व्यक्ति तथा संघसंस्थाहरू लाग्नुपर्दछ। राज्यको कानुन अपराधी उम्कन सक्ने खालको हुनुहुँदैन। अपराधीलाई सामाजिक मिलापत्रमा उम्किने वातावरण पनि बनाइनुहुँदैन। सबैले यो विषयमा ध्यान दिन जरुरी देखिन्छ।

– दीपेन्द्र मगर, रोल्पा

नारायणगढ–मुग्लिन सडकको दुर्दशा कहिलेसम्म?
सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्छ। यात्रामा जोखिम बढेको बढ्यै छ। राज्यले दिगोरुपमा समस्याको समाधान नखोज्दा समस्या भएको छ। गएको एक सातामा २८÷३० वटासम्म पहिरो खसेको खबर आएको छ। पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि पहिरो खस्न थालेको छ। सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँ र डढेलो लागेर सुख्खा भएको ठाउँमा पानी परेसँगै पहिरो खस्ने गरेको छ। सरकारले यो सडकलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ।
– सौरभ विक, चितवन